करिब बीस वर्षअघि एउटा जीवन शैलीसम्बन्धी पत्रिकामा ब्याङ्कर राधेश पन्तसँग दुई सयभन्दा बढी कोट (सुट) छ भनेर पढ्दा पंक्तिकारको होस्- हवास गुम्याे होला जस्तो भएको थियो। अहिले अच्चम लाग्छ, पंक्तिकार जस्तो विपन्न र भुइँफुट्टासँग पनि दुई/तीन वटा कोट भएको आजको अवस्थामा पन्त सरको 'कोट कलेक्सन' कति पुग्यो होला भनेर, लाटो हिसाबले पनि कम्तिमा एक हजार त पुग्यो होला।
आफूले लगाउन नपाएर हो कि किन हो मलाई कोट-टाइमा सजिएर हिँड्ने मान्छे बढो महान लाग्छ। हाम्रो बेलामा स्कुलमा पनि टाइ र कोट अनिवार्य थिएन, झनै पंक्तिकार जस्तो विपन्न र निर्धन परिवारका बच्चाहरु पढ्ने स्कुलमा त्यो कुरा सोच्नु पनि ब्यर्थ थियो। अहिले प्राय सबै स्कुलमा टाइ अनिवार्य छ, भलै कट्टु अनिवार्य नभए पनि।
मेरो टोलमा एक मान्यबर छन्, सधैँ कोट र टाइमा सजिने। आफ्नो नाम र जातको बीच मा 'जङ्ग' लेख्न रुचाउने उनले कालो चस्मा आँखाको सट्टा टाउकोमा सिउरेर चुरोटको धुँवा फाल्दा उनको व्यक्तित्व बढो सुन्दर र मनमोहक देखिन्थ्यो। कोट र टाइप्रति उनको लगाब यतिसम्म गाढा थियो कि एकपटक उनले आफ्ना स्कुल पढ्ने बच्चाहरुको स्कुलको फिससम्म नतिरेर नयाँ कोट किनेका थिए।
उनको विचारमा दायाँबायाँ गर्न नसक्ने हो भने पढ्नुको कुनै अर्थ छैन, यहाँ दायाँबायाँ भन्नुको अर्थ सजिलो बाटोबाट पैसा कमाउने प्रक्रिया हो। त्यही कोट लगाएर उनी डिल्ली बजारको एउटा क्याबिन रेस्टुरेन्टमा वेट्रेससँग प्रेम गर्न जान्थे। श्रीमतीको झुम्का चोरेर त्यही वेट्रेसलाई उपहार दिएको श्रीमतीले थाहा पाएर होहल्ला गरेपछि उनको त्यो प्रेम प्रसंग समाप्त भयो तर उनको कोट र टाइप्रतिको मोह आज पर्यन्त घटेको छैन।
कोट र टाइमा सजिएर हरियो पर्दा भएको रक्सी भट्टीमा आफ्ना रक्सीबाज साथीहरुलाई फोकटको ज्ञान बाँड्दै गरेको अवस्था र रक्सीले चुर भएर घर जाँदा खुट्टा टेक्न नसकेर हिलोमा कोट र टाइसहित लडीबुढी खेलिरहेको दृश्य बढो मन्त्र मुग्ध हुने किसिमको हुन्छ।
त्यस्तै मेरो एक बालसखाको कोट मोह झन् उदेक लाग्दो छ। महर्जन परिवारको त्यो विपन्न परिवारको मान्छे मोहियानी हकमा प्राप्त जग्गा बेचेर आएको सोचेभन्दा बढी पैसा देख्दा के गरूँ कसो गरूँ भएर एकैपटक पाँच वटा कोट किनेको थियो। कोट त किन्यो तर त्यो कोट लगाएर जाने ठाउँ नै नभेटेर उसको कोट र टाइ लगाउने रहर त्यसै तुहियो। कोट र टाइ लगाएर विभिन्न पोजमा फोटो खिचेर भने उसले राखेको थियो तर त्यो फोटो पनि उसको के कस्तो काम आयो वा आएन पंक्तिकारलाई भने जानकारी भएन।
नेपाली समाजमा प्राय निम्न मध्यम वर्गका मान्छेहरुले पहिलो पटक कोट लगाउने भनेको उ स्वयमको विवाहमा हो, उच्च मध्यम वर्गकाले भने ब्रतबन्धमा पनि कोट लगाउने मौका पाउँछन्। विदेशीहरुको 'ड्रेस कोड' लाई मान्ने हो भने बिहान, दिउँसो र रातिको समारोहहरुमा लगाउने कोट भिन्न प्रकारको हुन्छ।
त्यस्तै कार्यालय जाने र अन्य स्थानमा जाने समयमा लगाउने कोट अर्कै-अर्कै प्रकारको हुन्छ। बिडम्बना नै मान्नुपर्छ कि पंक्तिकार जस्तो गरिबसँग विवाहको समय ससुराले ऋण-धन गरेर दिएको एउटा वा बढीमा दुईटासम्म कोट हुन्छ, जसलाई कुहिना र कठालो नच्यातिएसम्म लगाउनुपर्ने बाध्यता हुन्छ अनि कसरी ड्रेस कोटलाई मान्ने?
कोटप्रतिको मेरो आकर्षण पनि कुनै कम त छैन तर कोट किन्ने पैसा नभएर म कोट र टाइ लगाउँदिनँ। प्रबुद्ध पाठक वर्गको आशीर्वाद प्राप्त भए यो बबुरो पंक्तिकारले पनि कोट र टाइ लगाउने थियो र अरुको अगाडि सभ्य देखिने थियो।