गैर जिम्मेवार सुटिङ संघ : खेलाडीलाई छैन खेल्ने ठाउँ र सामाग्री

BreaknLinks
BreaknLinks

सुटिङ खेल एउटा बन्द हलभित्र खेलिने खेल हो। अर्थात इन्डोर खेल हो यो। खेलका लागि रेन्ज (खेल्ने ठाउँ) आवश्यक पर्छ। साथै पेस्तोल, राइफल, गोली, टार्गेट बक्स (पुल्ली), पन्जालगायतका सामग्री चाहिन्छ।

तर दाङका सुटिङ खेलका खेलाडीले न खेल्ने ठाउँ पाएका छन्, न सामाग्री पाउन नै सकेका छन्। नवौं राष्ट्रिय खेलकुदका लागि अभ्यास गरिरहेका खेलाडीले रेन्जको अभावमा घरको आँगनमा अभ्यास गरिरहेका छन्। राइफल र पेस्तोलको अभावमा इँटाको सहायताले अभ्यास गरिरहेका छन्।

बाँकेको नेपालगञ्जमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको प्रदेशस्तरीय छनोटका लागि दाङका खेलाडीले इँटाको सहायतले सुटिङको अभ्यास गर्न बाध्य भएका हुन्। दाङ सुटिङ संघसँग अहिले दुई वटा राइफल र एउटा पेस्तोल छ। तीमध्ये सुटिङ संघ नेपालले दिएको एउटा मात्र राइफल हो।

अरु एउटा राइफल र पेस्तोल पूर्व खेलाडीको हो। तर ती सबै बिग्रिएर काम नलाग्ने भएको छ। अहिले खेलाडी त्यही बिग्रिएको राइफल र पेस्तोल समाएर अभ्यास गर्न बाध्य छन्। त्यसबाट मात्र निसाना हेर्न सकिन्छ। निसानामा लगाउन सकिँदैन।

‘निशाना लगाउन र सुट गर्न राइफल चाहिन्छ’, खेल अभ्यास गरिरहेका दाङ तुलसीपुरका अर्नभ घिमिरेले भने, ‘तर हामीसँग चल्ने राइफल छैन। इटा उठाएर होल्डिङको अभ्यास मात्र गरिरहेका छौं।’ उनले बिग्रिएका राइफल र इँटा उचालेरमात्र प्रतियोगिताको तयारी गर्नु परेको बताए।

उनले निशाना नै लगाउन नपाइ आफ्नो तयारी कस्तो भइरहेको छ भन्ने कुरा थाहा पाउन नसकेको बताए। ‘सुट पर्न पाएको भए कमजोरी कहाँ छ भन्ने थाहा पाउन सकिन्थ्याे’, खेलाडी घिमिरेले भने, ‘आफ्नो तयारी कस्तो भइरहेको छ भन्ने बुझ्न बन्दुक नचलाई हुँदैन।’ राष्ट्रिय खेल प्रतियोगितका लागि होल्डिङले मात्र तयारी नपुग्ने उनी बताउँछन्।

उनी सुटिङ खेलतर्फको खेलका गोल्ड मेडलिष्ट खेलाडी हुन्। आठौं राष्ट्रिय खेलकुद प्रतियोगितमा सुटिङ खेलमा उनले एक्लै गोल्ड मेडल ल्याए। त्यसअघिको सातौं राष्ट्रिय खेलमा पनि टिमबाट उनले गोल्ड मेडल ल्याएका थिए।

दाङमा यसअघिका पनि थुप्रै खेलाडी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेलेका खेलाडी छन्। तर आजसम्म एउटा खेल्ने ठाउँ छैन। सामाग्री अभावमा खेलाडी निरास छन्।

नवौँ राष्ट्रिय खेलकुदका लागि तयारी गरिरहेको खेलाडीमा पनि उत्साह देखिँदैन। छनौट खेलमा अन्य जिल्लाका खेलाडीसँग प्रतिस्पर्धा गर्न नसकिने हो कि भन्ने उनीहरुमा छ।

सुटिङ प्रतियोगितका लागि पेस्तोलतर्फ तयारी गरिरहेकी तुलसीपुरकी खेलाडी जानकी रोकाले पेस्तोल अभावले छनौट खेलबाट बाहिरिनु पर्ने हो कि भन्ने चिन्ता लाग्ने गरेको बताइन्। ‘अन्य जिल्लाका साथीहरुले पेस्तोल होल्ड गर्न निसाना लगाउन अभ्यास खेलमै सिकिरहेका छन्। हामीसँग छैन’, उनले भनिन्, ‘जसले गर्दा हामी पछि पर्ने हौँ कि भन्ने लाग्छ।’

पेस्ताल अभावमा आफूहरुलाई अभ्यास गर्न निकै सकस भइरहेको खेलाडी रोकाले बताइन्। उनले चल्ने पेस्तोल नभएपछि कहिले इँटा त कहिले बिग्रिएको पेस्तोल उचालेर प्रतियोगिताको तयारी गरिरहेको बताइन्। उनी अघिल्लो सातौं र आठौं राष्ट्रिय खेलमा पनि सहभागी जनाएकी थिइन्। त्यतिबेला पनि रोकाले बिग्रिएकै पेस्तोलबाटै अभ्यास गरेकी थिइन्।

त्यहीकारण खेलमा जित निकाल्न नसकेको उनले बताइन्। ‘पहिला पनि बन्दुक चलाउन नपाइ प्रतियोगिता सहभागी भए’, उनले भनिन्, ‘यो पटक पनि यस्तै भयो। यसरी त के जित आउला र खै ?’ निशाना लगाउनै नपाइ अभ्यास गर्दा उनी आफ्नो खेल राम्रो होला भन्नेमा विश्वस्त हुन सकिरहेकी छैनन्।

पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लागि सुटिङ खेलको प्रदेशस्तरीय छनोट असोज ९ र १० गते नेपालगञ्जमा हुँदैछ। जिल्लाबाट ६ जना महिला र ६ जना पुरुष गरी १२ जना यस खेलका लागि छनोट भएका छन्।

जिल्लामा सुटिङ खेलका लागि राम्रा खेलाडी भएपनि आवश्यक राइफल र पेस्तोललगायतका खेल समाग्री नहुँदा खेलाडीहरुले अभ्यास गर्न नपाएको जिल्ला सुटिङ संघका अध्यक्ष केशव चौधरीले बताए।

‘जिल्लामा दुईवटा मात्र राइफल छन्, ती पनि चल्दैनन् छन्’, उनले भने, ‘बिग्रिएको बन्दुक उचालेर होल्डिङ गर्ने मात्र काम भएको छ।’ उनले बन्दुक नहुँदा खेलाडीहरुले निशाना लगाउने अभ्यास गर्न नपाएको बताए।

धेरै खेलाडीलाई अभ्यास गराउन सामाग्री नभएपछि बन्दुकै नाप अनुसारको इँटाबाट समेत अभ्यास गराउनु परेको अध्यक्ष चौधरीले जानकारी दिए।

उनले राम्रो खेलाडीलाई पनि अभ्यास गराउन नसक्दा थप निखारता ल्याउन नसकेको बताए। ‘सुट गर्न नपाइ खेल्दा सिधै प्रतियोगितमा पठाउँदा खेलाडी निराश छन्’, उनले थपे, ‘यस्तो तयारीले खेलाडीले कसरी राम्रो खेल खेल्न सक्लान्?’

अभ्यासका लागि चाहिने खेल सामाग्री (राइफल र पेस्तोल) का लागि पटकपटक माग गरेपनि कतै सुनुवाइ नभएको उनले बताए। ‘राइफल–पेस्तोल चाहियो भनेर सुटिङ संघलाई भनिरहेका छौं तर कसैले सुनेको छैन’, उनले भने।

चौधरीले सुटिङ इन्डोर गेम भएपनि आफूहरु भने खुला आकाश मुनी अभ्यास गर्नुपरेको बताए। खेल अभ्यासका लागि ठाउँ नपाउँदा बाहिर आएर खेल अभ्यास गर्नु परेको उनले जानकारी दिए। यसअघि ब्याडमिन्टन कर्वड हलमा अभ्यास गर्दै आएपनि अहिले अभ्यासका लागि ठाउँ खाली नहुँदा घरको आँगनमा अभ्यास गर्न बाध्य भएको अध्यक्ष चौधरीको भनाई छ। 

प्रकाशित मिति: : 2022-09-23 11:02:00

प्रतिकृया दिनुहोस्