दाङमा ६ किलो बढी लागूऔषधसहित ४ जना पक्राउ

दाङमा ६ किलो बढी आगुऔषधसहित ४ जना पक्राउ परेका छन्।

दुई छुट्टा–छुट्टै ठाउँबाट ४ जनलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा एसपी वीरबहादुर वलीले असोज २ गते साँझ करिब साढे ६ बजे लमही नगरपालिका–९ अमिलियाबाट दुई महिलालाई लागूऔषध चरेसहित पक्राउ गरेको बताए। 

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ की ४० बर्षीया सुशीला गिरी र रोल्पा नगरपालिका–६ कोटगाउँ घर भइ हाल घोराही उपमहानगरपालिका–१३ सेवार बस्ने ३८ बर्षीया खुशी पुन मगर भनिने एकता पुन मगर रहेका छन्। 

उनीहरुको साथबाट प्रहरीले ६ किलो ३६० ग्राम चरेस जस्तो देखिने कालो पदार्थ बरामद गरेको छ। तुलसीपुरबाट भारतको दिल्ली तर्फ जाँदै गरेको ना ७ ख ९०५ नम्बरको बसबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। 

भारत तर्फ चरेस लगिदै गरेको सूचनाका आधारमा बसमा सवार ती दुई महिलालाई प्रहरीले खानतलासी गरेको थियो। प्रहरीले खानतलासी गर्दा उनीहरुले आफ्नो दुई वटै खुट्टाको साप्रामा चरेस बाँधेर लुकाएको अवस्थामा फेला पारेको थियो। 

यस्तै २ गते साँझ ५ बजेतिर प्रहरीले पूर्व पश्चिम राजमार्ग अन्तरगत गढवा गाउँपालिका–१ कालाकाटेबाट लागूऔषध ब्राउन सुगरसहित २ युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कपिलस्तुको कपिलवस्तु नगरपालिका–१० जगदिसपुरका २५ बर्षीय हिरासिंह क्षेत्री र बाणगंगा नगरपालिका–११ निवासी १८ बर्षी मोहबद खाँन रहेका छन्। 

प्रहरी प्रमुख वलीका अनुसार उनीहरुको साथबाट प्रहरीले ११३ दशमलव ४६ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको छ। साथै प्रहरीले उनीहरु सवार लु ६८ प १६६६ र लु ५५ प ६८३७ नम्बरका मोटरसाइकल समेत बरामत गरेको छ।

गढवामा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका ४ जनलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रमुख वलीले जानकारी दिए।

प्रकाशित मिति: : 2022-09-21 19:42:00

प्रतिकृया दिनुहोस्