मेक्सिकोमा शक्तिशाली भुकम्पः सुनामीकाे चेतावनी

उत्तर अमेरिकी मुलुक मेक्सिकोको प्रशान्त महासागरीय तटिय क्षेत्रमा सोमबार राती ७.६ म्याग्निच्युडको भुकम्प गएको छ। स्थानीय समय अनुसार दिउँसो १ बजेर ५ मिनेटमा भुकम्प गएको हो।

मेक्सिको सरकारले प्रशान्त महासागरको मान्जानिलोमा डिपार्टमेन्ट स्टोरको छत खस्दा १ जनाको मृत्यु भएको जनाएको छ।

भुकम्पका कारण धेरै भवनहरुमा क्षति पुग्नुका साथै ठुलो क्षेत्रमा विद्युत अवरुद्ध भएका छन्। अमेरिकी भुगर्भ सर्वेक्षणका अनुसार भुकम्पको केन्द्रबिन्दु पश्चिमी तट र कोलीमा र मिचोवाकान राज्यको सिमा नजिक रहेको छ। 

भुकम्पको केन्द्रबिन्दु सतहबाट १५ किलोमिटर मात्र गहिराईमा थियो। पश्चिमी राज्य मिचोवाकानमा भुकम्पको केन्द्रबिन्दु नजिकका अस्पतालहरुमा क्षति पुग्नुका साथै अस्पतालको सिसा खस्दा १ जना घाइते भएका छन्।

मेक्सिको सिटीकी मेयर क्लाउडिया सेनबाउमले भुकम्पपछि राजधानीमा तत्काल ठुलो क्षतिको कुनै खबर नआएको बताएकी छिन्। युएस् प्यासिफिक सुनामी चेतावनी केन्द्रले मेक्सिकोको तटिय क्षेत्रहरुमा सुनामीको चेतावनी जारी गर्दै छालहरु ज्वारीय स्तरभन्दा १ देखि ३ मिटरसम्म पुग्न सक्ने बताएको छ।

मेक्सिकोमा यसअघि सन् १९८५ र सन् २०१७ मा एकै दिन अर्थात १९ सेप्टेम्बरमा भुकम्प गएको थियो। १९ सेप्टेम्बर १९८५ मा ८ रेक्टर स्केलको भुकम्प गएको थियो, जसका कारण कम्तिमा ५ हजार मानिसले ज्यान गुमाएका थिए। त्यस्तै १९ सेप्टेम्बर २०१७ को ७.१ रेक्टर स्केलको भुकम्पको कारण कम्तिमा ३७० जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2022-09-20 18:01:00

प्रतिकृया दिनुहोस्