गुल्मी अस्पतालले आफ्नो सेवा प्रवाहलाई अब्बल बनाउँदै लगेको छ।
कम जनशक्ति र भौतिक संरचनाको अभावमा पनि अस्पतालले बिरामीहरूलाई दिँदै आएको सेवा राम्रो बन्दै गएको सरोकारवालाले बताएका छन्।
अस्पतालको कार्यसम्पादानको बारेमा जानकारी दिन आयोजना गरिएको वार्षिक समीक्षा कार्यक्रममा सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिले अस्पतालले दिँदै आएको सेवाको प्रशंसा गरेका हुन्।
उनीहरूले अस्पतालको विकासका लागि सबै लाग्नुपर्नेमा जोड दिए। कार्यक्रममा गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले एक वर्षमा अस्पतालमा भए गरेका व्यवस्थापकिय कामहरूको बारेमा सरोकारवालालाई जानकारी गराएका थिए।
डा. पच्याले अस्पतालमा कम साधन, स्रोत र जनशक्तिको अभावमा पनि बिरामीलाई भरपर्दो र विश्वासिलो सेवा प्रवाह गरेको बताए। अस्पतालमा लामो समयदेखि जनशक्ति व्यवस्थापन मुख्य चुनौतीको रूपमा रहेको र दरबन्दी भए पनि त्यसको परिपूर्ति हुन नसकेको उनको भनाई छ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले अस्पतालप्रति नागरिकको विश्वास र भरोसा कायम रहेको भन्दै त्यसलाई गुम्न नदिने वातावरण बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको बताए।
यस्तै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले अस्पताले प्रवाह गर्ने नियमित प्रशासनिक सेवासँगै समुदाय र नागरिकको रचनात्मक कामका लागि प्रदान गर्ने सेवा थप महत्त्वपूर्ण रहने उल्लेख गरे।
सरोकारवालाबाट आएका जिज्ञासा र सुझावको बारेमा स्पष्ट पार्दै अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले प्रदेशस्तरका अस्पतालहरूको तुलनामा गुल्मी अस्पताल अब्बल रहेको दाबी गरे। उनले आउँदा दिनमा अस्पतालमा अन्य सेवा विस्तार गरिने जानकारी गराए।