चुनाव नजिकिएसँगै गाउँ फर्किन थाले नेता

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावको मिति नजिकिएसँगै नेताहरु गाउँ फर्किन थालेका छन्। जिल्लामा हुने प्रशिक्षण कार्यक्रमदेखि जनतासँग भेटघाट कार्यक्रम गर्न नेताहरु गाउँ फर्किन थालेका हुन्।

दाङबाट केन्द्रमा प्रतिनिधित्व गर्ने पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृषणबहादुर महरा, एमाले महासचिव शंकर पोखरेलदेखि पूर्वमन्त्री एवम् काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीलगायत नेताहरु जिल्लामा जनता रिझाउन कार्यक्रममा देखिन थालिसकेका छन्। साथै स्वतन्त्र शक्तिका रुपमा उदायका नेताहरुले पनि जिल्ला केन्द्रित कार्यक्रम गर्न थालिसकेका छन्।

एमालेका महासचिव पाेखरेल भदौ २५ गते गृह जिल्ला दाङ आएर दुई दिन (२६ र २७) जिल्लाका विभिन्न प्रशिक्षण कार्यक्रममा सहभागि भए। पोखरेलले पेशागत महासंघ, राष्ट्रिय युवा संघ, नेपाल उत्पीडित जातीय मुक्ति समाज, अखिल नेपाल महिला संघलगायतको भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागिता जनाए। उनी जिल्लामा दुई दिन कार्यक्रम गरेर अन्य जिल्लाको दौडमा रहेका छन्।

पोखरेल दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि एकल रुपमा उम्मेदवार सिफारिस भएका छन्। यसअघि २०७४ को निर्वाचनमा पोखरेल दाङ क्षेत्र नम्बर २ (क)बाट चुनाव जित्दै लुम्बिनी प्रदेशको ३ वर्षसम्म मुख्यमन्त्रीका रुपमा रहे।

यस्तै नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा उपाध्यक्ष महरा पनि चुनाव नजिकिएसँगै जन्मस्थान रोल्पादेखि गृह जिल्ला दाङमा व्यस्त भए। उनी विशेषतः गाउँ कन्द्रीत कार्यक्रममा सहभागी भएका छन्।

दाङ माओवादीले ‘आफ्नै घर फर्कौँ’ अभियान चलाइरहेको छ। भदौ २५ गते देउखुरीमा भएको सोही कार्यक्रममा महराले १ सय ३० जना बढीलाई माओवादीमा समाहित बताएका थिए।

उनी दाङमा करिब आधा दर्जन कार्यक्रममा सहभागी भएको एक नेताले बताए। महरा दाङ आउनुअघि रोल्पामा भएको पार्टीका विभिन्न कार्यक्रममा सहभागी भए। यहाँको कार्यक्रम सकेर उनी राजधानी काठमाडौंँ फकिएका छन्। 

२०७४ सालको निर्वाचनमा उनी दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। महारासँगै क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रले केन्द्रीय सदस्य रेखा शर्मा र निर्मल आचार्यको नाम यस पटक उम्मेदवारका लागि सिफारिस गरेको छ।

नेकपा (एकिकृत समाजवादी)का पोलिटव्यूरो सदस्य तथा सहरी विकास मन्त्री मेटमणि चौधरी पनि निर्वाचन केन्द्रित देखिन्छन्। दाङ क्षेत्र नं. १ क्षेत्रबाट सांसद बनेका उनी निर्वाचन नजिकिएसँगै पटक–पटक दाङ–काठमाडौं गरिरहेका छन्। निर्वाचनको मुखमा मन्त्री भएका चौधरी त प्रत्यक्ष मतादता भेटघाटमात्र हैन विभिन्न योजनाहरु सिलन्यास समेत गर्न भ्याएका छन्।

उनले मन्त्री भएयता गृह जिल्लामा मात्रै एक दर्जन बढी योजनाहरुको शिलान्यास गर्न भ्याए। साउन ३० गते उनले आफ्नो निर्वाचन क्षेत्र देउखुरीमा १२ अर्बको राप्ती करिडोर शिलान्यास गरे। उनले अघिल्लो निर्वाचनमा राप्ती करिडोर निर्माण गर्ने भनेर जनतासामु गरेको बाचा आफूले गरेको बताएका थिए।

हुन पनि चुनाव नजिकिएसँगै हरेक दिनजसो जिल्लामा पार्टीका गतिविधिहरु हुन थालेका छन्। मुलधारको राजनीतिमा रहेका नेतासमेत चुनावका मुखमा आफ्नो निर्वाचन क्षेत्र फर्कन थालेपछि जिल्लामा चुनावी सरगर्मी बढ्दै गएको छ।

‘जब जब चुनाव आउँछ, तबमात्र नेताहरु आफ्नो ठाउँमा फर्कन थाल्छन्। नेताहरु गाउँ पसेपछि चुनाव लाग्यो भन्ने बुझिन्छ’, घोराहीका स्थानीय लोकराज पराजुली भन्छन्, ‘अरु बेला वास्ता नगर्ने तर चुनावको मुखमा गाउँ छिर्ने राजनीति प्रवृति राम्रो होइन।’

बढ्यो चुनावी सरगर्मी

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले पनि जिल्लामा चुनावी गतिविधि तीव्र पारेका छन्। केही दिनअघिसम्म जिल्लाका विभिन्न कार्यक्रमहरूमा सहभागी भएर राजधानी गएका छन्।

गिरी दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाको टिकटका लागि लविङमा छन्। गिरीसँगै नेपाली काँग्रेसले ६ जना नेताहरूको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नाम सिफारिसमय परेको छ।

नेकपा एसबाटै क्षेत्र नं ३ बाट स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी र केन्द्रीय सचिव भागवत विश्वासीसमेत जिल्लामा विभिन्न चुनावी गतिविधि बढाएका छन्। राज्यमन्त्री केसी केही समयअघि जिल्लाका कार्यक्रम सकेर राजधानी फर्केका छन्। केसी र विश्वासी प्रतिनिधिसभाको प्रत्यक्षमा सिफारिस भएका छन्।

नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई पनि जिल्लामा भ्याइ-नभ्याइ छ। गएको शनिबार उनी जिल्लाका दुईवटा कार्यक्रममा सहभागी भए।

मन्त्री चौधरी क्षेत्र नम्बर ३ (क)बाट प्रदेशसभाको प्रत्यक्षमा सिफारिस भएका छन्। काँग्रेसका प्रदेश उपसभापति राजु खनालसँगै जिल्लाबाट सिफारिस भएका कांग्रेसका नेताहरू जिल्लाका कार्यक्रमहरूमा व्यस्त छन्।

नेकपा एमालेका पोलिटव्युरो सदस्य शान्ता चौधरी, केन्द्रीय सदस्यहरू गंगा चौधरी, घनश्याम पाण्डेय, कोमल वली र अनुशासन आयोगका केन्द्रीय सदस्य रेवतीरमण शर्मा पनि जिल्लाका विभिन्न चुनावी कार्यक्रमहरूमा बढी भेटिन्छन्।

दाङ क्षेत्र नं. १ बाट शर्मा,  क्षेत्र नम्बर ३ बाट पाण्डेय र वली प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि सिफारिस भएका छन्। शर्मा प्रदेशसभा सदस्य हुन्। वली निवर्तमान राष्ट्रियसभा सदस्य हुन् भने पाण्डेय तुलसीपुर उपमहानगरपालिका निवर्तमान नगर प्रमुख हुन्।

क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको प्रत्यक्षका लागि एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री युवराज ज्ञवालीलाई पनि एमालेले सिफारिस गरेको छ। तर उनी भने चार महिनायता गृह जिल्ला नै फर्किएका छैनन्।

साउनको अन्तिममा एमाले दाङले गरेको जिल्ला स्तरीय प्रशिक्षणमा सहभागी भएर राजधानी गएका उपाध्यक्ष ज्ञवाली त्यसपछि भने जिल्लामा आएका छैनन्। 

यस्तै स्वतन्त्र राजनीतिक शक्ति नेपालले पनि दाङ जिल्लामा कार्यक्रम गरिसकेको छ। घोराहीमा शनिबार पार्टीका अध्यक्ष रमेश खरेलसहितका नेताहरु आएर आमसभासँगै उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी भए।

सभालाई सम्बोधन गर्दै खरेलले आउने निर्वाचन दानव र मानवबीचको लडाइँ रहेको बताएका थिए। अध्यक्ष खरेलले अन्य पार्टीलाई दानबको संज्ञा दिँदै आफूहरु भने मानव रहेको दाबी गरेका थिए।

स्वतन्त्र राजिनीतिक शक्तिबाट दाङ क्षेत्र नम्बर २ मा गीता रावत र २ (क)मा बेगम पाण्डेले उम्मेदवारी घोषणा गरिसकेका छन्।

प्रकाशित मिति: : 2022-09-14 14:25:00

प्रतिकृया दिनुहोस्