गायिका समिक्षा अधिकारीले आफुमाथि भएको बलात्कारको क्षतिपूर्ति बापत कुनै रकम नमागेको बताएकी छिन्।
समिक्षाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफुले कुनै पनि रकम नमागेको र क्षतिपूर्ति बापत कुनै पनि रकम नलिने उल्लेख गरेकी छिन्।
उनले लेखेकी छिन् – मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शकबृन्दहरुमा मेरो हार्दिक नमस्कार
यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म बिगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेकी छु। उक्त घटना मेरो र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद घटना हो।
सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला।
बाँकि रह्यो पैसाको कुरा मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन। म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग छु। यहाँहरुको साथ सहयोग र सकारात्मक बिचारले मेरो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु।
गत फागुन ११ गते समिक्षाका बुवाले आफ्नी नाबालिका छोरीमाथि पल शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए।
उक्त अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
तर भदौ २१मा नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको दिँदै नाबालिक बलात्कार आरोपमा मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको थियो भने पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको थियो।