पर्यटक कुर्दै चितवनको गोलाघाट

पश्चिम चितवनको आकर्षक पर्यटकीय गन्तव्यस्थल गोलाघाट पर्यटकको पर्खाइमा छ। 

भरतपुर महानगरपालिका– २८ स्थित सो स्थान भरतपुरको चौबीसकोठीबाट ३२ किलोमिटरको दूरीमा पर्छ। कोरोनाको महामारीले प्रभावित बनेको पर्यटन व्यवसाय चलायमान हुने क्रममा रहेका बेला बर्खाको समय र  चितवन जोड्ने सडकका कारण आन्तरिक पर्यटक पनि आउन सकेनन्। 

गोलाघाटसँगै जोडिएको राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा अहिले आन्तरिक पर्यटकको सङ्ख्या घटेको छ। वनअन्तर्गतको टिकट काउन्टरमा काम गर्दै आएकी रुपामाया कुमालले घुम्न आउनेको सङ्ख्या निकै कम भएको जानकारी दिए।

‘दिनमा दुईदेखि तीन सयको हाराहारीमा आन्तरिक तथा बाहिरी पर्यटकले जीप सफारीमार्फत सामुदायिक वन घुम्थे। अहिले दैनिक ५० देखि ६० जनामात्रै हुन्छन्। कहिलेकाहीँ यही पनि हुँदैनन्’, उनले भने। 

कुमालले वन क्षेत्र घुम्न आउने पर्यटकका लागि प्रतिव्यक्ति रु २० टिकट शुल्क लिने गरेको बताए।

पर्यटकीय क्षेत्रका रूपमा बामे सर्दै गर्दा कोरोनापछि यो क्षेत्र थलापरेको व्यवसायीहरू बताउँछन्। यस क्षेत्रलाई पुनः पहिलाकै अवस्थामा पु¥याउन अझै धेरै कसरत गर्नुपर्ने होटल व्यवसायी सतिश कुमाल बताउँछन्। अहिलेसम्म अफसिजन भएकाले पनि पर्यटकको सङ्ख्या घटेको उहाँको भनाइ छ। सुनसान देखिएको गोलाघाट चाडपर्व नजिकिएसँगै भरिभराउ हुने उनले आशा व्यक्त गरे।

भरतपुर –२६ ज्योतिनगरबाट गोलाघाट घुम्न आउनुभएकी सुनिता चौधरीले पर्यटक आकर्षण गर्नका लागि सेवासुविधामा जोड दिनुपर्ने बताए।

घुम्न, आनन्द लिन, एक्लै समय बिताउन, लेखक र अनुसन्धानका लागि उपयुक्त ठाउँ भए पनि यहाँ आन्तरिक पर्यटकले खोजेजस्तो सेवा–सुविधा कम भएको उनको भनाइ थियो। 

गोलाघाटमा विषेश गरेर वाइल्ड लाइफ ९वन्यजन्तु० हेर्नका लागि पर्यटक आउने गर्छन्। निकुञ्जको जङ्गल र दुई नदीको सङ्गम भएको अत्यन्त सुन्दर र रमणीय गोलाघाटमा नारायणी नदी र राप्तीखोला मिसिएर अगाडि बढ्छन् र यहाँ गोलाघाटमा सूर्यास्तको दृश्य नियाल्न स्थानीय तथा पर्यटक आउने गर्दछन्।

फराकिलो भएर बगेको नदी र परपरसम्म कुनै मानवीय बस्ती एवं भौतिक संरचना नभएका कारण यहाँबाट सूर्यास्तको शानदार दृश्य देखिन्छ। पश्चिम चितवनको अन्तिम बिन्दु रहेको हुनाले गोलाघाटभन्दा तल चितवनको कुनै बस्ती छैन। 

सूर्यास्तसँगै बाघ, एकसिङ्गे गैँडा, मृग, चित्तल, गोही पनि यहाँको आकर्षणको केन्द्रबिन्दु रहेको मेघौली सिराइ ताज सफारीका गाइड बुद्धि चौधरीले बताए। 

उनका अनुसार गैँडालगायत जङ्गली जनावर किनारमा चर्दै गरेको र पानी खान आएको देख्न पाइन्छ। उनले पर्यटकको सङ्ख्या थोरै भए पनि सन्तुष्ट भएर फर्किएको बताए। चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै सहजरुपमा हेर्न पाउँदा पर्यटक सन्तुष्ट भएको उनको भनाइ थियो। यसले अबका दिनमा पर्यटक आगमनमा सहयोग पुग्ने चौधरीको विश्वास छ। 

अहिले होटल तथा रिसोर्टमा बस्ने पर्यटक अधिकांश देशभित्रकै रहेको उनले बताए। पछिल्लो समय युक्रेन, क्यानडा, युएस र फिलिपिन्सका पर्यटक पनि परिवारसहित आइरहेको जनाइएको छ।

मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिश्चन्द्र महतोले पर्यटक भित्र्याउनका लागि प्रचार–प्रसार र अन्य अभियानलाई निरन्तरता दिइरहेको बताए। 

आन्तरिक पर्यटकका लागि गोलाघाट परिचित स्थान भए पनि अन्तर्राष्ट्रियस्तरमा अझै पहिचान पाउन नसकेको उनको बुझाइ छ। एकान्तमा रमाउन चाहने पर्यटक पश्चिम चितवनमा केन्द्रित हुने गरेको उनको भनाइ छ।

यस क्षेत्रमा साना–ठूला गरेर २५ वटा होटल तथा रिसोर्ट सञ्चालनमा रहेका छन्। यहाँ स्तरीय होटलसँगै होमस्टे पनि सञ्चालनमा छन्। मेघौलीमा थारू जातिको पुराना संस्कृतिलाई जोगाउने भन्दै सङ्ग्र्रहालय पनि बनाइएको छ। कुमाल सङ्ग्रहालय, कल्चर हाउस, पर्यटन सूचना केन्द्र, राइनो पार्कलगायतका पर्यटकीय संरचना यस क्षेत्रमा बन्दै गरेका छन्।

वर्षाका कारण राप्ती नदीमा हुने डुङ्गा सफारी रोकिएको छ। गोलाघाट संस्कृतिको पनि धनी क्षेत्र हो। यहाँ कुमाल, थारू, तामाङ समुदायको बहुल्यता रहेको छ। अहिले कुमाल र थारू समुदायका सांस्कृतिक टोलीहरूले रातको समयमा आफ्नो समुदायको नृत्य तथा गीत प्रस्तुत गरी पर्यटकलाई मनोरञ्जन दिने गर्छन्। 

पछिल्लो समय पर्यटक पश्चिम चितवनमा केन्द्रित हुने गरेको र मेघौली गोलाघाट क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारमार्फत विभिन्न कार्यक्रम सञ्चालन गरिएको बागमती प्रदेशसभा सदस्य कृष्ण भूर्तेल बताए।

प्रकाशित मिति: : 2022-09-13 10:56:00

प्रतिकृया दिनुहोस्