टिकटकले बिगार्‍याे समाज !

उमेश थापा

काठमाडौं

२०१६ सालमा चीनले शुरु गरेको 'टिकटक' एप अहिले सर्वाधिक चलाइने सामाजिक सञ्जालमध्ये एक  हो। विश्वका हरेक मुलुकमा टिकटकको लोकप्रियता बढेकाे छ।

भारत हुँदै नेपाल छिरेको टिकटकमा १५ सेकेण्डदेखि तीन मिनेटसम्मको भिडियो हाल्न मिल्छ। टिकटकसँग कुल जनसंख्याको ७० प्रतिशतभन्दा धेरै नेपालीहरु जोडिएका छन्।

टिकटक बहुआयामिक एप हो। सदुपयोग गर्न जान्यो भने यसबाट धेरै कुरा सिकाउन सकिन्छ। तर, यसको दुरुपयोग पछिल्लो समय ह्वात्तै बढेको छ। राम्राभन्दा पनि अश्लिल कुराले टिकटकमा प्राथमिकता पाइरहेकाे छ।

टिकटकले निम्त्याएको घटनाका असर यतिखेर हाम्रो समाजमा पनि देखिन थालेको छ। छोटा कपडा लगाएर अश्लिल हर्कत देखाउने लगायतका भिडियोहरु टिकटकमा छ्याप्छ्याप्ती भेटिन्छन्। तर, यसप्रति नियमनकारी निकायले अहिलेसम्म ध्यान पुर्याएको छैन्।

दैनिक १८ घण्टा टिकटकमै बिताउनेहरु पनि हाम्रो समाजमा भेटिन्छन्। टिकटक पैसा कमाउने राम्रो माध्यम पनि हो। तर, अश्लिलता फैलाएर पैसा र चर्चा कमाउने प्रवृत्तिमा सरकारले अहिले नै प्रतिबन्ध लगाउनुपर्छ।

टिकटकमा कला, सिप तथा अन्य मनोरञ्जनलगायतका सामग्रीहरु मात्र पोस्ट गर्न मिल्छ। तर, नेपालमा यसको ठ्याक्कै उल्टो छ। कलाको भन्दा पनि अश्लिलता फैलाउने सामग्रीहरु बढी पोस्ट हुन्छ।

अहिलेको युवा पुस्ताहरु जतिबेला पनि टिकटकमै झुण्डिएको भेटिन्छन्। १८ देखि २४ बर्ष सम्मका उमेर समूहहरु सबैभन्दा धेरै समय टिकटकमा बिताउँछन्। कुल जनसङख्याको ४९.९ प्रतिशत यो उमेर समूहकाले टिकटक चलाउँछन्।

नेपालको हकमा करिब २ करोड जनसङ्ख्याले टिकटक चलाउँछन्। टिकटक बनाउने क्रममा कतिपयको ज्यानसमेत गएको घटना छ। हालै मात्र ३४ वर्षिय नविन केसीको मृत्यु भएको घटना हाम्रै आँखासामु छ। अश्लिलता फैलायो भने त्यो सामग्री छिटो बिक्छ भन्ने सोचाई भएकाले पनि टिकटक छाडापनले भरिएको हो।

टिकटक प्रयोगकर्ताहरु सबै नराम्रो हुन्छन् भन्न खोजिएको होइन्। तर, टिकटकमा हेर्ने र बनाउनेहरु राम्रो भिडियोमा भन्दा पनि नराम्रो भिडियोमा बढी केन्द्रिता भएको पाइन्छ।

अहिलेका महिला र पुरुषहरुको चहाना टिकटकमा भाइरल हुनु मात्र छ। चीन र भारतले टिकटकमा प्रतिबन्ध लगाइसकेका छन्। नेपालमा पनि टिकटकमा बन्देज लगाउनुपर्ने बेला भएको छ। 

टिकटक समयको बर्बादी हो। पढ्न छोडेर पनि टिकटकमा झुल्लिने, कामधन्दा छोडेर पनि टिकटकमै व्यस्त हुने क्रम बढेपछि मुलुकको रुप कसरी फेरिन्छ ?

टिकटक नेपालमा राम्रोसँग चलाउने १० प्रतिशत मात्र छन्। टिकटकले घरपरिवारमा आगो लगाइरहेको छ। आपसी सम्बन्धहरु ध्वस्त भएको छ।

सरकारी कर्मचारीहरु नै पोशाकमा टिकटकमा नाचिरहेको देखिन्छ। कतिपय मन्त्रीसमेत जतिबेला पनि टिकटकमै भेटिन्छन्। कामधन्दा छोडेर सबै टिकटकमै मग्नमस्त छन्।

टिकटकले उपहार र पैसा दिएर प्रभावित बनाउँदै आएको छ। टिकटक बन्द गर्नुपर्छ भनेर सामाजिक सञ्जालमा मागसमेत उठ्न थालेको छ ।

प्रकाशित मिति: : 2022-09-06 15:00:00

प्रतिकृया दिनुहोस्