शीतल निबासमै फर्कियो नागरिक विधेयक : अब के गर्छिन् राष्ट्रपति भण्डारी ?

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित पुनर्वािचारका लागि संसदमा फिर्ता गरेको नागरिकता संशोधन विधेयक फेरि उनकै टेबलमा फर्केको छ । तर, यसपटक पनि विधेयकमा केही पुनर्विचार गरिएको छैन, जस्ताको तस्तै छ । 

यसरी सन्देशसहित पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक जस्ताको तस्तै फिर्ता आएकोमा राष्ट्रपति भण्डारी खुशी छैनन् । उनले यसबाट आफू अपमानित भएको महसुस गरेकी छिन् ।

यो विधेयक पुनर्विचार गराउन उनले शीतल निबासमा गरेको अतिरिक्त अभ्यासले पनि यसलाई उनले प्रतिष्ठाको विषय बनाएको प्रष्टै हुन्छ । यसका लागि उनले सेनादेखि सबै राजनीतिक दललाई गुहारेका थिइन् । गुहार्दा गुहार्दा उनी अनुहार पनि हेर्न नचाहने आफ्ना पूर्वमहासचिव माधव नेपाललाई पनि हार गुहार गर्न पुगेकी थिइन् ।

यति तल झरेर हारगुहार गर्दा पनि सुनुवाइ नभएकोमा कोही पनि सामान्य मानिस त खुशी हुदैन भने उनी त राष्ट्रपति खुशी हुने कुरै भएन ।

तर, अब खुशी नभएर पनि के गर्नु ?, संविधानले नै यसपटक उनलाई १५ दिनभित्र प्रमाणिकरण गर्नुको विकल्प दिएको छैन । 

त्यसो त उनको क्रोधित मुडलाई ध्यानमा राखेर उचाल्ने पश्चगामीहरूको पनि कमी छेैन । नेपालमा संघीय गणतन्त्र आएको मन नपराउने उनीहरूले राष्ट्रपतिलाई दुई उपाय सुझाइदिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित पुनर्वािचारका लागि संसदमा फिर्ता गरेको नागरिकता संशोधन विधेयक जस्ताको तस्तै फर्केको छ । अब उनले के  गर्लिन भनेर सबैको ध्यान शितलनिबासतिर तानिएको छ ।

पहिलो, निर्धारित १५ दिनको म्याद गुजारेर विधेयकलाई फाजिलमा हालिदिने । उनीहरूको तर्क छ, यसरी १५ दिनमा जारी नगरे फाजिलमा हाल्दा के हुने भन्ने संविधानमै व्यवस्था छैन । संविधानमै व्यवस्था नभएकाले निर्धारित समयमा जारी नगरे राष्ट्रपति भण्डारीलाई केही गर्न नै मिल्दैन ।

दोस्रो, १५ दिनसम्म जारी नगर्ने र १६औं दिनमा राजीनामा दिने । उनीहरूको तर्क छ, यसो गर्दा विधेयकको आयु पनि सकिन्छ र राष्ट्रपति भण्डारीको राष्ट्रवादी छवि पनि जोगिन्छ । त्यसबाट एमालेलाई चुनावी फाइदा पनि पुग्छ ।

राष्ट्रपति भण्डारी भड्किन्छिन् कि भड्किदिनन्?, अहिले नै यसै भन्न सकिने अवस्था छैन । किनकि, उनले यति ठूलो निर्णय आफ्नै विवेकले लिने हैनन् । त्यसका लागि उनले एमाले अध्यक्ष केपी ओलीको संकेत पर्खनुपर्छ । 

अहिले ओली राष्ट्रपति भण्डारीलाई के गराउँदा राजनीतिक फाइदा हुन्छ भनेर जोखाना हेरिरहेका छन् । ओलीको जोखानामा पनि अन्यथा गराएर उनलाई भड्खालोमा हाल्नुभन्दा प्रमाणिकरण गरेर सुरक्षित अवतरणको मार्गप्रशस्त गराउँदै फाइदा होला जस्तो देखिएको उनको हाउभाउले संकेत गर्दैछ । 

प्रकाशित मिति: : 2022-09-06 07:35:00

प्रतिकृया दिनुहोस्