‘साथी तिमी नेपाल नफर्किने?’ मैले उसलाई प्रश्न गरेँ। ‘नफर्कने यार! फर्केर पनि के गर्नु? पढाइअनुसारको जागीर, तलब पाइँदैन!’ उसले जवाफ फर्कायो।
एउटै ब्याचमा एसएलसी दिएका हामी दुवै अहिले युरोपमा छौं। ऊ क्लासको मेधावी छात्र। अहिले युरोपकै एउटा युनिभर्सिटीमा विद्यावारिधि गरेर जागीर खाँदै छ।
हामीपछिका ब्याचहरुका अधिकांश भाइबहिनीहरू अहिले विदेशमा नै छन्। कोही रोजगारीको सिलसिलामा त, कोही अध्ययनपश्चात विदेशमा नै स्थायी रूपमा बसोबास गरिरहेका छन्।
‘प्लस टु’ को नतिजा आउनु अगाडि कुराकानीको क्रममा एक जना बहिनीले मलाई नर्सिङ पढ्ने बताइन्। मैले उनको कुरा बुझ्न नर्सिङ पढ्नुपर्ने कारण खोतलेँ। नेपालमा बीएसस्सी नर्सिङपछि विदेश जाने रहर रैछ। विदेशमा नर्सहरुको सेवा सुविधा राम्रो हुने, काममा चाप नहुने तथा उतै बसोबासको लागि सहज हुने उनको राय थियो। उनको रोजाइमा अस्ट्रेलिया, क्यानाडा र अमेरिका देशहरू रहेका थिए।
त्यस्तै गरेर ‘प्लस टु’ मा बी, बी प्लस, ए,ग्रेड ल्याउनेहरुको इच्छा पनि सोही देखियो। केहीले नेपालमा सकेसम्म केही गर्ने, लोकसेवा लड्ने र सरकारी जागीर खाने पनि बताए।
‘प्लस टु’ को नतिजा आएपछि अभिभावकहरुले आफ्ना सन्तानको परिश्रममाथि गर्व गर्दै बधाइ तथा शुभकामना दिइरहेका छन्। यसरी शुभकामना दिन पाउनु उनीहरूको लागि खुसीको कुरा हो। तर धेरै अभिभावकहरु आफ्ना सन्तान देशमा बसेर केही गरोस् भन्ने चाहना कमै राखेका भेटिन्छन्। जुन दुखद पक्ष पनि रहेको देखिन्छ।
नेपालमा पछिल्लो ट्रेन्ड पनि गन्तव्य विदेश नै जाने देखिन्छ। अध्ययनको सिलसिलामा होस वा स्थायी बसोबास नै किन् नहोस्। ‘प्लस टु’ गरेपछि पढाइमा अलि कमजोर मानिएको विद्यार्थीहरु विभिन्न कन्सल्टेन्सी हुँदै माल्टा अध्ययन गर्न भनेर आउने अनि पोर्चुगल गएर स्थायी बसोबासको कागजपत्र बनाउनेहरुको पनि कमी छैन।
युरोप, अमेरिका,अस्ट्रेलियालगायतका सम्पन्न मुलुकहरूमा अध्ययनको लागि जाने युवायुवतीहरु स्वदेश फर्केर बस्ने भन्ने कुरा नगन्य नै हुन्छ।
युरोपमा अहिले धेरै नेपाली विद्यार्थीहरू छात्रवृत्तिमा स्नातकोत्तर तथा विद्यावारिधि अध्ययन गर्न आउँछन्। त्यस सँगै ‘प्लस टु’ पछि स्नातक अध्ययन गर्न आउनेको संख्या पनि उत्तिकै रहेको छ।
स्नातक गर्न आउने नेपाली विद्यार्थीहरूमध्ये धेरै डेनमार्क, पोल्याण्ड, जर्मनीलगायतका देशमा रहेका छन्। युरोपसँगै अस्ट्रेलिया, जापान जानेहरुको सङ्ख्या पनि उत्तिकै रहेको छ।
स्नातकदेखि विद्यावारिधि गर्नेहरू नेपाल फर्केर देशको लागि नै काम गरेको कम मात्रामा सुनिने गरेको छ। यसरी स्नातकोत्तर गर्न आउने अध्ययनमा मेधावी विद्यार्थीहरू धेरै छन्। जो ‘प्लस टु’ मा पहिलो तथा विशिष्ट श्रेणीमा उत्तीर्ण भएका थिए।
विद्यावारिधि गरेकाहरू बेल्जियम,नेदर्ल्यान्ड्स,जर्मनी, अस्ट्रिया, नर्वेलगायतका देशहरूका विश्वविद्यालहरुमा प्रोफेसरको रूपमा कार्यरत पनि छन्। उता स्नातक पढ्नेहरु बी ग्रेडभन्दा माथि ल्याउने नै रहेका पाइएको छ।
देशमा काम गरेर पाइने तलब, जागीर खान बेहोर्नुपर्ने सास्तीका कारण पनि विदेश गन्तव्य रहेको उनीहरू बताउँछन्।
‘मैले स्नातकपछि जागीरका लागि धेरै ठाउँ आवेदन दिएँ। पहुंच नपुग्दा भएन। लोकसेवाको अन्तिममा फालिनु पर्यो। बल्लतल्ल पाएको जागीरले खर्च धान्न मुस्किल। अन्तिम विकल्पमा युरोप रोजेँ’, जर्मन निवासी गोर्खाकी अस्मिता पाण्डेले भनिन्, ‘प्लस टु देखि स्नाकोत्तरमा राम्रै नतिजा आएको थियो। तर के गर्नु सबै चिज हेर्दा यतै ठिक लाग्यो। सुरुमा अलिकति दुःख पाइयो।’
त्यसो त आफ्ना सन्तान विदेश गैदियोस्, राम्रो कमाइ गरोस् भन्ने धेरै अभिभावकहरुको इच्छा हुन्छ। समाजमा छोरा-छोरी युरोप, बेलायत, अस्ट्रेलिया, जापान वा अमेरिका छन् भनेर गर्व गर्ने उनीहरूले सन्तानहरुले देशमै केही गरून् भन्ने चाहना नराख्नु पनि अर्को कमजोर पक्ष देखिन्छ।
आफ्ना सन्तानहरुलाई स्वदेशको माटोमा दुख गर्न सिकाउने हो भने ‘प्लस ट’ पछि विदेशको सपना पक्का देख्ने थिएनन्। देश निर्माणमा बलियो खम्बा बन्ने थिए। त्यसैले एसईई होस् वा प्लस टु मा राम्रो ग्रेड ल्याएर सन्तान पास भए भन्दैमा हर्षित नबनौं बरु विदेश नजानबाट प्रोत्साहित गराऊँ। यसैमा सबैको भलो हुनेछ।