रोल्पाको दुर्गम गाउँमा जन्मिएकाे मैले काठमाडौंको नाम त सुनेको मात्र थिएँ। गाउँका मान्छेहरुले भनेको सुनेको थिए–‘काठमाडौंँ यस्तो छ, काठमाडौंँ उस्तो छ।’
अरुको मुखबाट काठमाडौंको प्रशंसा सुन्दा लाग्थ्यो कि म पनि काठमाडौं जान पाए हुन्थ्यो नी! नभन्दै ‘एसईई’ दिएपछि काठमाडौं जाने कुरा भयाे। किनकी बाआमाको सपना थियो–कान्छो छोरा काठमाडौं गएर धेरै पढोस्। त्यसैले मैले पनि काठमाडाैं गएर पढ्ने निधाे गरेँ।
बाआमा र गाउँ घरसँग बिदा मागेर दिदिसँग काठमाडाैं जाने बसमा चढेँ। बसमा चढ्दै गर्दा मनमनै साेच्न थालेँ–कस्तो होला काठमाडौं। मलाई काठमाडाैं पुग्ने हतार भइसकेकाे थियाे।
बसमा यात्रा गरेको दुई दिनपछि हामी काठमाडौं पुगेँ। गाउँमा जङगलमा खेलेर हुर्किएको म काठमाडौं आएपछि देखेँ–ठूल्ठूला घर अनि सडकभरि नै गाडी। जुन दृश्य देखेर लाग्यो म कुनै सपना देख्दैछु।
काठमाडौंको सडकमा गुडिरहेको गाडी र मान्छेको भीड देखेर मन उत्साहित हुन थाल्याे। कहिले पनि नदेखेको काठमाडौ देखेर रमाउन थालेँ।
काठमाडाैंकाे नयाँ बसपार्क आइपुगेका हामीलाई त्यहाँ लिन अङकल आउनुभएकाे थियाे। अनि उहाँसँगै हामी मनमैंजुतिर गयाैँ।
काठमाडौं पढ्न आएकोले मलाई मेरो अङकलले सामाखुसीमा भएको 'तक्षशिला एकेडेमी कलेज' मा भर्ना गरिदिनुभयो।
स्कुल पढ्दा कलेज जाने मेरो ठुलो रहर थियो। त्यसैले कलेजको पहिलो दिनै म कलेज गएको थिएँ।
कलेजको कक्षा कोठा पुग्दा त्यहाँ म जस्तै धेरै विद्यार्थीहरु थिए। सानैदेखि कसैसँग हत्तपत्त नबाेल्ने स्वभावकाे म कक्षाका विद्यार्थीहरू देखेर ‘नर्भस’ हुन थालेँ। त्यो भन्दा धेरै त म सरको कुरा सुनेर लजाउन थालेको थिएँ।
सरले भन्नुभएको थियो, ‘यहाँ केटा र केटी एउटै बेन्चमा बस्नुपर्छ है!’ कक्षा कोठामा उभिरहेको मलाई पछाडिबाट सरले 'रविन तिमी यता बस' भन्दै अगाडिको बेन्चमा राखिदिनु भयो।
जुन बेन्चमा म भन्दा पहिले नै एउटी विद्यार्थी बसिरहेकी थिइन्। जसको नजिक पुगेर म झनै ‘नर्भस’ भएँ। सगैँ बसेकी साथी मलाई बोलाउँदै थिइन् तर म केही बोलिनँ।
उनले बाेलाइरहँदा त मैले गाउँमा सँगै गुच्चा खेलेका साथीहरुलाई सम्झिरहेको थिएँ।