पिपल्स क्याम्पसको सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न (भिडियोसहित)

सुनिता लामा

काठमाडौं

काठमाडाैं पकनाजोलस्थित पिपल्स क्याम्पसले कोभिडको कारण ठप्प भएको विद्यार्थी केन्द्रित रचनात्मक तथा सांस्कृतिक र विभिन्न तहका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेकाे छ।

क्याम्पस प्रमुख मनोज कुवँर, बिबिए संयोजक राजेन्द्र राय, बिबिएम संयोजक, सहायक क्याम्पस प्रमुख, स्ववियु सभापति लगायत व्यक्तित्वहरुले संयुक्त रुपमा गमलामा पानी हालेर शुरु भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक नृत्य तथा प्रस्तुतिहरु प्रर्दशन गर्नुका साथै बिबिए र बिबिएमका विभिन्न तहमा अध्ययनरत उत्कृष्ट अंक प्राप्त गरी क्याम्पस टप गरेका विद्यार्थीहरुलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेकाे हाे।

बिबिए र बिबिएममा अध्ययनरत विद्यार्थीहरुको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख मनोज कुवँरले पढाइले मात्र विद्यार्थीको सर्वाङ्गिण विकास नहुने बताएका थिए।

'विद्यार्धीभित्र भएको प्रतिभालाई प्रस्फुटन गर्न सांस्कृतिक कार्यक्रम गर्नुपर्छ' उनले भने, 'त्यहीँ प्रतिभालाई नै जीवनको एउटा आधार बनाउन सकिन्छ।'

वि.स. २०११ साल भाद्र १७ गतेबाट शुरु भएको व्यवस्थापनकाे दिन कार्यक्रम गर्दा अधिकांश विद्यार्थीहरुको रोजाइमा पर्न सफल हुनका साथै महत्व अझै बढ्ने उनले बताए।

पिपल्स क्याम्पसका स्ववियु सभापति आदित्य बोहराले रचनात्मक तथा विद्यार्थीहरुको प्रतिभा केन्द्रित कार्यक्रमले उनीहरुको पढाइसँगै जीवनोपयोगी सिपको पनि विकास हुने बताएका थिए।

त्यसैगरी उनले क्याम्पस प्रशासनले सांस्कृतिक र रचनात्मक शैक्षिक गतिविधि तथा कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए।

बिबिए र बिबिएममा लगातार प्रथम, दोश्रो र तेश्रो सेमेष्टरमा शीर्ष स्थान प्राप्त गर्ने सुनिता डंगोल र प्रिति डंगोल लगायत अन्य सेमेष्टरका उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो।

त्यसैगरी केस स्टडी एनालाइसिसमा उच्चतम अंक प्राप्त गर्न सफल विद्यार्थीहरुको समूहलाई पनि सम्मान गरिएको थियाे।

स्ववियु अध्यक्ष फुर्बा छिरिङ्ग शेर्पाले क्याम्पसमा हुने यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको हौसला र प्रोत्साहनमा वृद्धि हुनका साथै क्याम्पस प्रशासन, विद्यार्थी र स्ववियुको संयुक्त समन्वय, सहकार्य र सहभागितामा यस्ता रचनात्मक कार्यक्रमहरु सफल हुने विचार व्यक्त गरेका थिए। 

प्रकाशित मिति: : 2022-09-02 16:48:00

प्रतिकृया दिनुहोस्