गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवार सिफारिस भएका छन्।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उक्त क्षेत्रबाट उनको नाम सिफारिस गरिएको हो।
बिहीबार बसेको कांग्रेस रुपन्देही क्षेत्र नम्बर–२ को बैठकले खाँणसहित चारजनाको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरेको जनाएको छ।
प्रत्यक्षतर्फ खाँणसहित युवराज गिरी, कृष्णप्रसाद पोखरेल र चुन्नप्रसाद पौडेलको नाम सिफारिस गरिएको क्षेत्रीय कार्यवाहक सभापति परशुराम ढकालले जानकारी दिए।
‘उक्त क्षेत्रबाट समानुपातिकतर्फ नौ जनाको सिफारिस गरिएको छ। समानुपातिकतर्फ डा.बुद्धबहादुर थापा, चिरञ्जीवी जोशी, मनोरमा शेरचन, अर्जुन रानाभाट, रीता सेन ओली, राममाया पौडेल अर्याल, नुमा थापा, हुमकला सुवेदी र लक्ष्मी जोशी रहेको ढकालले बताए।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विजयको ‘ह्याट्रिक’ गरेको यस क्षेत्रमा खाँणको नाम सिफारिसले स्थानीय नेता–कार्यकर्तामा तरंग पैदा गरेको छ।
यद्यपि, खाँणले प्रतिस्पर्धा गर्दै आएको क्षेत्र रुपन्देही–३ हो। उक्त क्षेत्रबाट उम्मेदवारकाे नाम सिफारिस गर्न बैठक बसेको छैन। खाँणनिकट स्रोतले रुपन्देही–३ बाट पनि उनको सिफारिस गरिने जनाएको छ।