ललितपरको थेच्वमा नवदुर्गा भवानी जात्रा सुरू

शनि शाक्य

काठमाडौं

ललितपुरको थेच्वमा १२ वर्षपछि भएको नवदुर्गा भवानी जात्रा सुरू भएको छ। 

मङगलबार तीनवाने जंगलबाट आगँसी (दाउरा) ल्याएर पूजाआजा गरी जात्रा सुरू भएको हो। 

जात्राका परम्पराअनुसार नवदुर्गा भवानीको मन्दिरमा आःजा गुरुजुबाट तान्त्रिक विधि अनुसार पूजा पाठ गरी तिनपाने जंगलबाट दाउरा ल्याउने प्रचलन छ। 

देवतालाई चढाइने दाउरा लिनका लागि देवगणहरु हातमा बन्चराे लिएर खाली खुट्टा हिडेर थेच्व, चापागाँउ, टिकाभैरव,कोटडाँडा हुदै तीनपाने भञ्ज्याङ्गको जंगलमा पुगेका थिए। 

जंगलमा पुगेपछि मन्दिरका मूल पुजारीले एउटा रुखलाई पूजा गर्दै काटेका थिए। पूजा गरेर काटेर ल्याइएका दाउरालाई चापागाँउको शेराफाँटमा पूर्ण पूजा आःजा गरी गुरुजुहरुले तान्त्रिक विधिबाट बाजा बजाई जात्रा गरी मन्दिरमा ल्याएका थिए।

त्यसरी पूजा गरेर ल्याइएका दाउरालाई मन्दिर अगाडि बनाईएको बल्चाःमा राखिन्छ। सोही काठलाई वडा दसैँको फुलपातीमा सुनाकोठीस्थित बालकुमारी मन्दिर अगाडि होम लगाउन प्रयोग गरिन्छ। 

१२ वर्षमा एक चोटि मात्र हुने जात्रामा तान्त्रिक विधिले यज्ञ गरि नवदुर्गाको मुकुट र कलेवर पोसाक फेर्ने चलन छ। 


 

प्रकाशित मिति: : 2022-08-31 12:39:00

प्रतिकृया दिनुहोस्