मेयर साम्पाङको फेसबुक मोह: समर्थनभन्दा विरोध बढी

BreaknLinks
BreaknLinks

‘नेपालीहरु धेरै मुख बजाउने भएकैले हो देश पराधीन बनेको ! गफाडी मात्रै धेरै भयो !’

धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङ राईद्वारा लिखितमाथिको स्टाटस पढ्दा लाग्छ, उनले आफैँलाई सामाजिक सञ्जाल फेसबुकमार्फत कटाक्ष गरिरहेका छन्।

फेसबुकमा अत्याधिक व्यस्त देखिने नगर प्रमुख हर्क सम्पाङको यो २३औँ फेसबुक अपडेट हो। अर्थात् यिनले योभन्दा अगाडि एकै दिनमा २२ ओटा फेसबुक पोस्ट गरिसकेका छन्।

सम्भवत हर्क नेपालमा मात्र नभइ विश्वमै फेसबुकमा दैनिक अत्यधिक विचार व्यक्त गर्नेमध्ये एक मात्र नगर प्रमुख हुन्। जसले दैनिक २० देखि ३० सम्म स्टाटसलगायत भिडियोहरू पोस्ट गरिरहेका हुन्छन्। जसमा आउने प्रतिक्रियामध्ये अधिकांशले उनैलाई गिज्याइरहेका हुन्छन्।

एउटा मेयर सामाजिक सञ्जालमा यति धेरै व्यस्त रहनु र व्यंग्यको विषय बन्नु आफैँमा हास्यास्पद र दुःखद पनि हुन आउँदछ। उनलाई मन पराउनेहरु उनैको विरोधमा लागेका देखिन्छन्। आफ्ना प्रशंसक घटाउँदैछन् मेयर साम्पाङ।

निर्वाचनताका नगर प्रमुख राई एउटा टेम्पो लिएर धरानका चोक-चोकमा बसेर हातमा माइक लिँदै आफ्ना विचार पोख्थे। निर्वाचित भएको खण्डमा धरानलाई विकास गर्ने दृढ अठोट र सपना उनको मुहारमा मात्र होइन, उनले अभिव्यक्त गर्ने बोलीमा पनि पाइन्थ्यो।

उनले धरानका चोक-चोकमा बसेर भोट माग्दै गर्दा उनको बोली सुन्ने नगन्य देखिन्थे। तर पनि हर्क हार खाएनन्, हार मानेनन्। अन्तत धरानका जनताले उनैलाई भोट दिए र जिताए।

काठमाडाैँ र धरानको कथा उस्तै देखिन्छ। दुवै ठाउँका जनताले वडाध्यक्ष विभिन्न राजनैतिक दलकालाई अगाडि बढाउँदै गर्दा नगर प्रमुख स्वतन्त्रलाई चुने। जनतामा आएको चेतको कारण स्वतन्त्र उम्मेदवार नगर प्रमुख बन्न पाए। निर्वाचित भएसँगै दुवैलाई उत्तिकै चुनौती तेर्सियो। चुनौतीका बावजुत दुवै कुटनीतिक तरिकाले अगाडि बढ्दैछन्।

तर फरक यत्ति हो धरानका जनतालाई पानी खुलाउन साम्पाङ ढुङ्गा फोर्दै अनि फेसबुक अपडेट अत्याधिक गर्दैछन् भने बालेन सामाजिक सञ्जालमा नभुली उकुसमुकुस र दुर्गन्धित काठमाडाैँलाई हराभरा बनाउन लागिपरेका छन्।

सुरुका दिनमा मेयर हर्कको खुलेर समर्थन गर्ने, प्रशंसा गर्ने फेसबुक प्रयोगकर्ता ज्वाला संग्रौला, भीम उपाध्यायहरु आजभोलि सामाजिक सञ्जालमा साम्पाङलाई व्यंग्यात्मक शैलीमा जिस्काउँदै गरेको देखिन्छ। ज्वालाले त प्रतिक्रिया दिँदै साम्पाङ दिमागी बिरामी भएको हुँदा उपचार गराउन पनि सुझाव दिएकी छन्। उपाध्याय र संग्रौला एक उदाहरण मात्रै हुन्।

पछिल्लो समय काठमाडाैँ नगर प्रमुखप्रति लक्षित गर्दै आउने उनका विचारले उनी आफैँ खस्किन लागेको आभास पनि गराउँदछ।

हजारौं समर्थकले अर्को नगर प्रमुखको विरुद्धमा बोल्नु उनले बाटो बिराउन लागेको संज्ञा दिएका छन्। धरानका नगर प्रमुखलाई आफ्नो पद आफैँलाई भारी भएको जनाउ दिइरहेका छन्, जुन दुःखद पक्ष हो।

साम्पाङको फेसबुक क्रेजबाट वाक्क भएका उनका समर्थकहरुले अचेल खिसिट्युरी गर्दै ‘हर्के’ लेखेको देखिन्छ। यसले आफैं आफ्नो अस्तित्व गिराएको प्रस्ट हुन्छ। यसमा उनी सचेत हुनु जरुरी छ।

वैदेशिक रोजगारको समेत राम्रो अनुभव सम्हालेका हर्क साम्पाङ राई कर्मशील नगर प्रमुख हुन्, यसमा दुईमत नै छैन तर तरिका सोहीअनुरूप हुन सकेन, लैजान सकेनन्। जनताको लागि आफैं मैदानमा खटेर काम गर्नु, वडाध्यक्षलाई हाक्काहाक्की गलत गर्दै हुनुहुन्छ भनेर गाली गर्नु उनको सशक्त पक्ष हो।

सामाजिक सञ्जाल फेसबुक, टिकटकमा आउने नगर बैठकमा हुने अवरोध र त्यसका विरुद्ध उनको प्रतिवादले उनको उचाइ माथि पुर्याएको थियो।तर पछिल्लो समय अर्को स्थानको नगर प्रमुखलाई कटाक्ष गर्दै लेखिने स्टाटस, भिडियोले उनको साख गिराउँदै लगेको छ।

धरान उपमहानगरलाई विदेशबाट विभिन्न सहयोग गर्नेहरूले पनि पछिल्लो गतिविधिबाट वाक्क बनेर केटाकेटी बानी हटाउन साम्पाङलाई सुझाव दिएका छन्।

धरान नगर प्रमुखको फेसबुक क्रेज अत्यधिक हुनु राम्रो होइन। त्यसमा पनि नगर प्रमुख जस्तो व्यक्ति, जसले नगर विकासको लागि चिन्तित रहनु पर्दछ। नीति नियम बनाएर विकासका परियोजना अगाडि सार्नुपर्छ।

विभिन्न संयन्त्र बनाएर सबैलाई जिम्मेवारी बाँडफाँट गरेर नगरको विकासको लागि काम गर्नु पर्दछ। तर यी सबै कुराहरुभन्दा पनि अलि पर रहेर सामाजिक सञ्जालमा मोह बढाउँदै लैजानु एक प्रमुखको काम कर्तव्य पक्का होइन। यसतर्फ बेलैमा सोचेर हर्क साम्पाङ राईले आफूलाई परिवर्तन गर्न सकुन्। हजारौं प्रतिक्रियाको पछाडि नलागी आफ्ना समर्थक, अनुयायी नगुमाउन्। बेलैमा ध्यान जाओस्।

प्रकाशित मिति: : 2022-08-31 21:40:00

प्रतिकृया दिनुहोस्