बाबासँग बिताएका ती दिनहरू...

एकाबिहानै फेसबुक खोलेर हेरेँ, सबै जनाले ‘हेप्पी फादर्श डे’ भन्दै आफ्ना बुबाको फोटो राखेका रहेछन्। त्यो देखेर मनमा चिसाे पस्याे। सायद बाबा मेरो साथमा नभएर होला। ‘बुबाको मुख हेर्ने’ दिन आउँदा मलाई साह्रै नरमाइलो लाग्छ।

अरूले आफ्ना बाबालाई  ‘हेप्पी फादर्श डे’ भनेर सम्मान गर्दा म कसलाई गरू? मेराे बाबा त याे दुनियाँमा हुनुहुन्न। जब कसैले बाबा भनेर सम्बाेधन गर्छन्, धमिलिदैँ गएका ती यादहरू ताजा भएर आउँछ।

मलाई सहि बाटाे देखाउने मेरा बालाई सम्झदा भावुक हुन थाल्छु अनि बाबासँग बिताएका पलहरूलाई याद गर्न थाल्छु।

म सानु छँदाकाे त्याे दिन मलाई अझै याद छ, बाले मलाई तातेताते भनेर हिँडाउनु भएकाे, बाकाे खुट्टामा लक्कु खेल खेलेकाे, मामा घर जाँदा उकालाेमा बाबाले मलाई पिठ्यूँमा बाेक्नुभएकाे। भान्सा काेठामा आमासँग खेल्दै गर्दा बाले 'ओए कान्छा' भनेर बाेलाउनु हुँदा दाैडिएर लडेकाे अनि मैले फटाइ काम गर्दा बाले मलाई स्नेहले भरिएका हातले मेरो कान निमोठेकाे क्षण मलाई सबै याद छ।

मेरा बाबाले झाेलामा माक्सवाद, लेलिनवाद, माओवादका किताबहरु बाेकेर हिड्ँनु  हुन्थ्याे। त्यतिमात्रै हाेइन उहाँले संकटकालमा एक धोक्रा राता किताब पुलिसको आखाँ छल्न तारे भिरमा लुकाउनु हुन्थ्याे।

मेरा बाले दिनभरी काम गरेर थाकेका गाउँलेहरुलाई समाजवाद, साम्यवाद र नयाँ जनवादका कुराहरु सिकाउँदा म पनि त्यहीँ भिडमा रुमल्ली रहेको हुन्थेँ।   

बाबाले हामीलाई छाडेर जानुभएको एक दशक धेरै भइसक्यो। तर जब म मेरो बाबालाई सम्झन्छु, भावुक हुन थाल्छु। अनि विगतका रमाइला पलहरू स्मरण गर्न थाल्छु।

घरको कान्छो छोरो भएकाेले सबैको प्याराे मनै थिएँ। मेरो खुसीका लागि मेरा बाबाले कत्ति बलिदान दिनुभयो। त्यसको त कुनै गन्ती नै छैन। म मेरो बाबालाई धेरै माया गर्छु, त्यसैले त जब उहाँलाई सम्झिएर भावुक हुन्छ, तब सपनामा उहाँलाई नै प्रत्यक्ष देख्छु। अनि निराश भएको मेरो मुहारमा छुट्टै खुसी मिल्छ। 

हामीबीच हाम्रो बाबा हुनुहुन्नँ तर उहाँको उपस्थिती सधैँ हाम्रो मनमा रहिरहनेछ। मेरो बाबाले कहिलेपनि आफ्नो बारेमा सोच्नुभएन। सधैँ छोराछोरीको भविष्यलाई लिएर चिन्ता गर्नुभयो। आफूले जत्ति दुख सहेपनि हामीलाई कहिले दुख दिनुभएन। तर सुख पाउने बेलामा बाबाले हामीलाई छाडेर जानुभयो। मलाई दुख यहीँ कुराको छ, कि बालाई हामीले सुख दिन सकेनौँ। 

मेरा बालाई मैले मेरा सफलताको कुरा सुनाउन पाइनँ। मलाई दुख लाग्छ कि बाबासँग मैले धेरै समय बिताउन पाइनँ। त्यहीँ कुराले सताइहेकाे मलाई बाबाको कमी महसुस हुन थाल्छ। बाबा तपाईं हाम्रो साथमा हुनुहुन्न तर पनि ‘हेप्पी फादर्श डे’ है।

 

प्रकाशित मिति: : 2022-08-27 22:25:00

प्रतिकृया दिनुहोस्