मिटर ब्याजको जालो : सम्पत्ति सकियो तर सकिएन ऋण

लिएको ऋण तिर्दा सम्पत्ति सकियो। तर मिटर ब्याजले ऋण नसकिँदा पीडितहरु मर्नु न बाँच्नुको अवस्थामा छन्।

‘म त एक पटक मर्छु भनेर पनि आँट नगरेको होइन। ऋण तिर्दा-तिर्दा भएको सम्पत्ति सकिएपछि के गर्ने त विकल्प केही नहुने रहेछ। सम्पत्ति सकियो, ऋण नसकिएपछि साहुको टर्चर (यातना) सहनुभन्दा मर्छु भन्ने सोच गरेकी थिएँ’, घोराही–१० नारायपुरकी सीमा विक घमालले भावुक हुँदै आफ्नो पीडा सुनाइन्।

मिटर ब्याजमा लिएको ऋण तिर्दा अहिले उनको सम्पत्ति सकिएको छ। घर परिवारसँग सम्बन्ध बिग्रिएको छ। अरुकहाँ बास माग्ने अवस्थामा सीमा पुगेकी छन्। जसले उनलाई मर्नेसम्मको सोच बनाउन बाध्य बनाएको छ।

‘मिटर ब्याजले गर्दा मेरो व्यापार डुब्यो। घर परिवारसँग सम्बन्ध बिग्रियो,’ उनले भनिन्, ‘अहिले अंकलसँग बास मागेर बसेकी छु। मर्छु भन्ने सोच बनाएको पनि अरुले सम्झाएपछि बाँचेकी छु।’

कस्मेटिक पसल गर्दै आएकी सीमाले पसलमा सामान राख्नका लागि २०७८ काे असारमा गाउँकै एक महिलासँग २ लाख रुपैयाँ ऋण लिइन्। एक महिनामा दुई लाखको ब्याज ६० हजार तिर्ने गरी उनले ऋण लिएकी हुन्। कार्तिकमा ६० हजार ब्याज पनि तिरिन्। त्यसपछि उनले सोही महिलासँग पटक–पटक गरी ४ लाख ४५ हजार ऋण लिइन्। उक्त ऋणको ९ लाख बुझाए पनि ऋण तिर्न बाँकी रहेको भन्दै उनलाई अहिले ती महिलाले धम्की दिने गरेकी छन्।

‘मैले ४ लाख ४५ हजारको ९ लाख बुझाइसकेँ। तर अझै मेरो ऋण सकिएको छैन भनेर उनीहरुले धम्काइरहन्छन्,’ सीमाले भनिन्, ‘मेरो नागरिकता, हस्ताक्षर गरेको प्रभु र कुमारी बैंकको खाली चेक लगेका छन्। जहाँ भेट्यो त्यहिँ धम्क्याइरहन्छन्।’

०००

सीमा जस्तै सोही महिलाबाट घोराही–१० नारायणपुरकै किमा कुँवर देवकोटा पनि मिटर ब्याजको ऋणमा फसेकी छन्। उनले गएको असोजमा ३ लाख रुपैयाँ ऋण लिइन्। ३ लाख रुपैयाँ ऋण लिँदा प्रतिमहिना एक लाखको २० हजार ब्याजस्वरुप ६० हजार काटियो। उक्त ऋण तिर्न उनले आफ्नो र छोरीको सुनको सिक्री बचेर ३ लाख दिइन्।

फेरि १ लाख रुपैयाँ ऋण लिइन् र त्यसको पटक–पटक गरी ७० हजार ३५, १५ गरी १ लाख २० हजार रुपैयाँ दिइसकेकी छिन्। तर अझै पैसा तिर्न बाँकी रहेको भन्दै साहुले धम्काउने गरेको किमाले बताइन्। ‘मैले पैसा दिइसकेकी छु। तर प्रहरीमा लग्छु भन्दै धम्की दिन छाडिएको छैन।’ उनले भनिन्।

०००

घोराही–६ की उषा नेपाली पनि मिटर ब्याजको फन्दामा पर्दा घरबास नै गुमाउनु परेको छ। उषाको कपडा सिलाउने पेशा थियो। जसोतसो घर परिवार त्यही पेसाबाट बाँचिरहेको थियो। तीन वर्षअघि उनका श्रीमान् एकाएक बिरामी परे। श्रीमान्को उपचार गर्न र घर बनाउँदा लागेको ऋण तिर्न भनेर उषाले आफन्ती ढाटी दमाईबाट आठ लाख रुपैयाँ मिटर ब्याजी ऋण ल्याइन्। ऋण दिँदा ढाटीले घर कागज गर्नुपर्ने सर्त राखिन्।

आठ लाख रुपैयाँ ल्याएको मिटर ब्याज चार वर्षमा बढेर २५ लाख पुग्यो। उषाले घर बनाउँदा ल्याएको त्यही ऋणले घर नै लिलामी हुने अवस्था पुग्यो। चर्काे ऋण तिर्न नसकेपछि डेढ वर्षअघि उनले बस्दै आएको घरसमेत छोड्नुपर्याे। आफन्तीबाटै मिटर ब्याजीको फन्दामा परेपछि उनको परिवार अहिले घर न घाट भएको छ।

‘ऋण तिर्न नसकेपछि घरमै आएर दिनदिनै धम्क्याइरहन्थे’, उनले भनिन्, ‘घरमा बसी सक्नु नभएपछि घरै छाडेर हिड्यौं।’ अहिले उनको छोरा–बुहारी भने आफ्नै घरमा कोठा भाडा तिरेर बसिरहेका छन्। ऋण दिएकी ढाटी दमाइ भने आफूले तोकेको पैसा नतिरी घर फिर्ता नदिने अडान लिएकी छन्।

०००

माथिका दृष्टान्त उदाहरण मात्र हुन्। दाङ जिल्लामा मोटो रकम मिटर ब्याजमा लगानी गरेर सर्वसाधारणबाट आर्थिक लाभ लिनेहरु मौलाएका छन्। गाउँ–गाउँमा मिटर ब्याजको फन्दामा पर्दा पीडितहरु सम्पत्ति गुमाएर घरबासविहीन हुनु परेको छ।

लघु वित्तिय तथा मिटर ब्याजी संघर्ष समितिका अनुसार दाङमा मात्रै सम्पर्कमा आएका ५ हजार बढी पीडित छन्। ‘मिटर ब्याजको फन्दामा परेर घरबारविहीन र कतिपयले आत्महत्या गरेका छन्’, मिटर ब्याजी पीडित संघर्ष समितिकी संयोजक रहेकी पार्वती नेपाली भन्छिन्। तर पीडितले भने थोरैले उजुरी दिएको उनले बताइन्।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले मिटर ब्याजको जालो भित्रभित्र मौलाए पनि उजुरी भने कम आएको बताए। उनले सुरुमा दुवै पक्षबीच गैरकानुनी रुपमा रकम लिने सहमति गर्ने र समस्यामा परेपछिमात्र एउटा पक्ष प्रहरी कहाँ आउने गरेको बताए।

मिटर ब्याजी घटनामा ऋण दिँदा सुरुमै तमसुक जस्ता कागज गराउने र पीडितसँग प्रयाप्त प्रमाण नुहँदा समस्या भइरहेको गौतमले जनाए।

‘ऋण दिनेसँग तमसुक गरेका प्रमाण छन्’, उनले भने, ‘तर पीडितसँग कानुनी प्रक्रियाका लागि चाहिने प्रमाण हुँदैन।’ यस्तै कारणले पनि प्रमाण अभावमा मिटर ब्याजीका दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन समस्या हुने गरेको उनको भनाइ छ।

प्रकाशित मिति: : 2022-08-25 11:38:00

प्रतिकृया दिनुहोस्