दूषित पानी : यसरी लिँदैछ भित्रभित्रै महामारीको रुप

Breaknlinks
Breaknlinks

साढे छ लाख जनसंख्या रहेको दाङका ८० प्रतिशत नागरिक दूषित पानी पिउँछन्। यसले भित्रभित्र महामारीको रुप लिइरहेको छ।

दाङको सिमावती क्षेत्र राजपुर गाउँपालिका–७ सुनगजमरीमा भदौ २ गते झाडापखालाको महामारी फैलियो। सिंगो गाउँमै महामारी फैलिएपछि १७ जना बिरामी भए। ५ जना सिकिस्त बिरामी परे। महामारीमा ७ वर्षीया बालिका सम्झना परियारले ज्यान नै गुमाइन्।

गाउँमा स्वास्थ्यकर्मी पुगेको तीन दिनपछि मात्र झाडापखाला नियन्त्रणमा आयो। झाडापखाला फैलनुको कारण थियो– दूषित पानी। राजपुरका स्वास्थ्य शाखा प्रमुख कमलबहादुर रोकायाले गाउँका मानिसहरुले दूषित पानी पिउने गरेकाले झाडापखालाले महामारीको रुप लिएको बताए।

‘गाउँमा शुद्ध पानी छैन, कुवा र खोलाको दूषित पानीले झाडापखाला फैलिएको देखिन्छ’, उनले भने। सीमानाका गाउँहरुमा पानीको अभाव भएकाले वस्तुभाउ र मानिसले खाने पानी एउटै कुवाको भएपछि झाडापखाला फैलिएको हो।

०००

चार वर्षअघि दाङकै शान्तिनगर गाउँपालिका वडा नं ३ र ४ मा झाडापखालाले महामारीको ठुलो रुप लियो। महामारीमा दुईवटा वडाका १५ सयभन्दा बढी बिरामी परे। महामारीले कतिसम्म ठुलो रुप लियो भने बिरामीलाई गाउँमै उपचार गर्न सम्भव भएन। महामारी नियन्त्रण गर्न बिरामीलाई उपचारका लागि तुलसीपुर, घोराही र नेपालगञ्जसम्म लैजानु पर्यो। संयोग भनौं हप्तादिनपछि जसोतसो महामारी नियन्त्रणमा आयो र कुनै पनि बिरामीले ज्यान गुमाउनु परेन।

२०७५ सालमा मात्रै हैन, यस गाउँमा २०६१ सालमा समेत झाडापखालाले महामारीको ठुलो रुप लिएको थियो। त्यसबेला एकै गाउँका तीन जनाको मुत्यु भएको थियो भने चार सय बढी बिरामी परेका थिए। शान्तिनगरमा महामारी फैलनुको कारण पनि दूषित पिउने पानी नै थियो।

दुई पटक महामारीको प्रकोप झेलेको शान्तिनगरमा अहिले पनि शुद्ध पिउने पानी छैन। त्यहाँका नागरिक अहिले पनि मुहानकै दूषित पानी पिइरहेका छन्। आजसम्म पनि दूषित पानी पिउनुपर्ने भएकाले सधैँ महामारीको डर रहने स्थानीय भिम कँडेल बताउँछन्। ‘पानीको मुहान अहिले पनि दूषित छ’, उनले भने, ‘यहाँ जहिले पनि महामारीको डर छ। अहिले पनि पानी उमालेर खाइरहेका छौं।’

दूषित पिउने पानीले दाङमा कसरी भित्रभित्र महामारीको रुप लिइरहेको छ भन्ने माथिका दृष्तान्तले देखाउँछ। हुन पनि साढे छ लाख जनसंख्या भएको दाङका ८० प्रतिशत नागरिक शुद्ध खानेपानीको पहुँच बाहिर छन्। खानेपानी डिभिजन कार्यालय दाङले जिल्लाका कुल जनसंख्यामध्ये १५ देखि २० प्रतिशतले मात्र शुद्ध पिउने पानी पिउने जनाउँछ। बाँकी संख्या शुद्ध पानीको पहुँच बाहिर छन्। यति ठुलो संख्या शुद्ध खानेपानीको पहुँच बाहिर हुनुले जिल्लामा महामारीको जोखिम रहेको देखाउँछ।

०००

यता, महामारी जस्ता संक्रामक रोगहरुको मुख्य कारण दूषित खानेपानी भएको स्वास्थ्य कार्यालयले बताउँछ। अहिले पनि जिल्लामा पानीकै कारण लाग्ने झाडापखाला, टाइफाइडलगायत रोगका कारण नागरिक ज्यान गुमाउन बाध्य छन्। नेपाल खुल्ला दिसामुक्त देश हो। तर दिशमा पाइने किटानु अहिले पनि जिल्लाका खानेपानीका मुहानमा पाइने गरेका छन्।

स्वास्थ्य कार्यालयले गएको असार महिनामा जिल्लाका दुई खानेपानीको ट्यांकीमा गरेको पानीको गुणस्तर मापनमा दिशामा पाइने किटानु पाइएको थियो। यद्यपि यी दुई खानेपानी सुरक्षित खानेपानी भनिएको थियो।

अहिले जिल्लाका लाखौँ नागरिक साधारण पानी पिउँछन्। यसले जुनसुकै समयमा पनि झाडापखालालगायतको महामारीको जोखिम रहेको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाही बताउँछन्।

अस्पतालमा दैनिकजसो झाडा पखालाका बिरामी आउने गरेको स्वास्थ्यकर्मी बताउँछन्। स्वास्थ्य कार्यालय दाङको तथ्यांकले पनि जिल्लामा बर्सेनि झाडापखाला, टाइफाइड, हेपाटाइटिस जस्ता रोगहरुले महामारी र संक्रमणको रुप लिन सक्ने देखाउँछ। तीन वर्षको तथ्यांकअनुसार जिल्लामा गैर संक्रामक झाडापखालाका बिरामीहरु बढेको देखिन्छ।

जसअनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा १३ हजार ८५८ जना बिरामी परेका छन्। यो पछिल्लो ती वर्षमा २ हजार बढी बिरामी संख्या हो। आर्थिक वर्ष २०७७/०७८ मा झाडापखालाका बिरामी जिल्लामा १२ हजार ९०३ र आर्थिक वर्ष २०७६/०७७ मा ११ हजार ९५१ रहेको थियो। क्रमिक रुपले जिल्लामा झाडापखालाका बिरामी बढ्नु महामारीको जोखिम देखिनु हो।

पानीको गुणस्तर नै मापन हुँदैन

दाङमा पानीको नियमित गुणस्तर मापन हुने गरेको छैन। गएको दुई वर्षमा जिल्लामा पानीको गुणस्तर नै मापन हुन सकेन। स्वास्थ्य मापदण्डअनुसार चौमासिक रुपमा पानीको गुणस्तर मापन गर्नुपर्ने हुन्छ। पानीको गुणस्तर मापनका लागि गएको दुई वर्षमा बजेट अभावमा मापन गर्न नसकिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीले बताए।

यस आर्थिक वर्षमा भने प्रदेश सरकारबाट बजेट आएको र केही समयपछि जिल्लाका सबै पालिकामा पानीको गुणस्तर मापन गरिने उनले बताए।

स्वास्थ्य मापदण्डअनुसार मुलदेखि मुखसम्म पानीको गुणस्तर मापन भएमात्र पानी पिउनका लागि उपयुक्त मानिन्छ। तर जिल्लामा फिल्टर गरिएको पानीमासमेत बेलाबेलामा प्रश्न उठिरहेको हुन्छ।

अहिले जिल्लामा गुणस्तरीय पानीका आयोजनाहरु करिब ५-७ वटा मात्र रहेको र अन्य पानीका आयोजनाहरु सिधै मुलको पानी ट्यांकीमा खसालेर खाने गरिएको छ।

प्रकाशित मिति: : 2022-08-24 15:25:00

प्रतिकृया दिनुहोस्