उमेरले साठी पुगेकी ज्वाला बाेहाेराले हातमा गुटुमुटु पारेकाे पर्चा फाल्दै भनिन्, 'ओक्ताे (औषधि) नपाया पै याे चाेइट्या पर्चा राखी क्या गर्न्याछु। न्यै रहला। औषधिका बिया न्या आयाैं। लेखाैंदाे गाई भुइँसा त्यसै छाेड्याका छन्। त्यस्सै भयाे न्या(शिविरमा) आयाकाे।'
निराश हुँदै घर जान लागेकी उनलाई एकजना युवाले साेधपुछ गरे। उनले भिडभाडदेखि उचाट लागेकाे बताइन्। त्यसपछि ती युवा भुइँमा खसेकाे पर्चा उठाएर औषधि दिने ठाउँ गए। केहीबेरमा औषधि लिएर ज्वालाकाे हातमा पारे।
एकछिन अगाडि बादल लागेजस्ताे अनुहार लाएकी उनकाे मुहारमा घाम लाग्याे। हर्षका शब्द खसालिन्, 'औषधि पाइएला भनी आयाकाे नपाया खुसी हुँदा हुँ त!'
उमेर ढल्केका, लाइन लाग्न नसक्ने, अशक्तलाई ती युवा सजिलै औषधि उपलब्ध गराउँथे। पाका उमेर समूहका खुसी हुन्थे। उनीहरुकाे मुहार खुसी ल्याइदिने ती युवा थिए, तिलागुफा नगरपालिकाका उपमेयर महेन्द्रबहादुर शाही।
याे दृश्य थियाे, तिलागुफा नगरपालिकाले वडा नम्बर चार राँचुलीमा सञ्चालन गरेकाे नगर अस्पतालकाे। जहाँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सक लगेर नगरपालिकाभरिका बिरामीकाे स्वास्थ्य जाँच गर्ने, औषधि लेख्ने र जटिल समस्या भएका बिरामीलाई थप उपचारका लागि प्रतिष्ठान बाेलाउने गरिएकाे थियो।
डाक्टरले जाेडिएका अंग्रेजी अक्षर लेखेर दिएकाे पर्चा बाेकेका थिए, कालिकाेट सियाला चिलखायाका कलिमने कामीले।
देउता हेराउन राँचुली आएकाे बेला उनले डाक्टर फेला पारे। नाफाकाे जिन्दगी जिइरहेका अर्थात कर्णालीकाे औसत आयुलाई जितेर ७० वर्ष पुगेका उनलाई उकालाे हिँड्दा दम लाग्छ। बसेपछि उठ्न सक्दैनन्, उठेपछि बस्न सक्दैनन्।
'जिउमा थाेरै ऐठन भयाे कि धामी हेराउन जाँदाछाैँ। धामीले नाडी छाम्याे कि हामी सन्चाे हाेइजाला जस्ताे मान्छाैं,' उनले भने, 'बीसकाे एक्काइस हुँदैन। देउता हेराउन जाँदाजाँदै मान्ठ मरिजान्छ। त्यहाँ जानुबाहेक अर्काे उपाया पुनि नाई।'
उनका शब्दमा विकट बस्तीकाे दृश्यलाई उनिएकाे देखिन्थ्यो। ती शब्दले बुनेकाे चित्र साह्रै दर्दनाक छ। गाउँठाउँका मान्छे बिरामी भए धामीकाेमा जान्छन्। थानमा देउता बसाल्छन्। हातखुट्टा भाँचिए, काप्रा लगाउँछन्। त्यसैकाे शिकार भएर हात दुखिरहन्छ, ज्वाला बाेहाेराकाे।
तर, अब समय बदलिएकाे छ। यही ठाउँमा तिलागुफा नगरपालिकाले नगर अस्पताल सञ्चालन गरेकाे छ। जहाँ प्रतिष्ठानले एमबीबीएस डाक्टर उपलब्ध गराएकाे छ भने नगरले हरेक महिनाकाे एक दिन विशेषज्ञ चिकित्सक बाेलाएर सेवा दिने गरी समन्वय गरेकाे छ।
यही माैकाकाे फाइदा उाएका थिए कलिमनेले। जीवनकाे उत्तरार्धमा डाक्टरले लेखेकाे औषधि हात पारेपछिकाे उनकाे खुसी देखिसाध्य थिएन।
खुसीकाे सिमा नघाएर उनी बाेले, 'दिन जमान अहिले पाे आया त! घरैती डाक्टर आएर औषधि दिएपछि अरु दिन बाँचुला भनी आश मान्याकाे छु।'
घर नजिकै डाक्टर आएर उपचार गर्दा नगरका ११ वडाका मान्छे सहभागी थिए। तीमध्ये अधिकांशलाई राेगकाे उपचार भएको भन्दा बढी खुसी डाक्टर आएकाेमा मिलेकाे थियाे। तीमध्ये एक हुन्, ८० पुग्न दुई वर्ष बाँकी रहेकी धनसाेवा शाही। उनकाे घर तिलागुफाकै छाप्रेमा छ। उनले गाउँमै डाक्टर आएकाे देखेर आफैँले पालेर राखेकाे दम राेगकाे असर कम भएजस्ताे मानिन्।
'डाक्टर आउन्या छन् भनी आयाकी हुँ। हर्सले असर कम भयाकाे जस्ताे मानेकी छु,' उनले उत्साहित हुँदै भनिन्, 'राेग त मस्तै पालेर बस्याकी छु। पेट दुख्दाे छ। दम छ। आँखा राम्मरी देख्दिनँ। अब डाक्टर आयाका छुन। भलाे हाेइत जाला साेच्दैछु।'
उनीजस्तै उनकै गाउँकी हुन्, छत्ता शाही। साठी वर्षकी उनलाई आँखाकाे समस्या छ। 'उस्ताे असर परेकाे नाई। आँखा नापा देख्दिनँ। डाक्टर आयाका छुन। सन्चाे हाेइजाला।'
यसरी शिविरमा आउने धेरैजसो मान्छे डाक्टर आएकाेमा खुशी थिए। त्याे भन्दा बढी खुशी औषधि पाउनेहरु थिए। यसरी नै जनताकाे घरघरमा खुसी ल्याउने गरी लाग्नु नै प्रमुख उदेश्य भएको उपमेयर शाहीले बताए।
'संविधानकाे माैलिक हकमा स्वास्थ्य नि:शुल्क भनिएकाे छ। तर, जनताले पाउन सकेका छैनन्,' उनले भने, 'हामी तिलागुफाका जनतालाई स्वास्थ्य राख्न चाहन्छौं भने देशकाे मुल कानुनकाे मर्मलाई व्यवहारमा उतार्न चाहन्छाैं।'
तिलागुफाले अब हरेक महिना स्वास्थ्यसँग उपप्रमुख नि:शुल्क शिविर कार्यक्रम राख्ने गरी याेजना बनाएकाे छ। याेजनालाई व्यवहारमा उतार्न राँचुलीमा पहिलो पटक भव्य कार्यक्रम गरिएकाे थियाे। उपप्रमुखकै समन्वय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता गरी नगर अस्पतालमा सधैंभरि एकजना डाक्टर उपलब्ध गराइने भएकाे छ।
पहिलाे पटक सुरु गरिएकाे नि:शुल्क शिविरमा तीन सय ८७ जनाले सेवा लिएका छन्। जसमध्ये आँखा, नाक, कान, घाँटी, स्त्रीरोग र नसा तथा हाडजोर्नीका बिरामी बढी देखिए। केही तत्काल उपचार गर्नुपर्ने बिरामीलाई जुम्ला बाेलाइएकाे छ।
शिविरमा आफैँ उपस्थित भएका प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले कर्णालीका हरेक पालिकासँग सहकार्य गरी स्तरीय सेवा दिन तयार रहेकाे बताए।
'हामी कर्णालीमा स्तरीय स्वास्थ्य सेवाकाे तयारी गरिरहेका छाैं। त्यसका लागि सबै जिल्लाका स्थानीय तहहरुमा विशेषज्ञ चिकित्सक पुगाउन सक्ने भएका छाैं,' उनले भने, 'विकट बस्तीमा डाक्टर पुग्न सके मात्रै कर्णालीकाे स्वास्थ्य सेवा प्रभावकारी हुन सक्छ।'