केही वर्ष अघिसम्म ‘धर्मनिरपेक्ष’ भारतलाई हिन्दु राष्ट्रको दिशामा लैजाने कुरा कसैले गर्दा संविधानको आधारमा यो केवल काल्पनिकमात्रै लाग्दथ्यो।
आज भारतको स्वाधीनताको ७५औं वर्षमा हिन्दु राष्ट्रको परिकल्पनामाथि लुकेर होइन, खुलेर सञ्चारमाध्यममा कुरा हुन थालेको छ। भाषण दिइँदैछ र भिडियो बनाइँदैछ।
हालै भाजपाका हरियाणाका एक विधायकले भारतलाई हिन्दु राष्ट्र बनाउने संकल्प लिए। बिहारबाट पनि भाजपाले हिन्दु राष्ट्र बनाउनुपर्ने माग गरिरहेको छ।
राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस) प्रमुख मोहन भागवत भन्छन्, ‘भारत हिन्दु राष्ट्र हो र यसमाथि बहस हुन सक्दैन।’
गोवामा सम्पन्न अखिल भारतीय हिन्दु राष्ट्र अधिवेशनका आयोजक हिन्दुत्व संगठन ‘हिन्दु जनजागृति समिति’ ले सन् २०२५ सम्म हिन्दु राष्ट्रको स्थापना भइसक्ने बताएको छ।
हिन्दु राष्ट्र बनाउन कानुनी, सामाजिक रूपले पेचिलो छँदैछ, यस मागलाई अगाडि बढाउन हिन्दुत्ववादी संगठन र नेताहरूले महत्वपूर्ण भूमिका वहन गरिरहेका छन्।
यस्ता संगठनहरूको संख्या पछिल्लो समय बढेको छ। तर कति थपिएको छ, यसबारे कुनै आँकडा उपलब्ध छैन।
नियमित गतिविधि, विवादित र साम्प्रदायिक भाषणका कारण हिन्दुहरूबीच प्रासंगिक बनिरहनु यी समूहहरूको प्रयास रहने गरेको छ। आफ्नो कुरा आममानिससम्म पुर्याउन सामाजिक सञ्जालको प्रयोग र सञ्चारमाध्यमको प्राइम टाइममा पकड बनाउन उनीहरू जानकार छन्।
कतिपय अवस्थामा उनीहरूलाई ‘फ्रिन्ज गुट’ र ‘सेडो आर्मी’ भन्ने गरिएको छ, जसको असर सीमित छ। तर यो समूह मुख्यधारामा रहेको तर्क पनि हुने गरेको छ। समाजमा धर्मका नाममा कट्टरतालाई अगाडि बढाइरहेका छन्।
हिन्दु समाजको सोचलाई राम्ररी प्रभावित गरिरहेका छन्। हरेक धर्मका यस्ता कट्टर समूहको भूमिका र काम गर्ने तरिका यसै खालको रहने गरेको छ।
आखिर यी गुटहरू फस्टाउँदा राजनीतिक लाभ कसले लिइरहेको छ? यस्ता ‘फ्रिन्ज’ संगठनहरूको स्वीकार्यता आम जीवनमा कसरी बढोत्तरी हुँदै गयो?
पत्रकार एवं लेखक धिरेन्द्र झा लामो समयदेखि हिन्दुत्ववादी विचारधाराको बढ्दै गइरहेको पकडमाथि काम गरिरहेका छन्।
आफ्नो किताब ‘सेडो आर्मीज फ्रिन्ज अर्गनाइजेसन एन्ड फुट सोल्जर्स अफ हिन्दुत्व’ मा उनले लेखेका छन्, ‘पछिल्लो तीन दशकमा भारतमा हिन्दुत्वको राजनीति व्यापक ढंगबाट बलियो भएको छ। भारतीय जनता पार्टीमात्रै नभएर यसको छायामा काम गरिरहेकाहरू पनि महत्वपूर्ण भूमिकामा आइसकेका छन्।’
उनकाअनुसार राष्ट्रिय स्वयंसेवक संघ जस्ता संगठनहरू यसै खाले राजनीतिको अगुवाइ गरिरहेका छन्।
‘यिनीहरू सबै एउटै उद्देश्यका साथ काम गरिरहेका छन्। हिन्दुहरूले विशेष अधिकार पाउन् र उनीहरू राष्ट्रिय पहिचानलाई परिभाषित गरून्,’ उनले किताबमा लेखेका छन्।
हिन्दुत्वको कुरा गर्ने सबै हिन्दुत्व गुटको आरएसएससँग सिधा सम्बन्ध नभए पनि एजेन्डा भने उसैसँग प्रभावित रहेको आरोप लाग्दै आइरहेको छ।
आरएसस विचारक र सांसद राकेश सिन्हा यस्ता आरोपलाई अस्वीकार गर्छन्। उनी भन्छन्, ‘१३० करोडको देशमा विविधताका कारण आपसमा विरोधाभास छ। त्यसले गर्दा छिटपुट समस्या पनि आइरहेको छ। केही संस्थाहरूलाई साइनबोर्डका अतिरिक्त, केही सदस्यबाहेक अरू कसलाई मान्छेले चिनेका छन्।’
त्यस्ता अधिकांश संगठन र तिनका सदस्यहरूलाई धेरैले नचिनेको उनको भनाइ छ। ‘कसले चिनेका छन्? उनीहरूको समर्थनमा को खडा भइरहेको छ? इलेक्ट्रोनिक मिडिया नभइदिएको भए ती संस्थाहरू दुनियाँसम्म पुग्नै सम्भव थिएन। यो त मिडिया विमर्शको आफ्नै दोष हो। यसका लागि राष्ट्रिय स्वयंसेवक संघ कसरी दोषी भयो,’ उनी भन्छन्।
राजनीतिको क्यनभासमा सीमित मानिस देखिए पनि आफ्नो विचारधारालाई आममानिससम्म ल्याउन कुनै पनि हतकन्डा अपनाउन र त्यसका लागि कुनै पनि मूल्य चुकाउन तयार रहन्छन्।
यस्ता मानिसहरूको लामो सूचीमध्येका एक हुन्, बजरंग मुनी। उनी खैरावादस्थित महर्षि श्री लक्ष्मण दास उदासी आश्रमका महन्त छन्।
केही महिनाअघि बजरंग मुनिको एउटा भिडियो भाइरल भएको थियो। जसमा उनी मुस्लिम छोरी–बुहारीका साथ बलात्कारको धम्की दिइरहेको देखिएको थियो।
भिडियोलाई लिएर खुबै हंगामा भयो। त्यसपछि मुनिले माफी मागे। अप्रिल महिनामा यस मामिलामा उनले जमानत पाए।
मुस्लिम छोरी बुहारीसम्बन्धी आफ्नो टिप्पणीबारे मुनि भन्छन्, ‘यदि हिन्दु छोरीबुहारीका साथ यसो भए हामी पनि चुप लागेर बस्दैनौं मैले केबल यतिमात्रै भनेकाे हुँ। ती शब्दहरू गलत थियो, म स्वीकार गर्छु। तर, सर्तसहितको थियो।’
मुसलमान र इसाइहरूको नागरिकता अन्त्य गर्ने र जनसंख्या नियन्त्रणसम्बन्धी कानुन बनाउने माग गरिरहेका मुनि भन्छन्, ‘धर्मका आधार पर हाम्रो विभाजन भयो। हामी हिन्दु राष्ट्र पहिलेदेखि हौं।’
२०२१ मा आफूमाथि चक्कु प्रहार भएको उनी बताउँछन्। उनी भन्छन्, ‘ममाथि ९ वटा आक्रमण भयो। चक्कु प्रहार भयो। कुनै मिडियाले केही देखाएन।’
प्रतापगढ जिल्लाको अब्बार गाउँ भएका मुनिका पिता मध्य प्रदेश प्रहरीमा काम गर्दथे। इन्दौरबाट बिबिए गरिसकेपछि २००७ मा कोयम्बटुरमा जेट एयरबेजमा उनले जागिर पाए। त्यहाँ उनको सन्तहरूसँग भेट भयो र विस्तारै हिन्दुत्वतर्फ आकर्षित हुँदै गए।
मुनि अस्ट्रेलिया इसाई मिसनरी ग्राहम स्टेन्स र उनका दुई बच्चाको हत्यासम्बन्धी मामिलामा दोषी ठहर भएका दारा सिंहलाई ‘देवदुत’ ठान्छन्।
मुनि भन्छन्, ‘सेक्युलर मानिसको नजरमा यो गलत हुनसक्छ। जुन व्यक्ति १९ वर्षदेखि जेलमा छन् र उसलाई कुनै पनि हिन्दुले सुखा रोटीसमेत दिइरहेका छैनन्। जेलभित्र प्रताड्ना झेलिरहेका छन्। अरू मानिस भएको भए अर्कै कुरा गर्थे होला। तर, उ चाहिँ जेबाट बाहिर आइसकेपछि धर्मको रक्षा गर्ने भनिरहेका छन्।’