सिक्किमका मुख्यमन्त्री भन्छन्– नेपाली भाषा हाम्रो अनमोल विरासत हो

भारतीय संविधानले नेपाली भाषा मान्यता दिएको अवसर पारेर भारतेली नेपालीले ३१ औं नेपाली भाषा दिवस धुमधामका साथ मनाइरहेका छन्।

सन् १९९२ अगष्ट २० मा नेपाली भाषाले भारतीय संविधानको आठौं अनुसूचीमा राखेर मान्यता दिएसँगै भारतमा बसाेबास गर्ने नेपाली भाषीले भाषा दिवस मनाएका हुन्।

सिक्किमका राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले भाषा दिवसको दिनलाई सम्मान गर्दै राज्य सरकारले औपचारिक विदाको घोषणा गरेको बताएका छन्।

मुख्यमन्त्री तामाङकाे सन्देश जस्ताकाे त्यस्तै–

३१ औं नेपाली भाषा दिवसको शुभ अवसरमा आदरणीय सिक्किमेली जनसमुदायमा साथै विश्वभरी छरिएर बस्नुभएका सम्पूर्ण श्रद्धेय नेपालीभाषी जनमानसमा हार्दिक बधाई अनि शुभकामना चडाउन चाहन्छु।

कुनै पनि जातिको परम्परा, उन्नति, सभ्यता तथा अस्तित्व सोझै त्यस जातिका भाषा–साहित्यमा निर्भर पर्दछ। भाषा आन्दोलनसँग सम्बन्धित भाषा साहित्य विज्ञ अग्रजहरूको जति प्रसंशा गरे पनि कम नै हुन्छ जस्तो मलाई लाग्दछ।

भाषा–संघर्षको लामो समयावधिमा अथक अनि अविरल योगदान पुर्याउनु हुने सम्पूर्ण भाषा प्रेमी महानुभावहरूमा हार्दिक अभिनन्दन चडाउँदै अन्तर हृदयबाट नमन गर्न चाहन्छु। उहाँहरूले गर्नुभएको कठीन परिश्रम आज हाम्रो निम्ति एउटा प्रेरणाको अनमोल श्रोत बनेको छ भने यसरी भाषा सम्बन्धि महत्वपूर्ण दिवसहरूमा उहाँहरूप्रति श्रद्धा र भक्तिरसका धाराहरू अविरल बहने गर्दछन। यतिमात्र होइन, हामीले प्रत्येक अक्षर, शब्द अनि वाक्य उच्चारण गर्दा हृदयभित्र सुक्ष्म रूपले उहाँहरूप्रति कृतज्ञताका भावनाहरू अविरल बहिरन्छन।

हाम्रो भाषा (नेपाली) हाम्रो अनमोल विरासत हो भने यसको रक्षा गर्दै समृद्ध बनाउनु हाम्रो परम कर्तव्य हो। हाम्रा प्यारा भाइबहिनीहरूमा आफ्नु भाषाको उत्थानमा संलग्न रही विविध साहित्यिक विधाहरूमा सदा सकृय रहनुहुन प्रेरणाका साथै हौसला दिन चाहन्छु।

हाम्रो आत्मीय भाषा देशको संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त हुनु भनेको हामी सबैको शिर उच्च हुनु हो। यो महत्वपूर्ण भाषा दिवस अथवा २० अगस्तको दिनलाई सम्मान गर्दै यसपालिदेखि राज्य सरकारले औपचारिक विदाको घोषणा गरेको छ।

आज, भाषा मान्यता प्राप्तिको ३१ औं संघारमा प्रवेश गर्दा, हामीलाई गौरवान्वित महसुस भइरहेको छ, हामी बेहद खुशी छौं। हामीलाई यो खुसी प्रदान गर्नमा परिलक्षित, दिनरात एकगरि खटिनुभएका सम्पूर्ण भाषा–प्रेमी महानुभावहरूमा पुनः हार्दिक कृतज्ञता अनि सादर अभिनन्दन चडाउन पाँउदा म स्वयंलाई पनि सौभाग्यशाली ठान्दछु।

आफूहरू सबैमा आरोग्य, सुख–शान्ति, समृद्धि अनि उत्तरोत्तर प्रगतिको हार्दिक, मंगलमय शुभकामना चडाउन चाहन्छु।

प्रकाशित मिति: : 2022-08-20 06:50:00

प्रतिकृया दिनुहोस्