समाजमा यस्ता उदाहरण छन्, जुन स–साना कुराहरु पूरा नहुँदैमा निराश हुने र आत्मदाहसम्म गर्न पुगेका छन्। तर, समाजमा यस्ता उदाहरण पनि छन्, जसले असम्भव लाग्ने कुराहरु पनि सम्भव बनाइदिएका छन् र समाजलाई सतमार्गमा हिँड्न प्रेरित गरिरहेका छन्। जसमध्ये दाङ तुलसीपुरका दृष्टिविहीन दम्पती हुन्। उनीहरुले अँध्यारोबाट हजारौँलाई उज्यालो प्रदान गरिरहेका छन्।
अँध्यारोमा उज्यालो छर्न कति सम्भव छ ? सायदैलाई लाग्ला सम्भव छ। समाजमा यस्ता उदाहरण छन्, जसका संसार देख्ने आँखा छन्। सुन्ने कान छन्। हिँड्डुल गर्न हात, खुट्टा सबै छन्। तर, पनि निराशको भारी बोकेर सम्भवै–सम्भवको बिचमा असम्भव सम्झिरहेका छन् र आत्मदाहासम्मको स्थितिमा पुगेको उदाहरण छन्।
यस्ता उदाहरणको बिचमा असम्भव लाग्ने कामहरुमा पनि सम्भव देख्ने र गर्ने उदाहरण पनि छन्। जसमध्ये दाङका एक दृष्टिविहीन दम्पती हुन्। उनीहरु हुन्, दाङ तुलसीपुरका कुशल तामाङ र शान्ता शर्मा। यी दुई श्रीमान–श्रीमती हुन्, जसले अहिले तुलसीपुरको गुरु जजुर मा.वि. रक्षाचौरमा पढादै आइरहेका छन्।
दुबै जनाको आँखाको ज्योती गुमेको वर्षौँ भइसकेको छ। कुशलले आँखाको ज्योती जन्मिएको वर्ष दिन नहुँदै गुमाएका थिए भने शान्ता जन्मजात दष्टिविहीन हुन्। यी दुबै जना दृष्टिविहीन भए पनि उनीहरुले हजारौँ विद्यार्थीलाई शिक्षाका माध्यमबाट ज्योती प्रदान गरिरहेका छन्।
उनीहरुले शिक्षण पेसा गर्न थालेको वर्षौँ भइसकेको छ। सायद उनीहरुले जीवनमा असम्भव सोचेको भए आज हजारौँ विद्यार्थीहरुलाई शिक्षाको ज्योती प्रदान गर्न सक्ने थिएनन्। ‘आँखाको ज्योती नभएको थाहा पाउने दिनमा अब जीवनमा बाँच्नुको अर्थ छैन भन्ने लागेको थियो,’ कुशलले भने, ‘तर त्यस्तो रहेनछ अध्याँरोभित्र पनि उज्यालो हुने रहेछ।’
२०५४ सालदेखि अध्ययापन गर्दै आएको उनले जानकारी दिए। २०५४ सालमा देउखुरीस्थित लालमटिया आदर्श मा.वि.देखि पढाउन सुरु गरेका उनले त्यहाँ दृष्टिविहीन र सांग छात्रछात्राहरुलाई सात वर्ष पढाए। २०६१ सालदेखि कुशलले गुरुजजुर मा.वि. रक्षाचौरमा पढाउँदै आइरहेका छन्।
दुष्टीविहिन हुँदैमा जीवन अँध्यारो नहुनै भन्दै उनले बरु दृढ संकल्प इच्छाशक्तिका साथ गन्तव्यमा पुग्न प्रयास गर्नुपर्ने बताए। ‘दृष्टिविहीन भए भन्दै मैले केही नगरेको भए आज यहाँसम्म आउने थिएन,’ उनले भने, ‘तर मैले पढ्ने ईच्छा गरे। घर परिवारले साथ दियो। पढे र आज पढाउने भएको छु।’
नुवाकोट जिल्लामा जन्मिएका कुशलले काठमाडाैँको महेन्द्ररत्न क्याम्पसबाट नेपालीमा स्नाकोत्तर गरेका छन्।
यस्तै शान्ताले काठमाडौंको पद्यमकन्या क्याम्पसबाट स्नातक पास गरेकी छन्। धनगढीको पञ्चु मा.वि.मा उनले अध्ययन सुरु गरेर पोखराको अमर मा.वि.बाट एसएलसी उर्त्तीण गरिन्। पढ्नका लागि सहज नभए पनि पढ्ने दृढ इच्छाले गर्दा आए शिक्षक हुन सकेको उनको बुझाइ छ।
आफ्नो सफलताको पछाडि परिवार र साथीहरुको साथ सहयोग र हौसला ठुलो रहेको शान्ताले बताइन। ‘दुष्टीविहिन आफैं गर्न केही सक्दैनन्। यसमा परिवार र साथी-संगीको माया र हौसाल चाहिन्छ,’ उनले भनिन्, ‘त्योसँगै आफूभित्र पनि केही गर्ने दृढ इच्छाशक्ति हुनुपर्छ।’
शान्ताले पढाउन थालेको १५ वर्ष भइसकेको छ। दृष्टिविहीन विद्यार्थीलाई पढाउन पाउँदा अझै खुसी मिल्ने उनले बताइन। ‘दृष्टीविहिन बालबालिकालाई शिक्षामात्र होइन केही गर्न सकिन्छ भन्ने हौसला दिन्छु’ उनले भनिन्।