कृषकको पीडा: असारमा मल पाएनन्, साउन सकियो पानी पाएनन्

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ पन्दनपुरका गंगा कँवरको खेत भदौ लागिसक्दा पनि बाँझै छ। 

असारमा धानको बीउ राख्नेसमयमा मलको अभाव खेपेका कँवरले साउन सकिँदासमेत पानी नपरेपछि धान रोप्न सकेका छैनन् भने खेत बाँझै राखेका छन्। 

अघिल्लो वर्षहरुमा साउनको महिनामा उहाँले धान गोड्ने (धानमा भएको झार फाल्ने) समय भइसकेको हुन्थ्यो। भदौको महिनामा धानले गाँज हालिसकेको हुन्थ्यो। तर यस वर्ष वर्षा नभएपनि धान रोप् सकेका छैनन्। 

आकाशे पानीको भरमा उनले धान रोप्ने गर्थे। पानीको अभावसँगै अहिले कँवर खेत बाख्रा चरण क्षेत्र भएको छ। ‘पानी परेन, धान रोपाइन हुन सकेन,’ उनले भने, ‘अहिले त सरकारले ठक्यो, मौसमले पनि ठक्यो।’ धान रोपाइन गर्न नसकेपछि उनी अहिले चिन्तित छन्।

सोही ठाउँका गिरराज गिरी पनि पानी नपरेपछि चिन्तित छन्। उनको खेतमा कुलो छ। बोरिङबाट पानी सिँचाई गरेर पानी चार्न सकिन्छ। बोरिङबाट पानी तानेर खेतमा रोपाई पनि गरेका छन्। तर अहिले पर्याप्त रुपमा पानी नपाउँदा लगाएको धानसमेत सुक्न लागिसकेको छ।

उनले भने, ‘धान त जसोतासो पाल कुरेर रोपियो। तर के गर्न त्यसको पानीले यहाँ सबैलाई पुगेको छैन। धान सुक्न लागिसक्यो।’

उनले पालो लगाएर पानी सिँचाई गरेको भएपनि पालो पाउन निकै समय लागेकाले सिँचाईमा समस्या भएको बताए। 

‘समयमा नै पानी परेको भए यति बेला धान गाँज हालिसकेको हुने थियो। अब त फुल्ने बेला पनि हो,’ गिरीले भने, ‘तर विडम्बना पानी नपरेपछि धानले भुइँ नै छाडेका छैन्।’ उनले धान भन्दा अग्लो झार भएर आएको बताए। 

सोही वडाकै कृषक सीता केसीको पीडा झनै धेरै छ। उनको आफ्नो खेत छैन। खेत लिजमा लिएर धान खेति गर्ने उनको तयारी थियो। आकाशे पानीले धानको बीउ पनि राखिन। तर पानी नपरेपछि उनले धान रोप्न सकेकी छैनन्। 

धानको बीउ खेतमा नै छ। धान रोप्न नसकेपछि बीउ भने जमरा जस्तो पहेंलो भएको छ। ‘समयमा पानी नपर्दा यस्तो भयो, पानी पर्ने रहेन्छ,’ उनले भनिन्, ‘यत्तिकैमा खेत जोताउनेमा र धानको बीउ किन्नेमा खर्च मात्रै भयो।’ 

गंगा, गिरिराज, सीता जस्तै दाङमा धान रोपाइ गर्न नपाएर धेरै कृषक पीडामा छन्। असार १५ सम्मसमेत मलको अभाव खेपेका दाङका कृषक प्रयाप्त पानी नपरेपछि धान रोप्न पाएका छैनन् भने रोपिएका धानसमेत पानी नपाउँदा सुक्न थालेका छन्। साथै पानी अभावमा धानमा रोग किरा पनि लाग्न थालेको छ।


 दाङमा देउखरी र दाङ गरी दुई उपत्यका छन्। जसमध्ये देउखुरीमा राप्ती नदीसँगै बोरिङको पानी सहज रुपमा पाउन सकिने हुँदा यस उपत्यकाका लगभग सबै कृषकहरुले धान खेती गरिसकेका छन्। कृषि ज्ञान केन्द्र दाङले देउखुरी क्षेत्रमा अपवाद बाहेक लगभग सबै क्षेत्रमा धान रोपाइ भएको बतायो। 

तर दाङ उपत्यकामा भने धेरै खेत बाँझै रहेको छ। घोराहीदेखि पश्चिम बबई गाउँपालिकासम्मका कृषकहरुले धान रोपाइ गर्न नसकेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी मनोज कुमार सिंहले बताए। 

उनका अनुसार जिल्लामा अहिले पनि लभगभ १५ प्रतिशत खेत पानी अभावमा बाँझै रहेको छ। सूचना अधिकारी सिंहले समग्र जिल्लामा ८७ प्रतिशत मात्र रोपाई भएको र बाँकी अब रोपाई हुन सक्ने अवस्थामा नरहेको बताए।  

दाङमा यस वर्ष ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा रोपाइ गरिने प्रक्षपण थियो। मौसम प्रतिकुलताका कारण अहिले जिल्लामा सबै क्षेत्रफलमा धान रोपाई नभएको र धान उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ।

प्रकाशित मिति: : 2022-08-18 14:36:00

प्रतिकृया दिनुहोस्