केही समय अगाडि नेपाल पत्रकार महासंघ युरोप शाखाका पदाधिकारी तथा सदस्यले पत्रकारहरूको अन्तर्राष्ट्रिय छाता संगठन अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को अन्तर्राष्ट्रिय प्रेस कार्ड (आईपीसी) प्राप्त गरे। प्राप्तिसँगै त्याे कार्ड छ्यापछ्याप्ती सामाजिक सञ्जालमा राखे। त्यसाे त कार्ड प्रदर्शनलगतै उनीहरूलाई शुभकामना तथा बधाईकाे ओइरो नै लाग्यो।
युरोप शाखामा मात्रै होइन भर्खरैअघि बढ्दै गरेको बेल्जियम शाखामा पनि उस्तै दृश्य दोहोरियो। बेल्जियम शाखाबाट सो कार्ड पाएका केही सदस्यहरूले कार्ड सामाजिक सञ्जालमा राखे। फेसबुकमा राखेलगतै शुभकामना र बधाई आउनु स्वाभाविक नै हो। तर, अन्तर्राष्ट्रिय पत्रकार महासंघकाे कार्ड यसरी सामाजिक सञ्जालमा सार्वजनिक गर्नु नियम संगत देखिँदैन। कार्डको काम जरूरी ठाउँमा प्रयोगमा ल्याउनु हो। तर, शुभकामना र बधाई पाउनको लागि चाहिँ पक्कै होइन।
नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनका सदस्यहरूले स्वतः आईएफजे सदस्य हुन्। 'प्रवासमा रहेका नेपाली पत्रकारहरूले चाहेको बेला केन्द्रको सिफारिसमा यो कार्ड पाउन सक्छन्,' भने नेपालमा हुनेहरूले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमार्फत् लिन सक्छन्।
'काम गर्ने कुनै पनि पत्रकारलाई यो कार्डको जरूरत पर्दैन तर आफ्नो वर्चस्व समुदायमा देखाउनको लागि कार्ड लिने र सामाजिक सञ्जालमा राख्ने प्रक्रिया हाँस्यास्पद देखिन्छ,' क्यानाडानिवासी पत्रकार तथा प्रोफेसर भानुभक्त आचार्यले भने, 'यो कार्ड प्रदर्शनले नेपाली समाजमा आफ्नो सामर्थ्य प्रदर्शन गर्नु बाहेक अरू देखिँदैन।'
अन्तर्राष्ट्रिय प्रेस कार्ड (आईपीसी) विश्वभर मान्यता प्राप्त छ। १ सय ३० भन्दा बढी देशमा राष्ट्रिय पत्रकार संगठनले समर्थन गरेको एक मात्र प्रेस पास हो। यसको सुरूवात सन् १९२७ देखि भएको थियो। यो कार्डको माध्यमबाट पत्रकारहरूले द्वन्दग्रस्त क्षेत्रमा रिपोर्टिङ गर्न जाँदा उचित फाइदा लिएका छन् भने युरोपेली संघ, संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय फोरमका एजेन्सीभित्र आईएफजे कार्डको आधिकारिक मान्यताको फाइदा पत्रकारहरूले उठाउँदै आएका छन्।
फ्रान्समा रहेका नेपाली पत्रकार तथा लेखक दधि सापकोटाले आईएफजे कार्ड सिफारिस गर्ने नेपाली पत्रकारको संस्थाले दुरूपयोग गरेको बताउँछन्। 'आईपीसी देखाउँदै हिँड्ने कार्ड होइन, काम गर्नेहरूले यो कार्ड देखाउँदै हिँड्दैनन्। संवेदनशील ठाउँमा जाँदा यो कार्डको बढी प्रयोग रहन्छ। सामाजिक सञ्जालमा देखिने क्रियाकलाप हाँस्यास्पद छन्,' उनले प्रस्ट पारे।
त्यसो त आईपीसीको लागि नेपालबाट सिफारिस दिने संस्था नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन मात्रै हुन्। महासंघका महासचिव रोशन पुरी भने यसमा केही फरक मत राख्छन्। 'सामाजिक सञ्जालमा राख्नु व्यक्तिगत इच्छाकाे कुरा भो! तर, राखेर दुरूपयोग गर्नु गलत हाे। हामीले नराख्नु भनेर भन्न मिल्दैन। त्यो उहाँहरूले नै जान्ने कुरा हो। तर अलिकति पेशागत मर्यादामा रहने पत्रकारहरूले कार्ड प्रदर्शन गर्दैनन्,' पुरी भन्छन्।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ ब्रसेल्सस्थित सचिवालयका अनुसार 'आईएफजेको प्रेस कार्ड राख्नु वा प्राप्त गर्नु भनेको जो–कोही पनि आईएफजे परिवार अन्तर्गत रहेकाे' भन्ने मान्यता हो। 'यो सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय प्रेस कार्ड पनि हो। यसले धेरै पत्रकारहरूलाई कठिन परिस्थितिबाट बाहिर निस्किन मद्दत गरेको छ। यसलाई संयुक्त राष्ट्रसंघजस्ता अन्तर्राष्ट्रिय संस्थाले मान्यता दिएका छन्। निःसन्देह कार्ड सोसल मिडियामा प्रदर्शन गर्ने उद्देश्यका लागि जारी गरिएको छैन। तर, हामी पत्रकारहरूलाई सोसल मिडियाको खेल खेल्नबाट रोक्न सक्दैनौं,' सचिवालय भन्छ।
१ सय ३० भन्दाबढी देशमा रहेका पत्रकारहरूले अन्तर्राष्ट्रिय प्रेस कार्ड पाउँछन्। तर, सम्भवत नेपाली पत्रकारहरू त्यस्ता हुन्, जसले सामाजिक सञ्जालमा कार्ड प्रदर्शन गरेर बधाई थापिरहेका छन्। 'कार्ड के–का लागि प्राप्त गरियो वा यसको उपयोगिता के हो भन्ने जान्न सकियो भने कार्ड राख्नुको औचित्य पुष्टि हुन सक्छ। यसतर्फ बेलैमा सचेत हुने कि !'