गजल प्रतियोगितामा प्रथम भए समीर ओझा

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चसँगको सहकार्यमा आयोजना गरेको नेपाली गजल प्रतियोगितामा डोटीका समीर ओझा प्रथम भएका छन्। उनले ४० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र पाउनेछन्।

यसरी नै खोटाङका विक्रम चेतनशील राई द्वितीय भएका छन् भने कास्कीका संयोग बस्याल तृतीय तथा झापाकी सरु आचार्य सान्त्वना भएका छन्। उनीहरूले क्रमशः ३०, २० र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा गजलबाचनसहित प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको हो। कार्यक्रमका संयोजक घनेन्द्र ओझाले प्रतियोगिताका लागि २४१ वटा रचना प्राप्त भएका, तीमध्ये ७१ वटा दोहोरिएका÷मापदण्डभित्र नपरेका र बाँकी १७० वटाबाट ३० प्रतिशत हुनेगरी ५१ वटा रचना बाचनका लागि छनोट गरिएको जानकारी दिए।

अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारले राष्ट्रिय युवा परिषद्को नेपाली साहित्यप्रतिको सद्भाव र साहित्यको विकासका लागि परिषद्ले गरेको योगदानको सराहना गरे। आगामी दिनमा पनि यस्ता कार्यक्रम परिषद्बाट आयोजना हुनेमा विश्वास पनि व्यक्त गरे।

नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले पछिल्लो समय धेरै स्रष्टाको प्रिय विधा बनेको गजललाई राज्यस्तरबाट पनि पहिचान दिने र यसको विकास, विस्तारमा योगदान गर्ने क्रम सुरु भएकामा खुसी व्यक्त गरे। उनले विगतमा प्रतिष्ठानले पनि गजल महोत्सव आयोजना गरेको र यस पटक पनि आयोजना गर्ने जानकारी पनि दिए।

प्रमुख अतिथि कुलपति गङ्गाप्रसाद उप्रेतीले अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च नेपाली गजलका क्षेत्रमा सक्रिय, जिम्मेवार र विश्वसनीय संस्था भएका बताउँदै यस्ता संस्थासँग युवा परिषद् र प्रज्ञाप्रतिष्ठानले समेत मिलेर कार्यक्रमहरू गर्नु खुसीको कुरा भएको बताए। उनले आगामी मोतीजयन्तीमा प्रतिष्ठानले युवा परिषद्सँगकै सहकार्यमा गजल महोत्सव गर्ने पनि बताए।

परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले परिषद्को लक्ष्य र उद्देश्यअनुसारका कामहरूअन्तर्गत नै नेपाली भाषा, साहित्यमा युवा सहभागिता र प्रोत्साहनका कार्य पनि भएका बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्न आफू प्रेरित भएको सुनाए।

प्रा.डा. कृष्णहरि बरालको संयोजकत्वमा शीतल कादम्बिनी र बलराम दाहाल सदस्य रहेको निर्णायक समिति गठन गरिएको थियो। संयोजक प्रा.डा. बरालले गजल मूल्याङकनका आधारहरू बताउँदै गजल प्रतियोगितामा बढ्दो आकर्षणले नेपाली गजलको क्षेत्र फराकिलो बन्नेमा आशावादी रहेको बताए। नेपाली गजल उत्कृष्टतातर्फ जाने सङ्केतहरू देखिएकामा उनले खुसी व्यक्त गरे।

विजयी प्रतियोगीहरूलाई अन्तर्राष्ट्रिय युवा दिवस १२ अगस्ट (२७ साउन)मा बृहत् कार्यक्रमका बीच पुरस्कार र प्रमाणपत्र प्रदान गरिने परिषद्की सङ्घसंस्था समन्वय शाखा प्रमुख चन्द्राकुमारी थापाले जानकारी दिइन्।

प्रकाशित मिति: : 2022-08-11 12:01:00

प्रतिकृया दिनुहोस्