कलंकीबाट खुशीका साथ स्वर्णद्वारसम्म पुगेकाे थिएँ। मेराे खुशी धेरै दिनसम्म टिक्न सकेन। मैले कहिले साेचेकाे थिइनँ कि सीईओकाे काेठाबाट रुँदै निस्कनुपर्छ भनेर। जुन मैले केही समयअघि लेखिसकेकाे छु।
भर्खरै एसईईकाे नतिजा प्रकाशित भएकाे छ। कैयौं साना भाइबहिनीहरू हिजाेआज मैले जस्तै अनेकौं कष्टहरू झेलेर सहर पसेका छन्। आफ्ना छाेराछाेरीहरूकाे सुनाैलाे भविष्यको लागि बाबुआमाहरूले निकै दुख-कष्ट गरेर, अनेकौं ऋण काडेर आफ्ना साना मुनाहरूलाई देशका ठुला-ठुला सहरहरूमा पढाउन पठाउनुभएकाे छ। हरेक बाबुआमा र भर्खरै एसईई सकाएर बसेका भाइबहिनीहरूलाई याे लेखले प्रेणा मिल्नेछ।
केही दिनअघि ‘रुटिन अफ नेपाल बन्द’ भन्ने फेसबुक पेजमा काठमाडौंकाे चर्चित कलेज सेन्ट जेभियर्सकाे इन्ट्रान्स दिन गएका विद्यार्थीहरूकाे लाइन लागेकाे फाेटाे थियाे। त्याे दृश्यले मलाई करिब १५ वर्षअघिकाे सम्झना गरायाे। म पनि साेही कलेजमा त्यसैगरी लाइनमा उभिएको थिएँ। त्यस्तै काठमाडौंका त्याेबेलाका नाम चलेका अन्य केही कलेजहरूमा इन्ट्रान्स दिन गएकाे थिएँ।
भाग्यबस मेराे काठमाडौंकाे बत्तीसपुतलीमा अवस्थित गाेल्डेन गेट कलेजमा भर्ना भयाे। मैले साेही कलेजकाे पहिलाे ब्याजकाे रुपमा प्रतिनिधित्व गर्ने अवसर पाएँ।
म भर्ना हुने दिनमा कलेजका सरहरूले बाेलेकाे कुरा आज पनि याद छ। उहाँहरूले मलाई खुबै काउन्सिलिङ गर्नुभएकाे थियाे। तपाईं त जुम्लाको स्कुलबाट फर्स्ट डिभिजनमा पास भएकाे मान्छे हाे। तपाईं यहाँको डिस्टिङ्सन बराबर हाे भन्दै मलाई फकाइ रहनुभएकाे थियाे। सायद अहिले पनि धेरै कलेजहरूले विद्यार्थीहरूलाई आफ्नाे कलेजमा भर्ना गराउन यस्ता शब्दहरू प्रयाेग गर्छन् हाेला।
मैले याेभन्दा अगाडिको भागमा मेराे गाेल्डेन गेट प्रवेश गरेदेखि पहिलाे टर्मिनल परीक्षासम्मकाे कहानी सबै उल्लेख गरिसकेकाे थिए। म सबै विषयमा फेल हुँदा सीईओ सरले मलाई साइन्स छाेडेर बेलैमा अर्काे विषय पढ्न सुझाएर आफ्नाे भविष्यमाथि खेलबाड नगर्नु भनेकाे कुरा र म रुँदै निस्केकाे कुरा लेखिसकेकाे छु।
मैले लास्टमा रुँदै सरलाई निरीह भावमा दुई हात जाेडेर 'सर मलाई एउटा चान्स दिनुस् म सक्छु, म धेरै भन्दा धेरै मेहनत गर्छु। मलाई एउटा चान्स दिनुस्' भनेर रुँदै सिईओकाे काेठाबाट बाहिर निस्केकाे कुरा हिजाे जस्तै लाग्छ। समय कति चाँडै बित्ने रहेछ। म आज १५ वर्षपछि मेरा ती अनुभूतिहरू सम्झेर लेख्ने प्रयास गरिरहेकाे छु।
म त्याे दिन पुरानाे बानेश्वरदेखि कालिमाटीसम्म आँसु पुछ्दै पुगेकाे थिएँ। कसैले आँसु नदेखुन् भनेर लुकाउने प्रयत्न गरे पनि मेरा आँखाबाट आँसु झरिरहेका थिए।
मेरा सबै साथीहरू खुशी थिए। उनीहरूलाई जिन्दगीमा यसरी पढ्न नसकेर या पढाइको दुखले कहिले रुन परेकाे थिएन हाेला। उनीहरूकाे शब्दकोषमा फेल भन्ने शब्द थिएन हाेला। उनीहरू त आलिसान सहरका नामिद स्कुलका टपर विद्यार्थीहरू थिए। हुन त म पनि कुनै स्कुलकाे टपर विद्यार्थी नै थिएँ। तर पनि म यतिबेला उनीहरूकाे अघि निरीह थिएँ।
पढ्ने कुरा उनीहरूलाई नशाजस्तै थियाे तर मलाई सजाय। उनीहरू सबैजनाकाे रिजल्ट राम्राे आएकाे थियाे। उनीहरूकाे खुशीमा मेराे दुख मिसाउन मिल्दैन थियाे। त्यसैले त म रुँदै एक्लै घर फर्किएकाे थिएँ। अरूकाे रिजल्ट बाहिर खाली मैदानमा बाँडिएकाे थियाे भने मेराे रिजल्ट छुट्टै गाेप्य काेठामा। उनीहरू रिजल्ट लिन आफ्ना बाबुआमासँग थिए, म भने एक्लै।
याे सबै हुनुकाे कारण के थियाे त? किन म राेइरहँदा मेरा साथीहरू र उनका आफन्तहरू खुशीले गदगद थिए त? कारण एउटै थियाे, मेराे स्कुलिङ। मेराे बेस कमजाेर थियाे। मैले क्वालिटीका शिक्षकसँग पढ्न पाएकाे थिइनँ। मलाई बुझेर पढ्नुपर्छ भन्ने थाहा थिएन। म हरेक कुराहरू नेपालीमा उल्था गरेर मात्र पढ्न जान्ने थिएँ। उबेलाकाे जुम्ला, त्यसमा पनि दुर्गम गाउँको एउटा सरकारी स्कुलमा पढेकाे विद्यार्थी थिएँ म।
नाै र दस कक्षामा पढ्न नसक्ने भएर अप्सनल म्याथ नपढी अर्थशास्त्र पढेकाे थिएँ। एसएलसीमा पुरै रट्टा मारेर र अंग्रेजीसम्म घाेकेर पास गरेकाे। एबीसीडी त चार क्लासमा बल्ल पढ्न सुरु गरेकाे थिएँ। मलाई एसएलसी पास भए संसारकाे सारा खुशी मिल्छ र अब उप्रान्त पढ्न पर्दैन भन्ने थियाे। तर, अफसाेच पढाइ त त्यस दिनपछि आज १५ वर्ष भयाे, अझै म मेराे अर्काे महिना हुने परीक्षाकाे तयारीमा छु।
म बेलुका काेठामा पुगेर राेइरहेकाे थिएँ। साँझतिर मेराे दाइ र उहाँका साथीहरू कलेजबाट आउनुभयाे। सबैजना दाइहरूलाई थाहा थियाे, त्याे दिन मेराे रिजल्ट हुन्छ भन्ने कुरा। उहाँहरूलाई लागेकाे थियाे हाेला भाइ पास भएर घर आएर खुशी-खुशी खाना पकाइसकेकाे छ हाेला भनेर। म त काेठामा ओछ्यानमा ढल्केर रुँदै बसेकाे थिएँ।
मेराे रिजल्ट हेरेर उहाँहरू पनि तीनछक पर्नुभएकाे थियाे। मेराे सबै विषयमा राताे गाेलाे थियाे। सबैजना दाइहरूले मलाई सम्झाउन थाल्नुभयाे। म केही कुरा सुन्ने अवस्थामै थिइनँ। पढ्नलाई मैले असाध्यै मेहनत गरेकाे थिएँ। म सधैँ कलेज पनि गएकाे थिएँ। तर बिडम्बना म त साइन्स पढ्नै नसक्ने रहेछु जस्ताे भयाे। सानैदेखि रेन्जर बन्छु भन्ने सपना बाेकेकाे केटाेलाई साइन्स त एकादेशकाे कथा रहेछ। हुन त त्यही हालतमा रेन्जर बन्न पनि गार्हो थियाे।
मैले मेराे दाइलाई रुँदै पढ्न नसक्ने कुरा बताएँ। म अब कलेज पनि नजाने र कलेजमा सीईओ सरले साइन्स छाेड्न भनेकाे कुरा सुनाएँ। दाइले त्याे दिन मलाई मध्यरातसम्म सम्झाउनुभयाे। मलाई धेरै सफल मान्छेहरू, जाे जिन्दगीमा धेरै पटक फेल हुँदा पनि हिम्मत नहारेर जितेका कुराकाे उदाहरण दिनुभयाे। आफैँ पनि सब-इन्जिनियरिङमा फेल भएर पास गरेकाे र आफूले भाेगेकाे आफ्नाे संघर्षकाे कहानी सुनाउनुभयाे।
मलाई एक वर्ष कडा मेहनत गरेर, पढेर, केही गरी पनि सकिएन भने बल्ल साइन्स छाेडेर अन्य विषय पढ्ने भन्ने कुरामा कन्भिन्स गराउनुभयाे। म भने आफ्नाे स्थिति हेरेर सक्दै सक्दिनँन हाेला भन्ने अवस्थामा पुगिसकेकाे थिएँ। त्याे रात कसरी बित्याे, मलाई केही पनि थाहा छैन। सायद न मेराे दाइ सुत्नु भयाे, न त म नै।
गाेल्डेन गेट कलेज त्याे बेलामा निकै चर्चित थियाे। शिक्षकहरू पनि नाम चलेका हुनुहुन्थ्यो। चर्चित कलेजकाे हामी पहिलाे ब्याच। कलेज प्रशासनलाई आफ्नाे पहिचान बनाउन सतप्रतिशत रिजल्ट ल्याउनुथियाे। आफ्ना विद्यार्थी काेही पनि फेल नहाेस् भन्ने थियाे।
भाेलिपल्ट बिहान दाइ मेराे कलेजमा जानुभयाे। म भने कलेज नगइकन घरमै बसेँ। दाइले सीईओ सरलाई भेट्नु भएछ। उहाँसँग कुरा गर्नुभएछ। सीईओ सरलाई अघिल्लाे दिनकाे मेराे कुराले सार्है मन छाेएकाे रहेछ। मैले सरसँग लास्टमा 'सर म आज यहाँसम्म पुग्नलाई पनि निकै संघर्ष गरेकाे छु। म अझै संघर्ष गर्छु। म मेहनत गरेर पढ्छु। मलाई एक माैका दिनुस्' भनेकाे कुराले सरलाई निकै घत परेछ। उहाँलाई साेच्न बाध्य पारेछ। दाइसँग भन्नुभएछ, 'तपाईंले जति सुकै सम्झाए पनि केही हुने थिएन तर तपाईंकाे भाइकाे हिम्मत हेरेर एक माैका दिन मन छ र दिन्छु पनि। तपाईंले पनि घरमा गाइड गर्नुस्।'
मेराे रिजल्टकाे बारेमा कलेजमा शिक्षक, विद्यार्थी सबैलाई थाहा भइसकेकाे थियाे। मलाई जान मन नहुँदा नहँदै पनि अर्काे दिनबाट फेरि कलेज जान थालेँ। मलाई मेरा साथीहरू र सर म्यामहरूसंग फेस गर्न गाह्राे भइरहेकाे थियाे।
अब म हरेक शिक्षकहरूकाे नजरमा परेकाे थिएँ। सायद सीईओ सरले सबै सरहरूलाई उसलाई विशेष हेर्नू है भनेकाे हुनुपर्छ। हरेक सरहरूले मलाई माया र फाेकस गरेर बुझाउन थाल्नुभएकाे थियाे। म पनि अझै बढी मेहनत गर्न थालेकाे थिएँ।
काेठामा म केही पनि काम गर्दिनथेँ। दाइले मलाई पढ मात्र भन्नुहुन्थ्याे। म अन्य दाइहरुसित पनि पढाइ माग्थेँ। म पहिलेभन्दा केही बुझ्ने र केही जान्ने हुन थालेकाे थिएँ। मेराे लागि अब हरेक दिन केही न केही नयाँ कुराकाे सिकाइ हुन्थ्याे। म अब पढ्न सक्छु भन्ने कुरामा दिनदिनै विश्वस्त हुन थालेकाे थिएँ।
मलाई मेराे दाइले पनि त्याेबेलामा साह्रै सम्झाउनु हुन्थ्याे। बाबुआमाले जन्म दिनुभयाे, उचित शिक्षादीक्षा दिएर सहर पठाउनुभयाे। तर उचित कर्म, असल ज्ञान, संयम दिशा, हरेक सानाे-सानाे कुराकाे ज्ञान दाइले दिनुभएकाे थियाे। संघर्ष गर्न सिकाउनु भएकाे थियाे। त्यसैले म मेराे भगवान रुपी दाइप्रति सधैँ कृतज्ञ छु। सायदै याे संसारमा मेराे दाइ जस्ताे अरू काेही हाेला। यदि अर्काे जन्म हुन्छ भने म हजुरकै भाइ हुन पाउँ। भगवानसँग यही प्राथना छ।
Gajjab Dr sap