'आँसु पुछ्दै सिईओकाे काेठाबाट बाहिरिएँ' याे शिर्षककाे लेख तपाईंले यही मिडियामा यस अगाडि पढिसक्नु भएकाे छ।
तपाईंलाई लाग्ला याे बीचकाे कुरा मात्रै आयाे। कतिले मलाई भनी पनि सक्नुभएकाे छ, 'त्याे भन्दा पछाडीको त पछि आउला नै, तर त्याेभन्दा अगाडिको पृष्ठभूमि कसरी छुट्याे? किन यस्ताे बीचकाे कुरा मात्र सुनाएकाे? हामीलाई अब तपाईंको बारेमा पढ्नुछ' जस्ता अपेक्षासहितकाे प्रतिक्रिया आयाे।
म एकदम खुसी छु कि, तपाईंहरु मेराे बारेमा जान्न उत्सुक हुनुहुन्छ। तपाईंहरुकै प्रेरणाले याे लेख्न बाध्य बनाएकाे छ। खासमा अघिल्लो लेख मेराे सपनाकाे कुरा थियाे। धेरैपछि कलेजका पुराना दिनहरुकाे यादले दिमागमा डेरा जमाई बसेछन् सायद, त्याे सपना बनेर आइदियाे। कलेजकाे याद किन सपनामा आयाे? त्याे मलाई थाहा छैन। म सपनाकाे मनाेविज्ञान पढेकाे मान्छे पनि हाेइन। तर त्यही लेखकै कारण आज त्याे भन्दा अगाडिका दिन समेटिएको लेख लेख्ने उर्जा मिलेकाे छ। मलाई उर्जा दिने तपाईंहरुसँगै दुईजनाकाे नाम लिन यहाँ उपयुक्त ठानेकाे छु।
एकदिन अचानक अस्पतालमा महेश नेपालीसँग भेट भयाे। चिया गफ गर्दै गर्दा उहाँले 'लेख्न किन छाेड्नु भयाे?' भनेर प्रश्न गर्नु भयाे।
'समय नमिलेर हाे सर, लेख्न मन त थियाे' भन्ने जवाफ दिए। 'हाेईन केही न केही त लेख्नुस् यार गुरु, लेख्न नछाेड्नुहाेस्' भनेर सम्झाउन थाल्नु भाे। साेही दिन धरानमा हुनुहुने मेरा प्यारा दाजु विशाल बाबू बस्नेतसँग पनि यस्तै विषयमा कुराकानी भयाे। उहाँको पनि त्यस्तै प्रतिक्रिया थियाे। भन्नू भयाे, 'बड्डा लेख्न नछाेड है, जे लेखे पनि हुन्छ।'
दुबैजनाकाे कुरा सुनिसकेपछि मेराे मथिङ्गल हल्लियाे। मैले लेख्ने निधाे गरेँ। लेख्ने त भनियाे तर लेख्ने चाहिँ के ? साेचेँ आफ्नै कहानी लेख्छु। कथा र कहानीकाे महासागर आफैभित्र छ, किन अन्त खाेज्न पर्याे?' भन्ने लागेर आफ्नै कथा लेख्न सुरु गरेँ। आखिर याे सपनामा छुटेकाे कुरा पनि त हाे।
पहिलाे भागमा एसएलसी दिइसकेपछि घर छाेड्ने बेलाकाे 'जुम्ला टु सुर्खेत बाई ट्याक्टर' शिर्षककाे यात्रा संस्मरण पनि त तपाईंंहरुले पढिसक्नु भएकाे छ। त्यसपछि मलाई थुप्रै प्रतिक्रियाहरु प्राप्त भए। साथीहरुले 'असाध्यै राम्राे छ, अझै लेख्नु पर्याे' भनेर सुझाए।
साथीहरुले 'कलंकीबाट के भयाे? कता गइयाे? घुम्छु भनेकाे ठाउँहरु घुमियाे-घुमिएन?' भनेर प्रश्न तेर्स्याए। म भने कलंकीदेखिकाे यात्रालाई थाती राखेर आफ्नाे बाल्यकालतिर फर्किएँ र दाेश्राे भाग 'बा मलाई अझै पनि पिट्नु हुन्छ र!' भनेर बाल्यकालकाे भाेगाई लेखेँ। त्याे भन्दा अगाडिको कुरा मेराे सपनामा आइसकेको छ।
प्रिय पाठकहरु, अब म कलंकीबाट अगाडि बढ्ने अनुमति चाहन्छु।
सुर्खेतबाट चढेकाे गाडी र रातभरी झिँजाे नमानी मेराे गफ सुनिदिने मेरा साथीहरु कलंकी चाेकमा मलाई छाेडेर ओझेल भए। म त्याे विशाल मान्छेरुपी गिद्धहरुकाे शहरमा आफूलाई कमिलाजस्ताे अनुभूति गरे। मलाई रफ्तारमा गुडिरहेका गाडीहरुकाे लाइन र त्यस्तै रफ्तारमा गन्तव्यहिन यात्रा गरिरहेका किराजत्तिकै मान्छेहरु झुन्ड देखेर साँच्चिकै गिद्धहरुकाे झुन्ड जस्ताे लाग्याे। म त हाेश हवास भएँ।
मैले थानकाेट पुगेकाे थाह पाउनेबित्तिकै गाडीमा एउटा यात्रीसँग माेवाइल मागेर मेराे दाजुलाई फाेन गरिदिन अनुराेध गरेकाे थिएँ। दाजु केही बेरमा कलंकी लिन आउने कुरा भयाे। तर जब म कलंकी चाेकमा झरे, पुरै आत्तिन थालेँ।
कताबाट हाे कुन्नि, कालिमाटी, टेकु, त्रिपुरेश्वर, शहिदगेट, रत्नपार्क भन्दै चिच्याउदै एउटा गाडी मेराे छेउमा आएर राेक्याे। मैले केही नसाेचेर कालिमाटी शब्द सुन्नेबित्तिकै त्याे गाडीमा चढेँ। सहचालकलाई कालिमाटी ईन्जिनियरिङ क्याम्पस अगाडि राेकिदिन अनुराेध गरेँ।
बाबाले मलाई सबै कुरा सुझाएर पठाउनु भएकाे थियाे। यतिसम्म कि कलंकीदेखि कालिमाटीसम्म माइक्राेकाे भाडा पाँच रुपैयाँ पर्छ पनि। मैले गाडी चढ्नेबित्तिकै गाेजीबाट पाँच रुपैयाँकाे नाेट हातमा लिइसकेकाे थिए। सहचालकले भाडा सात रुपैयाँ हाे भन्दै थिए म 'पाँच रुपैयाँ हाेइन, मलाई ठग्ने?' भन्दै पाँच रुपैयाँ हातमा थमाएर ईन्जिनियरिङ क्याम्पस भित्र हिँडे।
तर, दाजु भने मलाई लिन कलंकी पुग्नुभएछ। म कालिमाटी ईन्जिनियरिङ कलेजभित्र पस्न खाेज्दै थिए, गार्डले साेधपुछ गर्न थाल्याे। मैले म फलानोकाे भाई हाे हजुर, मेराे दाईलाई फाेन हान्दिनुस् न भनेँ। गार्डले मेराे कुरै नसुनेर, काे हाे म चिन्दिन भन्दै कड्किदै मलाई गेट बाहिर निस्कन भने। दाजु त्यतिबेला त्यहि कलेजमा पढ्दै हुनुहुन्थ्यो।
म निरीह भएर गेट बाहिर निस्केँ। छेउमा एउटा दाेकानमा पिसिओ रहेछ। दाजुकाे फाेन नम्बर दिएर फाेन लगाइदिन भनेँ। दाजु भाइ कता हरायाे साेच्दै आत्तिदै मलाई कलंकीमा खाेज्दै हुनुहुँदाे रहेछ। म कालिमाटी पुगिसकेकाे भनेपछि 'ल एकैछिन त्यही क्याम्पस गेटैमा बस् म आइहाल्छु' भन्नू भयाे। केही बेरकाे बसाईपछि दाजु मेराे छेउ आइपुग्नु भयाे।
दाजु त मलाई देखेर तर्सिनुभयाे। तीन दिनकाे ट्याक्टरकाे यात्रा र बीस घण्टा लगातार गाडीकाे यात्रा गरेकाे भाइ रातभरि गाडीमा 'बाेमिट' भएर राम्ररी उभिनसम्म सकेकाे थिएनँ। दाजुले मेराे च्यात्तिएको झाेला आफूले समातेर मलाई काेठातिर लैजानु भयाे।
दाजु त्यतिबेला आफ्ना कलेजका साथीहरुसँग मिलेर फ्ल्याट भाडामा लिएर बस्नु भएकाे रहेछ। साथीहरुसँग केहीदिन अघिदेखि भाइ आउँदै छ भनेर हल्ला-खल्ला गर्नु भएकाे रहेछ। मेराे खुबै तारिफ गरेर बस्नु भएकाे रहेछ। भाइ कस्ताे न हाेला, काफ्लेले निकै गफ देका छन् भनेर साेचेका दाईहरु मलाई देख्नेबित्तिकै तर्सिनु भएकाे थियाे रे! दाइहरुले मलाई पछिसम्म जिस्क्याउनु हुन्थ्याे। 'तिमी आउने बेलामा कस्ताे थियौ। अहिले कस्ताे भयाै, फाेटाे खिच्नुपर्ने रछ' भन्दै जिस्क्याउनु हुन्थ्याे।
काेठामा पुगिसकेपछि दाजुले आफ्ना केही कपडाहरु दिएर नुहाउन पठाउनु भयाे। म त बाहिरपट्टी कलधारामा बाल्टी थापेर बाथरुममा नगईकनै त्यहीँ छेउमा नुहाउन थालेँ। गाउँमा सधैं पब्लिक धारामा नुहाउने बानी परेकाे मलाई शहरमा नुहाउन बाथरुम जानूपर्छ जस्ताे लागेन। दाजुले पनि सम्झाउनु भएन। दाजुका साथीहरु चाख मानेर झ्यालबाट हेरेर हाँस्दै हुनुहुन्थ्याे।
नुहाइसकेपछि दाजुले खाना खान भन्नुभयाे। उहाँहरु कसैले पनि खाना खानु भएकाे रहेनछ। मलाई भाेक लागेकाे हाेला साेचेर सुरुमै खान सुझाउनु भयाे। म खाना खान थालेँ। चार दिनदेखि यात्रामा राम्रोसँग खाना नखाएकाे भएर हाेला असाध्यै भाेक लागेकाे थियाे। खादै जाँदा मैले सबैलाई पुग्ने गरि पकाएकाे खाना लगभग सकाइदिएछु। दाइहरुलाई फेरि खाना बसाउनु पर्याे। याद छ दाजुहरु फेरि पनि मस्तै हाँस्नु भएकाे थियाे।
दिउँसाेतिर म काठमाडौं पुगेकाे थाह पाएर मेराे सानाेममीकाे छाेरा ओम काफ्ले मलाई भेट्न आउनु भएकाे थियाे। बेलुकातिर म, ओम दाइ र दाइ भएर मेराे लागि सपिङ्ग गर्न जाने कुरा भयाे। म सपिङ्ग जाने कुराले त्यसै मख्ख थिएँ। दाजुले आफ्नाे कलेज लिएर जानुभयाे। बिहानभित्र छिर्न नदिने गार्ड त्यही थिए। गार्ड मलाई दाइसँग देखेर राताे पिराे भएका थिए। मैले केही पनि भनिनँ।
हामीहरु हिँड्दै विष्णुमतिकाे पुल तरेर बसन्तपुर हुँदै न्युराेड गएकाे थियौं। मलाई चाहिने कपडाहरु किनेर खाजा खान दाजुले हामीलाई न्युराेडकाे टिपटपमा लैजानु भएकाे थियाे। ताताे-ताताे जेरी र समाेसा मलाई असाध्यै मिठाे लागेकाे थियाे। त्यसपछि म न्युराेड गएकाे बेलामा प्रायःजसो टिपटप पसेकै हुन्छु।
त्याे जेरीकाे झाेलभित्र मेरा कयाैं झाेलिला कहानी छन्। थाहा छैन, ती कहानी जेरीका झाेलजस्तै स्वादिला छन् कि छैनन्। तर मलाई कुर्न नभुल्नु हाेला। यसपछिकाे कुरा त्यही अस्तिकाे सपना हाे। जसकाे सुरुवात सधैँ दाजुहरु सबैजना बिहानै खाना पकाएर कलेज जानुहुन्थ्याेबाट म आँसु पुछ्दै त्यहाँबाट बाहिरिएँसम्म आएर सकिएकाे थियाे। त्यसपछि ब्युँझिएकाे मसँग अरु स्मृति पनि छन्। ती आउँदा दिनमा लेख्दै गराैंला। प्रतिक्षा गर्दै गर्नुहाेला।
(-लेखक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक हुन्।)