अलाको रगत अझै सुकेको छैनः हवाई आक्रमणमा मारिएकी पाँच वर्षे 'नानी'को कथा

Middleeasteye
Middleeasteye

बेलाबेला आकाशमा उडिरहेका रकेटले गाजाक्षेत्र तातिएको छ। प्यालेस्टाइनीहरू शान्ति खोज्दै भागिरहेका छन्। जताततै त्राश छ। घरभित्र उखरमाउलो गर्मी।

उत्तरी गाजाको शुजैया बस्ती गत शुक्रबार दिउँसोदेखि एकतर्फी रूपमा रोइरहेको छ। आमा–बुबा चिन्तित छन्। बाबु–नानी त्रसित। विद्युत लाइन काटिँदा साह्रै गर्मी थियो। पाँच वर्षीया अला क्वादोउम कोठाभित्र बस्न सकिनन्।

गर्मी सहन नसकेर उनी खेल्नका लागि बाहिर गइन्। अबु–समरा मस्जिदमा प्रार्थना चलिरहेको थियो। अला साथीहरूसँग मस्जिद छेउमा खेल्दै गरेकी थिइन्। उनी निर्दोष थिइन्। मनभित्र न पीर थियो, न चिन्ता।

शान्त शुजैयामाथि इजरायली विमानले एकाएक बमको वर्षा गर्याे। हेर्दाहेर्दै सेकेन्ड अनि मिनेटमा पाँच वर्षीया अलालगायत अन्य नानी–बाबुले ज्यान गुमाए।

इजरायलले गाजामाथि हवाई आक्रमण गर्दा सोमबारसम्म १६ जना प्यालेस्टिनी बालबालिका मारिएका छन्।

पाँच वर्षकी निर्दोष अला दाजुभाइसँग घर बाहिर सडकमा खेल्दै थिइन्। ‘उनी बच्चै थिइन्, आखिर के गरेकी थिइन्,’ अलाका बुबा अब्दाल्लाह क्वादोउमले भने। 

उनी आफ्नी छोरीको यादले भावुक हुन्छन्। जोसँग अब उनी कहिल्यै भेट्ने छैनन्। ३० वर्षीया अब्दाल्लाह आक्रमणमा परेर गम्भीर घाइते भएका छन्। छोरी गुमाएका उनी आफैँ आईसीयू बाहिर छट्पटाइरहेका छन्। बिरामी श्रीमतीको गहन हेरचाह गरिरहेका छन्।

इजरायलले अन्धाधुन्ध रकेट आक्रमण गर्दा पाँच वर्षीया अलासहित युसेफ क्वादोउमले समेत ज्यान गुमाएका छन्। 

शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सेल्मेहकाअनुसार निर्दोष अलाको निधार, छाती र दाहिने खुट्टामा बमको छर्रा लाग्दा ठाउँको ठाउँ मृत्यु भएको थियो।

अलाका सात वर्षीया दाइ रियादको पनि टाउकोमा बमको छर्रा लागेको छ। उनको पनि अस्पतालमा उपचार भइरहेको छ। नाम नखुलाउने सर्तमा अलाकी २८ वर्षीया आमाले आँखाभरि आँसु निकाल्दै भनिन्, ‘मेरी छोरी मेरो आँखाको नानी हुन्

अस्पतालमा उपचाररत मृतक अलाकी काकीले पनि आफ्नो आँसु थाम्न सकिनन्। अलाको रगताम्य सेतो र गुलाबी रंगको लुगा देखाउँदै उनले भनिन्, ‘मेरी अलाको रगत अझै सुकेको छैन।’

क्वादोउमको आधा परिवार शोकमा छ। आधा सदस्य इजरायलको अन्धाधुन्ध आक्रमणमा गरी मारिएका छन्। गाजाक्षेत्रका हर–मानिसहरू रोइरहेको छन्। परिवारका सदस्यहरू मौन छन्। बस्ती–बस्ती खरानी भएका छन्।

‘अला मन्टेश्वरी जान खूब् उत्साहित थिइन्। उनका लागि ब्याग र कापी–कलम किन्ने तरखर गर्दै थियौँ। नयाँ ब्याग बोकेर स्कूल जाने सपना देख्नु के अपराध थियो,’ अलाकी हजुरआमाले रूँदै सोधिन्।

अलाको शोक मनाउन आफन्त अस्पतालमा जम्मा भइरहँदा उनका कैयौँ खेलौना खाटमा एक्लै पल्टिरहेका छन्। 

उनी खेलौनालाई एकदम माया गर्थिन्। ‘त्यो पुतली अब अलाकी कान्छी बहिनीले उनको सम्झनालाई जीवित राख्न खेलाउने छिन्,’ उनकी काकीले भनिन्।

इजरायली आक्रमणले गाजाका कैयौँ भाग ध्वस्त भएका छन्। विस्फोटले पीडा भोगिरहेको क्वादोउम परिवारले शान्तिको कामना गरिरहेको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सयौँको अवस्था गम्भीर छ। 

अन्तर्राष्ट्रिय समुदायलाई गाजा अस्पतालमा आवश्यक स्वास्थ्य सामग्री र इन्धन आपूर्ती गर्नका लागि स्थानीयबासीले अपील गरेका छन्। इजरायली सरकारले गाजाक्षेत्रमा बारम्बार सैन्य अभियान चलाउँदा हजारौँ–हजारले ज्यान गुमाएका छन्।

प्रकाशित मिति: : 2022-08-09 14:28:00

प्रतिकृया दिनुहोस्