म्यान्मार फर्किएलान् त रोहिंग्या शरणार्थी !

Ye Aung Thu / AFP - Getty Images file

चीनका विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा रोहिंग्या शरणार्थीलाई म्यान्मारमा पुनः स्थापना गर्न चीनबाट सहयोगका लागि बङ्गलादेशले आग्रह गरेको छ।

भ्रमणका क्रममा दक्षिण एसियाली राष्ट्र बङ्गलादेशको पूर्वाधार विकासका लागि उत्तम व्यापार सम्बन्ध, लगानी र सहयोगको प्रतिवद्धता चिनियाँ विदेश मन्त्रीले गरेका छन्।

चीनले सन् २०१९ को अगस्तमा म्यान्मारमा सैनिक दमनका कारण भागेका करिब सात लाख रोहिंग्या मुस्लिम शरणार्थीहरूलाई पुन: स्थापना गर्न नोभेम्बर २०१७ को सम्झौता गर्न म्यान्मारमा आफ्नो प्रभावको प्रयोग गरेको थियो। तिनीहरूलाई फिर्ता पठाउने प्रयास गरेतापनि शरणार्थीहरूले म्यान्मारमा आफ्नो असुरक्षा हुनसक्ने भन्दै सम्झौता कार्यान्वयन गर्दा आफूहरूको सुरक्षाको ग्यारेन्टीका लागि अन्तरराष्ट्रिय समुदायसँग माग गर्दै आएको छ।

सम्झौता कार्यान्वयनमा म्यान्मारको प्रशासन इमान्दार नभएको बताउँदै आएका रोहिंग्याहरू गत वर्ष निर्वाचित सरकारलाई अपदस्थ गरी सैन्य सरकार गठन भएपछि थप सशङ्कित बनेका छन्।

चिनियाँ विदेशमन्त्री वाङ यी ढाका पुगेका छन्। ढाकामा रहाँदा उनले प्रधानमन्त्री शेख हसिना र विदेशमन्त्री ए.के. अब्दुल मोमेनलगायतका उच्च पदस्थ अधिकारीसँग भेट गरेका छन्। उनको भ्रमणमा द्विपक्षीय र विश्वव्यापी विषयमा छलफल भएको बङ्गलादेशका परराष्ट्र मन्त्री शाहरयर आलमले बताएका छन्।

बङ्गलादेशको चीनसँग बलियो सम्बन्ध छ– जुन अधिकांश कच्चा पदार्थको लागि प्रमुख व्यापारिक साझेदार हो। तर बेइजिङसँग घनिभूत सम्बन्ध कायम राख्नु बङ्गलादेशका लागि चुनौतीपूर्ण छ। यसले चीनको मुख्य प्रतिद्वन्द्वी भारत र अमेरिका दुवैसँग कूटनीतिक र व्यापारिक सम्बन्धलाई पनि सन्तुलित बनाएको छ।

बङ्गलादेशमा ५०० भन्दा बढी चिनियाँ कम्पनीहरू सक्रिय छन्। चीन बङ्गलादेशका बन्दरगाह, नदी सुरुङ र राजमार्गहरूजस्ता सबै प्रमुख आधारभूत संरचना परियोजनाहरूमा संलग्न छ र ३.६ बिलियन अमेरिकी डलरको लागतमा पद्मा नदीमाथि आफ्नो सबैभन्दा ठूलो पुल निर्माण गर्न सहयोग गरेको छ।

प्रकाशित मिति: : 2022-08-08 05:59:00

प्रतिकृया दिनुहोस्