वर्षौंपछि उनका नाम कोरिएका डायरीका पानाहरू जलाउन खोज्दै थिएँ, आगोले भन्यो ‘उनका यादहरु मेटाउन पाना जलाएर हुँदैन दिल नै जलाउनुपर्छ।’ हो पनि- सूर्य, चन्द्रमा, तारालगायत दिन अनि दिन पछिको रात जस्तै छन् उनका यादहरु पनि। थाहा नै नपाइ आइरहन्छन्, कति निष्ठुरी उनका यादहरु! मैले भुल्न लाखौं, अनेकौं प्रयत्न गरिरहेको हुन्छु तर नदीलाई रोक्न खोजेर कहाँ सकिन्छ र? लगातार बगिरहन्छ। यसरी नै क्रमशः आहिरहन्छन् उनका यादहरु पनि।
सबै पीडाहरु शब्दमा बयान गर्न सकिँदैन, परिस्थितिअनुसार बुझ्दै जानुपर्छ। आज जोसंग नजिक छौं, भोलि त्यहीसँग टाढा हुनुपर्छ अनि आज जोसँग टाढा छौं, उसैसँग भोलि नजिक हुनुपर्छ। समयको खेल न हो, आज ऊसँग भएको भोलि मसँग हुन सक्छ अनि आज मसँग भएको भोलि ऊसँग। मिठो पाएपछि पिठो बिर्सिने त मान्छेको स्वभाव नै हो। त्यसैले तिमी बदलियौ भनेर तिमीसँग के गुनासो गर्नु र माया!
०००
सम्झनाका खेलहरु खेल्दै जाँदा कहाँ पुगेर कहाँ कतिबेला जितिन्छ कि हारिन्छ, पत्तै नहुने रहेछ। सम्भावनाका ती मसिना डोरीहरु कतिखेर चुँडिन्छन्, त्यसको पनि पत्तै नहुँदो रहेछ। जिन्दगीका सपनाहरु र भविष्यका ओछ्यानहरू कहाँ कता लगाउँछन्, त्यसको पनि कुनै प्रवाह नहुँदो रहेछ।
हिँड्दै गर्दा बाटोमा घुम्ती आएपछि मोडिनुपर्छ थाहा छ। मोडिँदा पनि ध्यान दिएर मोडिन सकिएन भने ठुलो दुर्घटनामा पर्न सकिन्छ। हो, आज त्यही भएको छ। सायद उनी र म घुम्तीमा अलि बढी मोडिन पुगेर हो कि? हाम्रो माया रूपी बस दुर्घटनाग्रस्त भएको छ।
अन्जानमै अनलाइन क्लासबाट चिनजान भएको हाम्रो सम्बन्ध करिब वर्षदिनको यात्रा संगै तय गरेपछि दोबाटोमा आएर छुटिनु परेको छ। उनलाई भेटेको पहिलो दिन सायद साँझको समय घडीमा ६ बजिसकेको थियो। उनलाई भेट्न जाँदा उनी पर्खेर बारम्बार फोन गरेको क्षण हिजो जस्तै लाग्छ।
०००
कालो पाइन्ट, रातो लामो कोट अनि घाँटीमा मफलर बेरेकी, मुखमा भने मास्क लगाएकी, हातमा मोबाइल फोन खेलाउँदै गोपीकृष्ण सिनेमा हल अगाडिको पुलमा उभिएर मलाई पर्खी राखेकी उनलाई मैले टाढैबाट चिनिहालेँ। बाइक साइड लगाउँदै उनीसँगको पहिलो भेटमै मैले ‘सरी जामले अलि ढिलो भयो’ भन्दै गर्दा उनले ‘इर्टस् ओके’ भनिन्। मैले बाइकमा बस भनेँ, उनले इन्कार गरिन्। ‘जाने ठाउँ एउटै हो किन नमानेकी’ भन्दै कर गरेपछि बस्न तयार भइन्। बाइक स्टार्ट गरेर गन्तव्य तिर लाग्याैँ।
मीठा-मीठा गफ गर्दै उनीसँग बोल्दाबोल्दै वसुन्धरा पुगेकाे पत्तै भएन। ‘सायद फेरि भेट होला नहोला एकछिन बसेर गफ गरौं न’ भनेँ। उनले हुन्न भन्दै थिइन्, मैले कर गरेपछि उनी राजी भइन्। अनि मैले उनलाई ‘भूत खेलतिरै जाऊँ न त्यहाँ सोच्छ बेलुकाको हावा खाँदै गफ गरौंला’ भनेँ, उनले पनि हुन्छ भनिन् अनि हामी त्यतै लायाैँ।
उनीसँग निकैबेर गफ भएको थियो, सायद आज सम्झनामा त्यो पल याद आइराखेको छ। घडीको सुइले सायद ८ बजाइसकेको थियो। उनीलाई भन्ने कुरा जति सबै मैले भनिसकेको थिएँ। अब मलाई पर्खाइ भोलिका दिनमा के कस्तो हुने हो भन्ने थियो। हामी भूत खेलबाट फर्क्यौं। उनलाई उनको कोठा नजिक पुर्याइदिएर म आफ्नो काेठामा आएँ।
०००
बिहान सबेरै मोबाइलमा फोन आयो। रिसिभ गरेँ, उसैको रहेछ। ‘गुड मर्निङ’ भन्दै उताबाट मिठो स्वर कानमा गुञ्जियो, मैले पनि ‘गुड मर्निङ’ भन्दै हालखबर सोधेँ। अनि हाम्रो निकैबेर कुरा भयो। ‘मलाई स्कुल जानु छ, फोन राख्छु ढिलो हुन्छ’ भन्दै उनले फोन राखिन्। फेरि घण्टी बज्यो, फोन उठाएँ। ‘सुन्नु त एउटा कुरा भन्नै बिर्सेछु, मेरो ३ बजे छुट्टी हुन्छ लिन आउनु है’ भन्दै लोकेशन भनेर फोन राखिन्। सायद त्योबेला म जति खुशी र हर्षित कोही पनि भएको थिएन होला।
घरी भित्तामा झुण्डिएको घडी हेर्दै, घरी हातमा लगाएको घडी हेर्दै अनि कतिबेला २:३० होला र उतै जाउँला भन्दै मनमा कौतुहलता भयाे। २ बजे नै रूमबाट निस्केर उनको स्कुलतिर लागेँ। केहीबेरको पर्खाइपछि स्कुलको गेटमा एउटा राम्री सुन्दरीको आगमन भयो, सायद उनी नै थिइन्। नजिकै आएर कतिबेला आएको भन्दै बाइकमा बसेर ‘अब कलेज जाऊँ’ भन्न थालिन्।
बाइक गुड्दै गर्दा मैले ‘आज कलेज न गए हुन्न’ भनेँ। उनको जिद्दी गर्ने बानी, ‘नाइँ जानुपर्छ’ भन्दै हल्का नखरा गर्न थालिन्। मैले अलि फकाएझैँ गरी मिठो बोलीमा ‘आज नजाऊ न’ भनेपछि उनले पनि नजाने निधो गरिन्। ‘अनि कता जाने त हामी’ भन्दै उनले सोध्दा मैले चोभार जान गरेकाे आग्रह उनले पनि स्वीकार गरिन्। हाम्रो दोस्राे दिनको गन्तव्य चोभार बन्यो।
०००
यसरी कहिले कता त कहिले कता उनीसंगै घुमेका ती ठाउँ अनि उनीसँगको आत्मियता निकै प्यारो लाग्न थालेको थियो। एक छिन पनि हामी नबोलेर बस्न नसक्ने भइसकेका थियौँ।
यो प्रेमले मान्छेलाई जिद्दी, पागल, रोगी, ढोगी हरचीज बनाउँदो रहेछ। अर्बौं जनसङ्ख्या भएको यो मानव जगतमा फगत एक मान्छेको साथ पाउनको लागि के-के गर्दैन मान्छे? सबथोक बिर्सिदिन्छ उसैका लागि। हो, मैले पनि उसलाई पाउनको लागि सबचिज बिर्सिएको थिएँ। केवल मेरो समय उनको लागि मात्र व्यतीत थियो।
समयको खेल न हो, सधैं एकनासको कहाँ हुन्छ र? मान्छेलाई जति महत्व दिएपनि समयसंगै मान्छे पनि परिवर्तन हुन बेर नलाग्ने रहेछ। आज उनीसँग बिछोड भएको पनि वर्ष दिन पुगिसके छ। तर उनीसंगै बिताएका ती पलहरु भने ताजै छन्।
उनीसँग छुट्टिए पनि किन यति धेरै आशावादी छु। भो अब यति धेरै पीडा नदेउ, खोटो भाग्यको नाउँमा जीवनमा बाँडेर बाँड्न नसकिने एउटा प्रेरणा बटुलें मैले। बियोगमा मुटु चर्किँदो रहेछ, स्वास-प्रस्वासभन्दा पनि तिम्रै सहयात्राको अभाव महशुस भइरहेको छ मलाई। ती विगतको यात्राको पाइला खोज्न मन लागिरहेको छ, मलाई। आखिर सजिलै बिर्सन सकिने अतित पनि त छैन हाम्रो।
०००
अरुको जीवनमा प्रवेश गर्नेहरु जति खुशी बोकेर आइदिन्छन्, उनीहरु जाँदा पनि जटिल यादहरु व्याजसहित छोडेर गइदिन्छन्। कति शान्त अनि खुशी नै खुशीले रमाइरहेको यो कोमल मनलाई एकछिनमै हुरीबतास चलाइ उजाड मरुभूमि बनाएर गइदिन्छन्। आँखा चिम्लिन्छु, रुन्छु, कराउँछु, बोलाउछु तर तिम्रो साटो याद आउँछ। फेरि सँगै हुन मन लाउँछ अनि आँसु झर्छ। नसम्झिन खोजेको नि होइन तिमिलाई मनले, फेरि चाल पाउँछ अनि आँसु झर्छ।
कस्तो विचित्रको यो याद भन्ने चिज। जे कुरा सम्झन्नँ भन्यो, त्यसले नै सताएर हैरान। अझ सताउने मात्र कहाँ हो र, मुटुमाथि नै हक जमाएर हैरान। कस्तो अनौठो यो आत्मियता भन्ने कुरा पाइन्जेल बुझ्न नसकिने, बुझेपछि पुज्न नसकिने। सेकेन्डपछि मिनेट, मिनेटपछि घण्टा, घण्टापछि दिन अनि दिनपछि रात आउँछ भन्छन् तर मेरो जीवनको सारा समय अन्धकार रातमै रुमलिरहेको छ, माया।
अब मैले पनि अठोट गरेँ- सुख भन्नु त्यस्तै रैछ, खुसी भइ बाँच्न सिक्छु। हाँसो पनि त्यस्तै हो, पीडा लुकाइ हाँस्न सिक्छु। बिधाताको मर्जिलाई मन मुटुमा सजाइ राखी आँखाका ती मोतिका दानाको माला गाँस्न सिक्छु।
तिमीलाई पाउन सकिन भनेर भाग्यसँग केही गुनासो छैन, माया। किनकि साथ भाग्यले होइन, तिमीले छोडेको हो। अनि मलाई कसैसँग गुनासो गर्नु नि छैन। सायद म हिँडेका बाटाहरू गलत थिए, जोडेका नाताहरु गलत थिए या म स्वयम् नै गलत थिएँ।
अन्ततः हरेक कुराको जवाफ मैले पनि दिन सक्थेँ माया तर सम्बन्धको महत्व नबुझ्नेले यी मेरा दुई शब्दको महत्व के बुझ्थ्याै र? सुन्दै छु, तिमीले मलाई खोज्दै छौ रे। म हराएको होइन, तिमीले गुमाएकी हौ। त्यसैले अब मलाई खोजेर आफ्नो अमूल्य समय खेर नफाल, अनि म फर्केर आउने आश मारिदेऊ!