पढनु भनेको ज्ञान लिनु हो। नियम कानुन काइदा सिक्नु हो। सानोमा नियममा बसेको र उचित शिक्षा पाउने नानीहरुले संसार परिवर्तन गर्छन्। कुनै जमाना थियो, स्कुल जानु अनिवार्य हुन्थेन। वैदिक युगमा पनि ब्राह्मन र क्षेत्रीले मात्र शिक्षा पाउँथे। महाभारतमा ‘कर्णलाई’ ‘यकलब्य’ लाई शिक्षा नदिएको उदाहरण छन्, हाम्रो इतिहासमा।
क्लास डिभिजन बच्चादेखि सुरु हुन्थ्यो। संसारभरी नै शिक्षा लिन पाउने/नपाउने सिमांकन जातीय आधारमै थियो भन्दा फरक पर्दैन। जापानमै पनि आजभन्दा साठी बर्ष पहिले त्यहाँ क्लास डिभिजन थियो र त गरीब, मूर्ख अनि पछौटे थियो।
भनिन्छ, कोरियामा दोश्रो विश्व युद्धताका जापानीहररुले धेरै वर्ष शासन गरे। कारण जापानीजहरु मूर्ख र आक्रामक थिए। तर कोरियनहरु शिक्षा भएकै कारण उनीहरु जापानीजहरु जस्तै हतियार उठाउन सक्दैन थिए। तर दोश्रो विश्व युद्धताका जापानको हिरोसिमा र नागाशाकीमा बम प्रहार भएपछि जर्जर बनेको जापान आर्थिक विकास र उन्नतितिर केन्द्रित बने। तर जे गर्दा पनि विकास हुनै सकेन यसको कारण के होला भनी जान्न सरकारले ग्रास लेवलसम्म पुगेर अनुसन्धान गरे। अनुसन्धानले के देखायो भने आम नागरिकबीच राष्ट्रियता प्रेम, भातृत्व र आफ्नोपनको निकै कमी, नागरिकबीच जातीय विभेद छुवाछुत, शिक्षामा विभेद, शिक्षा प्राप्तिमा विभेद।
विश्व युद्धताका खान नपाएर मृत्यु हुने त आम नागरिक नै भए। जापानको ऐलेको झन्डाकै प्रसंग पनि रोचक छ। सेतो चारकुने भुइँमा रातो सानो गोलो के होला? अधिकांश भन्छन्, त्यो सूर्य हो। जापान हुँदा एक प्रोफेसर भन्थे- त्यो सेतो चारकुने भुइँ भात हो र रातो गोलो ओमाबुशी (आलुचा नामको एक सानो फल )।
जब दोश्रो विश्व युद्ध भयो, खाने कुराको अभाव भयो। मानिसहरु भातमाथि एउटा ओमाबुशीको अचारको डल्ला राख्थे र खान्थे। त्यही अवस्थालाई सम्मान गरेर जापानको राष्ट्रिय झण्डा बन्यो। युद्धकालीन खाद्यान्न अभावलाई मध्यनजर गरेर अझै पनि जापानमा दुई वर्षका लागि खाध्यान्नहरु भण्डारण गरिन्छन्। आज जापान जापान हुनुमा तत्कालीन राज्य सरकारको सुझबुझ थियो, आम नागरिकबीच जातीय विभेद, शिक्षाको विभेद, रोजगारीको सुनिश्चितता, स्वास्थ्य, भौतिक पूर्वाधार, महिला सशक्तिकरण इत्यादीको विकासको कारण हो। अनि जापान प्रथम राष्ट्र बन्यो।
सायद अमेरिका, युरोपलगायतका देश जापानमाथि खनिएको कारण होला आफ्नोपन, राष्ट्रियता र विकासका ज्ञानहरु उत्सर्जन भएकाे तर हामी आफ्नै देशमा आफू-आफू लडाइँ गर्दैछौं।
ज्ञानले मानिसलाई परिपक्व र विवेकशील बनाउँछ। विवेकशील मानिसमा क्षमा दान गर्ने क्षमता हुन्छ, केहीलाई छोडेर। हामीले दक्षिण अफ्रिकाको राष्ट्रवाद, अमेरिकाको राष्ट्रवाद, जापानको राष्ट्रवाद, भारतको राष्ट्रवाद र चीनको राष्ट्रवादबाट धेरै कुरा सिक्न सक्छौँ। भारतको राष्ट्रवाद खोज्ने हो भने सिकागो, न्युयोर्कका बजारमा ‘सारी’ बाट सुरु हुन्छ! भन्नुको तात्पर्य महिलाहरु भारतीय ब्रान्डका सारी नै लगाउँछन्, मिठाइ खाने कुरा सब भारतीय प्राेडक्ट।
हप्ते बिदामा टोल नै थर्किने गरी पारिवारिक जमघट हुन्छ, मन्दिरमा पूजा लगाउँदा सबै सन्तान भेला हुन्छन्। ‘पर्शनल स्पेस’ खोज्दैनन्। यस्तै कुरा छन्, जुन राष्ट्रवादको नजरले आंकलन गर्दा फरकभित्र पनि आफ्नो छ, आफ्नोपन छ। राष्ट्रियताको सिमांकन हुँदैन, राष्ट्रियता गफ हाँकेर अनि भाषण गरेर मात्र किटानी र परिभाषित हुने होइन।
राष्ट्रियता र राष्ट्रवादको पूर्णता तब मात्र हुन्छ, जब राष्ट्रभित्र र बाहिर रहेका आफ्ना नागरिकसमेतलाई समेटेकाे आभास, मूल्याङ्कन र ग्रहण गराउन सकिन्छ। नागरिकले पनि आलोचना गरेर मात्र हुँदैन। राष्ट्रप्रतिको कर्तव्य र जिम्मेवारी बोधले हो राष्ट्रवाद र राष्ट्रियताको मूल्याङ्कन हुने र गर्ने।
एकपटक एक नेपाली अमेरिकनसँग कुरा भयो। केही नेपालीहरु भयंकरका राष्ट्रवादी छन्, यता। नेपाली प्रोडक्ट भनेपछि जे पनि किन्छन्, मूल्यको मतलब नै हुँदैन। खुशी होइन, खिस्सी थियो उनको नेपालीहरुप्रति।
वास्तवमा राष्ट्रियता र राष्ट्रवादको महत्व हामी धेरैलाई थाहा नै छैन। जापानका सार्वजनिक स्थानमा रोपिएका कुनै बिरुवा उखेल्नुस्, पक्कै तपाईंलाई नम्र भएर बटुवाले भन्छन, ‘दामे दामे’। आफ्नोपन, आफ्नो देश, आफ्नो मान्छे, आफ्नो प्रोडक्ट।