अमेरिकालाई चीनकाे धम्की: ताइवान जाने दुस्साहस नगरियोस् 

Ministry of Communications and Information, Singapore via AP
Ministry of Communications and Information, Singapore via AP

एशिया क्षेत्रकाे भ्रमणमा रहेकी अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले निरन्तर चिनियाँ अधिकारीहरूकाे धम्की सामना गरिरहेकी छिन्।

आउँदाे मंगलवार बेइजिङ नियन्त्रित ताइवान जान तम्सिएकी उनलाई आफ्नो सेना 'चुपचाप नबस्ने' चीनले धम्की दिएकाे छ। सोमबार एशिया भ्रमण आरम्भ गरेकी न्यान्सीको योजना ताइवानसम्मै पुग्ने छ।

सभामुख न्यान्सी पेलोसीको यात्रा योजनामा ताइवानको विदेश मन्त्रालयले कुनै टिप्पणी गरेकाे छैन।

उनले ताइवान भ्रमण गर्छिन् कि गर्दिनन् भन्ने विषयमा चर्काचर्की चलिरहेको बेला कंग्रेसको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापान जस्ता देशहरु भ्रमण गर्ने पेलोसीको कार्यालयले ताइवानको बारेमा भने केहि बताएकाे छैन।

पेलोसीको ताइवान भ्रमणबारे अमेरिकाले आफ्नो सहयोगी राज्यहरुलाई खबर गरेको एक गुप्त स्राेतले बतायाे। 

पेलोसीले ताइवान भ्रमणको क्रममा चीनको मानव अधिकार उल्लङ्घनको बारेमा खुल्ला रुपमा विरोध गर्दै आएका सामाजिक कार्यकर्ताहरूको सानो समूहसँग भेटवार्ता गर्ने योजना रहेको बताइएकाे छ।

पेलोसीले ताइवान भ्रमण गरे 'चीनको आन्तरिक मामिलामा अपमानजनक हस्तक्षेप' हुने र उनको यस्तो कार्यले चीनको 'अत्यन्तै गम्भीर प्रतिक्रिया र परिणामहरू' निम्त्याउने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बताए।

पीएलए (पिपुल्स लिबेरेशन आर्मी, चिनियाँ सेना) ले के–कस्तो प्रतिक्रिया दिनेछ भनेर झाओलाई सोध्दा जवाफमा उनले भने, 'यदि उनले ताइवान जाने हिम्मत गरिन् भने हामी पनि हेर्ने छौं के हुन्छ।'

चीनले अमेरिकी अधिकारीहरूको ताइवान भ्रमणलाई टापुको स्वतन्त्रता समर्थक शिविरलाई प्रोत्साहनजनक सङ्केतको रूपमा हेर्ने गरेको छ।

वासिङटनको ताइवानसँग आधिकारिक कूटनीतिक सम्बन्ध छैन तर उक्त टापुलाई आफ्नो रक्षाको लागि साधन उपलब्ध गराउन अमेरिकी कानूनले बाध्य गरेको छ।

अमेरिकी राष्ट्रपतिको उत्तराधिकारको पङ्क्तिमा दोस्रो र लामो समयदेखि चीनको आलोचक पेलोसीको ताइवान भ्रमणको समय वासिङटन र बेइजिङबीच बिग्रँदै गएको सम्बन्धको समयअवधिमा पर्न गएको छ।

सन् १९९७ मा ताइवान भ्रमण गर्ने अघिल्लो सभाका सभामुख रिपब्लिकन न्युट गिङ्रिच थिए।

जनमुक्ति सेनाको पूर्वी थिएटर कमाण्डले राज्य सञ्चालित सामाजिक संजालमा अपलोड गरेको भिडियोमा सैन्य अभ्यास र तयारी सहित सेनालाई 'युद्ध संरचनामा उभिन, आदेश आएमा लड्न, सबै शत्रुहरूलाई नष्ट गर्न' आदेश गरेको दृश्य देखिन्छ।

Fully prepared for any eventuality!
Check the video released by the #PLA Eastern Theater Command on #ArmyDay on Mon which marks the 95th anniversary of the founding of the PLA.
-globaltimes.cnpic.twitter.com/aEzoANkqno

— Zhang Meifang张美芳 (@CGMeifangZhang) August 1, 2022

ह्वाइट हाउसले चीनको बयानलाई आधारहीन र अनुपयुक्त भन्दै खारेज गरेको छ। 

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले हिजो बिहान सीएनएनसँगको अन्तर्वार्तामा भनेका थिए, 'हामी एक देशको रूपमा चिनियाँ बयानसँग वा सम्भावित प्रतिक्रियाहरुदेखि डराउनु हुँदैन।सभामुखको लागि यो महत्त्वपूर्ण यात्रा हो र हामी उहाँलाई समर्थन गर्न जे गर्न पनि तयार छाैँ।'

गत बिहीबार भएको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई वाशिङ्टनले एक-चीन सिद्धान्तको पालना गर्नुपर्ने र 'आगोसँग खेल्नेहरूको आगोबाट नै नाश हुने' चेतावनी दिएका थिए।

बाइडेनले ताइवानमा अमेरिकी नीति परिवर्तन नभएको र वाशिङ्टनले यथास्थिति परिवर्तन गर्ने र ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई कमजोर पार्ने चीनको एकपक्षीय प्रयासको कडा विरोध गरेको सीलाई बताए।

स्थानीय मिडियाले अनुमान गरे अनुसार पेलोसी बिहीबार भ्रमणमा ताइवान आउँदै छिन् कि छैनन् भनेर प्रश्न गर्दा ताइवानका प्रधानमन्त्री सु त्सेङ-चांगले जवाफ दिएनन्। 

'देश भ्रमणमा आउने प्रतिष्ठित विदेशी पाहुनाहरूको हामी जहिले हार्दिक स्वागत गर्दछौं,' उनले ताइपेईमा पत्रकारहरूलाई भने।

पेलोसीले ताइवानको भ्रमण गरेमा बेइजिङले अहिलेसम्म नगरेको सबैभन्दा कडा प्रतिकारात्मक कदम चाल्ने तर ठूलो सैन्य द्वन्द्वको अपेक्षा नरहेको बेइजिङको रेन्मिन युनिभर्सिटीका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक शि यिनहोङले बताए।

अमेरिकी सेनाले पेलोसीको ताइवान भ्रमण 'अहिलेको अवस्थामा उचित नरहेको' भन्ने विश्वास गरेको बाइडेनले गत बुधबार पत्रकारहरूलाई बताएका थिए।  (एजेन्सीको सहयोगमा)

प्रकाशित मिति: : 2022-08-02 12:00:00

प्रतिकृया दिनुहोस्