अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु

बिएल संवाददाता

जाबलपुर, भारत
Photo– aajtak.in
Photo– aajtak.in

भारतको एक अस्पतालमा आगलागी हुँदा कैयौँको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

मध्य–प्रदेशको जाबलपुरस्थित न्यू लाइफ अस्पतालमा भएको आगलागीमा परी १० जनाको मृत्यु भएको हाे।

आगलागीमा आधा दर्जनभन्दा बढी बिरामी जलेका छन्। स्रोतकाअनुसार आगलागीका कारण अस्पताल वरपर त्रासको माहौल कायमै छ।

अहिलेसम्म १० जनाको मृत्यु भएको जाबलपुरका सीएसपी अखिलेश गौरले जानकारी दिएका छन्। अस्पतालभित्रबाट ७ जनाको शव बाहिर निकालेर पहिचान गरिएको छ।

अस्पताल स्रोतकाअनुसार अन्य पाँच जना गम्भीर घाइतेको थप उपचार भइरहेको छ। आगलागीले भयानक अवस्था सिर्जना गरेको गौरले बताएका छन्।

उद्धारका लागि खटिएको टोली झण्डै आधा घण्टा अस्पतालभित्रै फसेको अधिकारीहरू बताउँछन्। मध्य–प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकका आफन्तलाई जनही ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

‘अस्पतालमा कति विरामी भर्ना भएका थिए’ भन्ने विवरण अहिलेसम्म सार्वजनिक भएको छैन। न्यू लाइफ अस्पतालमा करिब १०० जना बढी कर्मचारी कार्यरत छन्।

मृतकको कुल संख्या अझै बढ्न सक्ने शंका गरिएको छ। दमोह नाकाबाट कैयौँ मानिसले बिरामीको चिच्याहट पनि सुनेको बताएका छन्। लगत्तै उनीहरूले प्रहरी र दमकललाई खबर गरेको स्थानीय प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-08-01 18:19:00

प्रतिकृया दिनुहोस्