आजको दिनमा नेपालको राजनीतिलाई नियाल्ने हो र भविष्यको आंकलन गर्ने हो भने त्यो अत्यन्त अत्यासलाग्दो देखिन्छ। किन ? किनभन्दा राजनीति भनेको जनताको सेवा हो। त्यो सही विचार, कार्यक्रम र नीतिको निर्माण र त्यसको कार्यान्वयन हो भन्ने चिन्तन करिब–करिब सक्कि नै सकेको छ।
पहिला–पहिला मान्छेहरु पार्टीमा किन लाग्थे भन्यो भने निरङ्कुशताको विरुद्धमा प्रजातन्त्र ल्याउने, जहानियाँ शासनको ठाउँमा जनताको शासन ल्याउन भन्ने हुन्थ्यो। त्यसरी राजनीतिमा लागेकाहरुमा न कुनै लोभ लालच थियो न सत्तामा पुग्ने कुनै सपना नै थियो। उनीहरुसँग थियो त केवल एउटा सुन्दर सपना थियो, नेपाललाई प्रजातान्त्रिक मुलुक बनाउने जहाँ जनताको लागि जनताको प्रतिनिधिले शाषण गर्ने व्यवस्था हुनेछ। प्रजातान्त्रिक नेपालको स्थापना गर्ने त्यो सुन्दर सपनालाई त्यस्तो सपना देख्नेहरुले बढो मेहेनतले साकार पनि बनाए। हजारौंको त्याग तपस्या बलिदानी र मेहेनतले नेपालले जहानियाँ राणा शासनदेखि निरङ्कुश पञ्चालयती व्यवस्था मात्रै हाेइन स्वार्थी निरङ्कुश र अधिनायकवादी शाही शासनको पनि अन्त्य गर्दै नेपाललाई लोकतान्त्रिक गणतन्त्र बनाउन सफल रहे।
तर, बिडम्वना हरेक व्यवस्थामा आएको सकारात्मक शाब्दिक परिवर्तनसँगै कुनै बेला लोभ लालच नभएका तिनै स्वप्नजीवि नि:स्वार्थीहरुमा निरन्तर विचलन आउँदै गयो। सत्ता र शक्तिको कल्पना समेत नगरिकन त्याग र बलिदानमा होमिएको त्यही पङ्क्तिका अधिकांश आज सत्ता र शक्तिबिना जीवन कल्पना गर्नै नसक्ने भएका छन। अहिले तलदेखि माथिसम्म पार्टीमा मान्छे किन लागेको छन भनेर हेर्याे भने कहीँ न कहीँ केही न केही स्वार्थले लागेका छन। देश जनताको चिन्ताले राजनीतिमा लाग्ने भन्ने संस्कार नै मृतप्राय भएको छ। अनि जो साँच्चैमा निष्ठा, इमान र स्वच्छता विश्वास गर्छन्, तिनीहरुलाई निरन्तर कमजाेर बनाउने मात्रै हाेइन, उनीहरुलाई असफल चित्रित गर्ने गराउने होड नै चलेको छ।
यस्तैमा फेरि अहिले राजनीतिमा नयाँ अनुहारहरु भन्ने नाममा महत्वकांक्षा बोकेका तर कुनै अनुभव योजना र कार्यक्रम नभएकाहरुले राजनीतिमा आफूलाई उदय गराउन खोजिरहेका छन्। दु:खका साथ भन्नुपर्छ कि अहिले व्याप्त अवसरवाद, व्यक्तिवादको सत्यतालाई हेर्दा अहिले म के–के नै गर्छु भन्नेहरुको मनमा पनि देश र जनतालाई केही गर्ने भन्दा आफैंलाई केही गर्छु भन्ने चिन्तन नै होला भन्दा गलत नभइएला। यद्धपि, गलत भइइयोस् भन्ने कामना छ। र, यदी साँच्चै उहाँहरुमा केही गर्छु भन्ने नै रहेछ भने पनि उहाँहरुसँग त्यसको लागि आवश्यक योजना रणनीति केही छैन। हुन त अहिले कतिपयले म यसलाई/त्यसलाई हराउँछु अनि यस्तो बन्छु, त्यस्तो बन्छु भनेको पनि सुन्न र पढन पाइन्छ। उहाँहरुमध्ये कतिपयले संसारका सफल देशहरुमा यस्ता नेता वा त्यस्ता नेता भन्ने गरेको पनि सुनिएको छ। तर, राजनीतिमा लाग्छु, सांसद मन्त्री हुन्छु भन्नेहरुमध्ये धेरैसँग मन्त्री प्रधानमन्त्री भएमा के गर्छु भन्ने कुनै ठोस योजना छैन।
उहाँहरुले चर्चा गर्ने, तारिफ गर्ने विदेशी नेताहरुको नाम उमेर त उहाँहरुले राम्रै जान्नुभएको देखिन्छ। तर, के उहाँहरुलाई तिनले पदमा पुग्नु अगाडिनै आफू नेतृत्वमा पुग्दा देशको विदेशनीति, सुरक्षानीति, अर्थनितिलगायत राज्य चलाउन आवश्यक नीतिदेखि त्यसको कार्यान्वयनको मोडेल समेतलाई जनतामा प्रस्तुत गरेर त्यसको अनुमोदनको रुपमा विजय हासिल गरेको तथ्यको चाहिँ हेक्का छैन जस्तो लाग्छ। नत्र आज अबको राजनीतिमा यसो वा त्यसो गर्छौं भन्नेहरुले भएका नेताहरुलाई गाली गर्ने र उनीहरुलाई नालायक करार गर्नुको अलावा देश संचालनको सम्वन्धमा आफ्ना नीति ल्याएको खै ? छैन। किन छैन त भन्दा उहाँहरुलाई पनि पदमा पुग्ने, त्यससँगै प्राप्त हुने सेवा सुविधा भोग्ने हतारो मात्रै छ। तथ्यले मलाई गलत सावित गरोस् भन्ने कामनासहित लेख्छु कि अहिले उदाउन खोजेका मध्येमा एउटा धराने मेयर हर्क साम्पाङ्गले मात्रै केही गर्ने छाँट ल्याउने देखिएको छ।
किन ? किनभने उनले आफू मेयर बनेर के गर्ने भन्ने सोच पहिले बनाएका थिए। जनताले त्यसलाई पत्याए उनलाई जिताए अनि आज उनी आफू जे गर्छु भनेर आएका थिए, त्यही गरिरहेका छन। उनले आफ्नो जिम्मेवारी अहिलेलाई धरानबाट सुरु भएर धरानमै सकिन्छ भन्ने बुझेर धरानमै काम गरेका छन। भोलि देशकै नेतृव लिन्छु भनेर भन्ने हुँदा पनि उनले त्यसै अनुसारको नीति योजना सुरुमै ल्याउने र आफू विजय हुँदा त्यसको कार्यान्वयन गर्लान् भन्ने आशा राखौं। किनकि गर्नुपर्ने नै त्यही हो। तर, जे जसरी भए रहेका नेताहरुलाई गाली गलौंज गर्ने र त्यसैको आधारमा नै कहीं कतैबाट चुनाव जित्ने जुन सोच र प्रवृति देखिएको छ, त्यसले केही कतै कोहीलाई फाइदा होला तर देशलाई हुने छैन। किनभने देशको धरातलीय यथार्थको कदर गर्दै नीति कार्यक्रम योजना बनाउने र त्यसलाई कार्यान्वयन गराउने सम्मको स्पष्ट रोडम्याप बिनाको हुटहुटिले कहीं पुगिने वाला छैन। अनि त्यसभन्दा पनि अझै ज्वलन्त त् महत्वपूर्ण कुरा त राजनीति मात्रै नभई आम रुपमै झाङ्गिदै गएको अवसरवाद र व्यक्तिवादको निस्तेजीकरण नभई कोही कसैले केही गर्न सक्ने छैन।
आम रुपमै व्यापक बन्दै गएको अवसरवाद, व्यक्तिवाद अनि चरम बन्दै गएको लोभी लालची प्रवृतिको सत्य मनन् गर्न धेरै अध्यन अनुसन्धान गर्नै पर्दैन केवल माधव नेपालको नियतिलाई थोरै अध्यन गर्दा हुन्छ। त्यो किन भनेको ? वा किन माधव नेपाललाई नै उदाहरणको रुपमा लिएको भन्ने सवाललाई सुरुमै खारेज गर्न यो स्पष्ट पारौं कि राजनीतिमा हाल शीर्ष स्थानमा रहेकाहरु मध्येमा अनेकन अवसर पाउँदा पनि अहिलेसम्म आर्थिक रुपमा बिटुलो नभएको एक मात्रै नेता माधव नेपाल नै हुन् भन्ने मेरो अखण्डित विश्वास अनि लोभी लालची र अवसरवादीहरुबाट पटक–पटक धोका खाएको एक जीवन्त पात्र समेत उहाँ रहेकोले उहाँको चर्चा वान्छनीय हुने ठानेर उहाँको नाम उल्लेख गरको हुँ। यति भनेर अब चर्चा गरौँ माधव नेपाल र उहाँको उत्तारचढाव र त्यसबाट सिक्नपर्ने कुराहरुको।
धेरै लामो चर्चा नगरी यति भनौं कि शान्ति स्थापना पश्चात भएको चुनावमा जनताले माओवादीलाई भोट नदिँदा स्थापित शान्ति स्थायी नहुने ठानेर माओवादीबाहेक अरु पार्टीलाई खास मत नदिन गरेको सुझबुझपूर्ण निर्णयको बाइ प्रोडक्टको रुपमा प्राप्त अस्थायी हारकै अवस्थामा पनि पार्टी पराजयको नैतिक जिम्मेवारी बोकेर राजीनामा दिएदेखि नै माधव नेपालले दुनियाँ कति स्वार्थी अवसरवादी र बहुमुखी हुन्छ भन्ने अनुभूति गर्दै आउनु भएकै छ। पार्टीगत जिम्मेवारी छोडेर बस्दाको बेवास्तादेखि फेरि प्रधानमन्त्री हुँदा तिनै बहुमुखी अवसरवादीहरुको उहाँप्रतिको भक्ति र चाकरी दुनियाँले देखेकै हुन्। त्यसपछि पार्टीभित्र उहाँले लिएका अडानहरुमा आफ्नो भाग्य भविष्यको साइनो खोज्ने छेपाराहरुले माधव नेपाललाई नजानिँदो ढंगले के कसरी प्रयोग गरेका थिए ? भन्ने बुझ्न नेकपा हुँदै एमाले विभाजनसम्म हामी सबैले कुर्नु पर्याे।
जब व्यवाहारिक रुपमा संविधाननै च्यात्ने आफ्नो नेतृत्वको खिलाफ उभिएर भए पनि संविधान जोगाउने दृढता माधव नेपालले देखाउनुभयो तब कुनै बेला कडा क्रान्तिकारी देखिनेहरुको खुट्टीको दम बल्ल देखिए। आफ्नै नेतृत्वको गलत सोच शैली र व्यवाहारविरुद्ध चुनौतीको सामना गरेर पनि उभिने निर्णय गर्दै गर्दा मात्रै माधव नेपालसहित दुनियाँले थाहा पाए कि उहाँभन्दा कडा क्रान्तिकारी देखिने कथित नेताहरु त स्वार्थ, अवसरवाद र बहुरुपियापनको नमुना रहेछन। खैर जे होस् माधव नेपालले आफ्नो राजनीतिक जीवन दाउमै लगाएर भए पनि संविधान जोगाउनुभयो, असंवैधानिक रुपमा विगठित संसद जोगाउनुभयो। कतिपयले त्यसलाई कांग्रेसलाई प्रधानमन्त्री बनाउने कदमको रुपमा एकोहोरो व्याख्या गरेको गरेकै छन तर सत्य के हो भने माधव नेपालको त्यस कदमले को प्रधानमन्त्री भयो त्यो मूल कुरा नभई बल मिचाइँको भरमा संविधानलाई अर्थहीन बनाउने खेल र खेलाडीलाई दह्रो झाप्पु दिनु चाहिँ मुल कुरा थियो। चुनौतीको सामना गरेर संविधान जोगाउने माधव नेपालको त्यस कदममा साथ दिनेहरुको सानो भए पनि पङ्क्ति देखिएकै थियो, जसलाई हामी सबैले राजनीतिमा निष्ठा, इमान र प्रतिवद्धताको अवशेषको रुपमा बुझियो। तर, समयक्रममा त्यसभित्र पनि स्वार्थ र अवसरवादका सिखण्डीहरु पनि रहेछन भन्ने त मन्त्री बन्ने, हट्ने अनि बन्ने क्रममै पनि देखियो।
आज दु:खका साथ लेख्नुपर्छ कि सकारात्मक मन भएकाहरुले, विधि पद्धति र सुशासनका पक्षधरहरुले गरेको विद्रोह ठानिएको त्यस विद्रोहमा सामेलमध्ये पनि कतिपय चाहिँ सत्ता शक्तिको आफ्नो अतृप्त चाहना बोकेर विद्रोही बनेका रहेछन। यदी त्यसो हुने थिएन र त्यस विद्रोहका हिस्सेदार बन्ने सौभाग्य पाएका सबैले माधव नेपालकोभन्दा आधा मात्रै सक्रियता देखाएको भए आजको जस्तो सूचना संचारमा जनताको व्यापक पहुँच भएको समयमा नेकपा (एकीकृत समाजवादी) देशको वैकल्पिक शक्ति बनि सक्ने थियो। त्यसो हुन सकेको छैन ? किनभन्दा त्यस पार्टी निर्माणमा लाग्नुपर्ने नेताहरु नै आफू को सँग जोडिन पाउँदा वा काे सँग छोडिँदा आफ्नो लागि जाबाे सांसद पद सुरक्षित हुन्छ भन्ने हिसाब किताबमै व्यस्त भएकोले माधव नेपाल र उहाँसँग रहेका आशा लाग्दो युवा पुस्ताले चाहे जस्तो गरेर त्यो पार्टीले रफ्तार लिन सकेको छैन। माधव नेपाल र उहाँको पार्टीले भोगेको चुनौतीबाट सबैले सिक्नु र बुझ्नुपर्छ कि राजनीतिमा अवसरवाद, व्यक्तिवाद र बहुरुपियापन हावी छ। तर, त्यसो भन्दै गर्दा फेरि पनि आशा छ कि अवसरवाद, व्यक्तिवाद र पदलोलुपहरुको पंक्तिलाई छोडेर भए पनि त्यस पार्टीले एउटा नयाँ गति समात्ला। अनुभवी, स्वच्छ नेतृत्व र स्वप्नजीवि युवाहरुको जोशको फ्युजनके आशाको नयाँ किरण ल्याउनेछ।
यद्धपि त्यसो हुनुभन्दा अगाडि माधव नेपाल अनि त्यस पार्टीमा नि:स्वार्थ लागेका धेरैलाई निरुत्साहित पार्न अनेकन हिसाबले प्रहार चाहिँ भइरहने छ। माधव नेपालको पार्टी यस्तो भयो वा त्यस्तो भयो अनि त्यसमा यस्तो वा त्यस्तो असन्तुष्टि भयो भनेर आइरहेका टिकाटिप्पणीहरु निरासा पैदा गराई त्यस पार्टीको त्यही राम्रो पङ्क्तिलाई विचलित पार्ने खेलकै अङ्ग हुन। तर, त्यसो भनेर फेरि एकीकृत समाजवादी वा त्यस्तै अर्को कुनै पार्टीहरुको लागि चुनौती कम सम्भावना ज्यादा छन भन्न खोजेको चाहिँ हाेइन है।
बिहानदेखि बेलुकासम्म आफू र आफ्नालाई अवसर माग्ने, भएको सबै आफैंलाई चाहिने, आफूले पाउँदा सबै ठिक नपाउँदा सब बर्वाद भन्ने चिन्तन यत्रतत्र सर्वत्र व्याप्त छ। पहिला त्यस चिन्तनलाई बदल्ने, त्यस्ता चिन्तन बोकेकालाई सच्याउने, सुधार्ने वा राजनीतिबाट सिध्याउने काम गर्न जरुरी छ। त्यसपछि मात्रै हो निष्ठा, इमान, स्वच्छता र सरलतालाई जीवन बनाउने नेतादेखि पार्टी सफल हुने हो। त्यसैले अहिले नेपाल र नेपालीको लागि केही गर्छु भन्ने हो भने लोभी लालाची स्वभाव छ भने त्याग्ने, भएकाहरुलाई सुधार्ने अनि अवसरवाद र व्यक्तिवादलाई कमजाेर पार्ने काममा लाग्नु पर्छ। नत्र त न भएका ठुला पार्टीहरुले केही गर्ने छन वा ठुलो बन्नुपर्ने पार्टीहरु नै ठुलो हुन सक्नेछन।
सिंधै भनौं न यस्तै अवसरवाद कायम हुने हो भने त माधव नेपालले त के कुरा भगवानले पनि केही गर्न सक्दैनन। फेरि कमजाेर छ भनिएकाहरुले निरासा हुन पनि पर्दैन अनि बलियो र ठुला छु भन्नेहरुले हौसिन पनि पर्दैन। किनकि अहिलेको यथार्थलाई मनन गर्ने हो भने स्वार्थी अवासवादी प्रवृति यति जड छ कि ठुला रहेकाहरुबाट भन्दा ठुलो नभएकाहरुबाट स्वार्थ पूरा हुने देखियो भने स्वार्थी र अवसरवादी जमातले छलाङ्ग मार्न बेर लगाउने छैनन्। त्यसैले राजनीति सुधार्ने हो भने राजनीति गर्छु भन्नेमा त्याग, बलिदान, निष्ठा र इमानको भावनाको विकास गराउनु चाहिँ अनिवार्य छ। त्यति हुँदा चाहिँ बन्नु पर्ने पार्टीहरु आफैं बन्ने र सक्किनुपर्नेहरु आफैं सकिने छन्।