मेरिल्याण्ड प्राइमरीको सम्भावित परिणाम र नेपाली समुदायलाई शिक्षा

अमेरिकाको मेरिल्याण्ड राज्यमा जुलाई १९मा सम्पन्न प्राइमरी चुनावको अन्तिम नतिजा अझै आइसकेको छैन । चार नेपाली चुनावी प्रतिस्पर्धामा उत्रेपनि मतगणनाको  पछिल्लो स्थिति हेर्दा नेपालीको पक्षमा उत्साहजनक परिणाम आउने सम्भावना क्रमश: क्षीण हुँदैछ ।  

निर्वाचनमा उम्मेद्वार भएका चार उम्मेद्वारमध्ये दुईका प्रतिस्पर्धी नै नभएर अनअपोज्ड थिए,  उनीहरू जोगिएका छन् भने प्रतिस्पति भएर अनअपोज्ड हुन नसकेका दुई उम्मेद्वार भने प्रतिस्पर्धामा धेरै पछि परेर जीतबाट टाढिदैछन् ।  

डिस्ट्रिक्ट ८ बाट मेरिल्याण्ड हाउस अफ एसेम्बेली सदस्यका लागि दोस्रो कार्यकालका लागि डेमोक्रेटिक उम्मेद्वारमा अनअपोज्ड रहेका डेलिगेट डा. ह्यारी भण्डारी लोकप्रिय मतको दोस्रो स्थानमा रहेका छन् । उनी अहिलेका अर्का डेलिगेट कार्ल ज्याक्सनभन्दा ३४ मतले पछि छन् । जबकि निर्वाचनको राति जुलाई १९ मा भएको प्रारम्भिक मतगणनामा डा. भण्डारी  ज्याक्सनभन्दा २४ मतले मात्र पछि थिए । मतगणनाको क्रममा त्यो मतान्तर ९ मा झरेपनि त्यो कामय हुन सकेन, बढेर अहिले ३४ पुगेको हो । 

अहिले डेलिगेट डा. भण्डारीभन्दा अगाडि रहेका डेलिगेट ज्याक्सन २०१८ को प्राइमरीमा भण्डारीभन्दा ६९५ मतले पछि थिए । उनी जनरल इलेक्सनमा त भण्डारीभन्दा १८६२ मतले पछि परेर निर्वाचित हुन सकेनन् । तीन स्थानका लागि भएको निर्वाचनमा दोस्रो लोकप्रिय मतका साथ भण्डारी डेलिगेट निर्वाचित भएका थिए । पहिलो स्थानमा रहेर विजयी डेमोक्रेटिक डेलिगेट एरिक ब्रम्वेलले राजीनामा दिएपछि ज्याक्सन मनोनित भएका थिए । 

अहिले डेलिगेट डा. भण्डारी डिस्ट्रिक्ट ८ बाट निर्वाचित एक मात्र डेमोक्रेटिक डेलिगेट हुन् । पार्टीको केन्द्रीय सदस्यसमेत रहेका उनी वरिष्ठ नेता तथा अग्रज डेलिगेट पनि हुन्। यसरी हेर्दा उनी पहिलो लोकप्रिय मतका साथ डेमोक्रेटिक प्राइमरी छिचोल्नुपर्थ्यो तर उनलाई त्यो सफलता हात लाग्ने सम्भावना नसकिए पनि क्षीण हुँदैछ । त्यसो भएका यो एक किसिमको मनोवैज्ञानिक धक्का हुनेछ ।

डिस्ट्रिक्ट ८ बाट डेमोक्रेटिक पार्टीको केन्द्रीय सदस्यका लागि उम्मेद्वार रहेका अर्का नेपाली अर्जुन हमाल चौथो स्थानमा छन्। तीन स्थानका लागि भएको निर्वाचनमा उनी तेस्रो स्थानमा रहेका उम्मेद्वारभन्दा २९४ मतले पछि परेका छन् । जबकि निर्वाचनको राति जुलाई १९ मा भएको प्रारम्भिक मतगणनामा उनी १४३ मतले अगाडि थिए । अर्ली भोटिङ र निर्वाचनका दिन भएको मतगणनामा अघि रहेका उनी मेले-इन(ब्यालेट र प्रोभिजनल भोटिङमा पछि परे । सामान्यत: यस्तो नभए पनि दुर्भाग्य नै भन्नुपर्छ, उनका लागि यसपटक यस्तै भएको छ ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा जुलाई १९ मा सम्पन्न प्राइमरी चुनावको अन्तिम नतिजा अझै आइसकेको छैन । डेमोक्रेटिक प्राइमरीमा चार नेपाली उम्मेद्वार रहेकोमा मतगणनाको  पछिल्लो स्थिति हेर्दा अनअपोज्ड रहेका दुईलाई शान्तवना जीत मिले पनि प्रतिस्पर्धामा रहेका दुई उम्मेद्वार भने पराजित हुने  सम्भावना बढ्दो छ ।

यसैगरी केन्द्रीय सदस्यका अर्का उम्मेद्वार इन्द्र थापाक्षेत्री अरू पछि परेका छन् । उनी निर्वाचित हुने तेस्रो उम्मेद्वारभन्दा १०४५ मतले पछि छन्  जबकि उनी पनि अर्ली भोटिङ र निर्वाचनका दिन भएको मतगणनामा यति धेरै पछि थिएनन् । 

मेल-इन-ब्यालेट र प्रोभिजनल भोटको प्रवृति हेर्दा अब यी दुई नेपालीको जित्ने सम्भावना लगभग सकिएको छ भन्दा पनि हुन्छ । 

स्मरणीय रहोस्, हमाल वर्तमान कार्यसमितिमा मनोनित केन्द्रीय सदस्य हुन् । पहिलोपटक निर्वाचनमा सहभागी भएर निर्वाचित केन्द्रीय सदस्य हुने उनको इच्छा यसपटक पूरा नहुने भयो । लामो समयदेखि फ्रेण्ड्स अफ ह्यारी भण्डारीका कोषाध्यक्ष रहेका थापाक्षेत्री भने वर्तमान केन्द्रीय सदस्य रहेका डेलिगेट ह्यारी भण्डारी उम्मेद्वार नभएपछि उनको स्थानमा उम्मेद्वार भएका हुन् । 

दुबै उम्मेद्वार डेमोक्रेटिक पार्टीको संस्थापन टिममा नपरेपछि पराजित हुन पुगेका हुन् । एसियाली मूलका अल्पमतहरूको प्रतिनिधित्व गर्ने उनीहरूलाई संस्थापन पक्षले एक किसिमले बहिस्करणमा पारेको थियो । यो एक किसिमको तीतो सत्य हो । 

डिस्ट्रिक्ट ७ ए मा अनअपोज्ड रहेकाले सतीश चापागाईं केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । पुरूषतर्फ दुई केन्द्रीय सदस्य चाहिनेमा एकजना चापागाईको मात्र उम्मेद्वारी परेको थियो । अझै एक सिट खाली नै रहेकाले चापागाईंको जीत सुनिश्चित भएको हो। यो जीतलाई जतिसुकै ठूलो साइजका अक्षरमा नेपाली अनलाइनहरूले हेडलाइन बनाएर फेसबुकमा सेयर गरे पनि यो एक प्रकारको शान्त्वना जीत मात्र हो । यही डिस्ट्रिक्टमा दुई महिला केन्द्रिय सदस्यका लागि तीनजनाको उम्मेद्वारी परेकोमा भारतीय मूलकी गायत्री गुप्ता पराजित भएकी छिन् । उनको यो पराजयले पनि पुरूष केन्द्रिय सदस्यका लागि दुईभन्दा बढीको उम्मेद्वारी परेर चुनाव भएको भए चापागाईंको सम्भावना के हुन्थ्यो भन्ने अनुमान गर्न सकिन्छ । 

समग्रमा मेरिल्याण्डमा अनअपोज्ड रहेका दुई नेपाली डेलिगेट डा. ह्यारी भण्डारी र सतीश चापागाईंलाई शान्त्वना जीत हात लाग्ने देखिन्छ भने प्रतिस्पर्धामा रहेका दुई नेपाली अर्जुन हमाल र इन्द्र थापाक्षेत्रीको जित्ने सम्भावना लगभग सकिएको छ । 

यो सम्भावित परिणामलाई लिएर मेरिल्याण्डको नेपाली समाजमा मिश्रित प्रतिक्रिया पाइएको छ । यो चुनावमा केही नेपालीहरू खुलेरै नेपालीलाई हराउन लागेका थिए भने केहीको मुखमा रामराम बगलीमा छुरा थियो । यो परिणामबाट यी दुबै खाले खुशी देखिएका छन् । यद्यपि, उनीहरू यो खुशी खुलेरै देदखाउन सकिरहेका छैनन् । त्यसो गर्दा समुदायको कालो सूचीमा परिने हो कि भन्ने उनीहरूलाई डर छ । 

तर, यस्तो संख्या सानो भएकाले यसलाई मेरिल्याण्डका समग्र नेपाली समुदायको मत मान्न सकिन्न ।  त्यस्तो मानियो भने मेरिल्याण्डका सङ्लो मन भएका नेपालीमाथि अन्याय हुन्छ। 

मेरिल्याण्डका धेरै नेपालीहरू नेपालीलाई जिताउन लागिपरेका थिए । तन, मन र धनले सहयोग गरेका उनीहरू यो परिणामबाट दु:खी छन् । 

मेरिल्याण्डका नेपालीहरू मिलेको भए डेलिगेट डा. ह्यारी भण्डारी पहिलो लोकप्रिय मतका साथ जनरल इलेक्सनमा जान सक्थे । यसले उनलाई मनोवैज्ञानिक बल दिन्थ्यो । तर, सबै नेपाली मिलेर लागे पनि डेमोक्रेटिक केन्द्रीय सदस्यमा भने अर्जुन हमाल र इन्द्र थापाक्षेत्रीलाई जिताउन सक्दैनथे । उनीहरू एकजना पनि संस्थापन टिममा नपर्नु नै हारको मूल कारण हो । यसमा आप्रवासीमैत्री र बहुसांस्कृतिक चरित्र भएको दाबी गर्ने डेमोक्रेटिक पार्टीको स्थानीय निर्वाचित र पार्टी नेतृत्व चुकेकै हो । 

बाल्टिमोरको नेपाली समुदायको सबैभन्दा ठूलो समस्या यहाँ प्रश्न गर्ने संस्कार नै छैन। जस्ले प्रश्न गर्छ उसले उत्तर त पाउँदैन नै, ऊ बहिस्करणमा पनि पर्छ । साम, दाम, दण्ड, भेद लगाएर उसको बोल्ती बन्द गराइन्छ । अरूबेला आपसमा स्वार्थ बाझिएका पनि यस्तो बोल्ती बन्द गराउन भने  यो वा त्यो नाममा सबै मिल्छन् । 

यो पाठबाट स्थानीय  डेमोक्रेटिक नेतृत्वले शिक्षा लिन सके उनीहरूकै भलो हुनेछ । जहाँसम्म नेपाली समुदायको प्रश्न हो, बाल्टिमोरको नेपाली समुदाय यति ससाना पेटी स्वार्थका कारण ठाडो चिरा परेको छ कि यसलाई जोडेर अगाडि बढ्छु भन्नु एक किसिमको समय, स्रोत र साधनको बर्बादी मात्र हो । यसका लागि मुलत:  यहाँका ठूला नामहरू  जिम्मेवार छन् । उनीहरूको दिमाखमा कोठे राजनीति गर्ने र एकले अर्कालाई निषेध गर्ने विषाक्त सोच नराम्ररी भरिएको छ । अर्को समस्या, रातारात धनी हुने लोभले बढ्दो बिजनेस इन्ट्रेस्टले पनि काम गरेको छ । यहाँका अधिकांश समाजसेवीको देखाउने र चबाउने दात फरक छ । उनीहरू समाजसेवाको अवतारमा आफ्नो ब्यापार बढाउने होडमा छन् ।

बाल्टिमोरको नेपाली समुदायको सबैभन्दा ठूलो समस्या यहाँ प्रश्न गर्ने संस्कार नै छैन। जस्ले प्रश्न गर्छ उसले उत्तर त पाउँदैन नै, ऊ बहिस्करणमा पनि पर्छ । साम, दाम, दण्ड, भेद लगाएर उसको बोल्ती बन्द गराइन्छ । अरूबेला आपसमा स्वार्थ बाझिएका पनि यस्तो बोल्ती बन्द गराउन भने  यो वा त्यो नाममा सबै मिल्छन् । 

बाल्टिमोरको नेपाली समुदायको तीतो सत्य यही हो । यो सत्यलाई स्विकारेर सबैले आआफ्नो भागको फोहोर सफा गर्ने हो भने यहाँको नेपाली समुदाय अगाडि बढ्ने प्रचुर सम्भावना छ । किनकि, यहाँको नेपाली सुमदायसँग अमेरिकाको इतिहासमै पहिलो नेपाली डेलिगेट डा. ह्यारी भण्डारी दिने इतिहास छ र उनले एनापोलिसमा आफूलाई प्रभावशाली रूपमा प्रस्तुत गरेर नेपालीको नाम र कामलाई स्थापित पनि गरेका छन् । उनीमार्फत् भएको यो उपलव्धी जोगाउँदै अगाडि बढ्ने हो भने समयक्रममा थप उपलव्धी हासिल हुनेछ।
 
अन्यथा,  अहिलजस्तै एकले अर्काको अस्तित्व नै अस्विकार गर्ने खालको 'क्यान्सिल कल्चर' को चरम अभ्यास गर्ने र आआफ्नै कुवामा रमाउने हो भने प्राप्त उपलव्धी पनि गुम्ने सम्भावना स्वभाविक रूपमा बढ्ने छ । त्यस्तो अवस्थामा सबैभन्दा पहिला यहाँका सार्वजनिक कार्यक्रमहरूमा खादा-माला लगाएर मञ्चमा आसिन अगुवाहरू नै जवाफदेही हुनुपर्ने छ। त्यसपछि उनीहरूको कोटरीमा जोजोम्यान हुनेहरूको भागमा पर्छ । आफूलाई वुद्धिजीवी भनेर रमिता हेर्नेहरूलाई छिटा लाग्ने छ।

कामना गरौं, आपसमा भएका ससाना पेटी स्वार्थहरू त्यागेर मेरिल्याण्डका नेपालीहरू  अमेरिकामा नेपालीलाई देखिने र सुनिने बनाउने अभियानमा एकसाथ जोडिनेछन् । र, आगामी नोभेम्बर ८ मा हुने जनरल इलेक्सनमा डेलिगेट डा. ह्यारी भण्डारीलाई जिताएर इतिहासको रक्षा गर्नेछन् । त्यसो गर्न सके, अमेरिकाभरिका नेपालीले त धन्यवाद भन्नेछन् नै, नेपाल र विश्वका अन्य देशमा रहेका नेपालीले पनि यहाँका नेपालीलाई सलाम गर्नेछन् ।

प्रकाशित मिति: : 2022-07-31 06:39:00

प्रतिकृया दिनुहोस्