अन्तिम सास रहुन्जेलसम्म पनि पर्खिरहनेछु, प्याराे मान्छे

Breaknlinks
Breaknlinks

लेखम् कि नलेखम्, प्रेमका भावहरुबारे ? लेखम् कि वियोगको वेदनाहरुबारे ?

लेखम्,

मिलनका पलहरुलाई सम्झेर शब्दमा उतारौं कि बिछोडको ती नमिठा क्षणहरुलाई अक्षरमा व्यक्त गरम् ? न प्रेमिल समयको न बिछोडिएको पल, बस् आज हाम्रो लागि मेरा व्याकरण नमिलेका केही शब्दहरु कहाँबाट सुरु गरम् ?

तिमीबाट कि म बाट ?

तिमीबाट नै सुरु गरम्, किनकि मलाई मेरा शब्दहरु मेरै लागि खर्चिएको साँच्चै मनपर्दैन, प्यारो मान्छे। तिमी मेरो नभएता पनि एउटा खुसी बनेर आयौ केही पलको लागि। मलाई साँच्चै थाहा छैन, किन ? तर, म तिमीमा एउटा सिंगो पुस्तक पाउँछु, जहाँ प्रेम, मित्रता, खुसी, मुस्कान इज्जत सबै समेटिएको छ। यस्तो लाग्छ यो पुस्तक आफ्नै हृदयको पुस्तकालयमा सजाएर राखौं, युगौं-युगको लागि र म त्यो पुस्तकको हरेक शब्दहरूलाई प्रत्येक सेकेण्ड पढिरहुँ।

प्यारो मान्छे, करिब पाँच वर्षसम्म एउटै कक्षामा सँगै पढेको, रमाइलो गरेको, फिल्म हेर्न गएको, विभिन्न ठाउँहरू घुम्न गएको सबै आज आँखा अगाडि नाचिरहेको छन्। नचाहँदा नचाहँदै आज तिमीसँग टाढिनुपर्ने दिन आएको छ। तिमी सँगै थियौ तब खुसी थियो, हाँसो थियो, तिमी सहजताको एउटा सिंगो रुप थियौ। तर, अब न सहजपनहरु छ, न तिमी नजिक हुने छौ। साँच्चै जब तिमी मेरै वरिपरि थियौ, मेरो जिन्दगी जस्तै थियो। अब त हाल पुरै बेहाल हुनेछ, यो सहर मलाई मुर्दाघर जस्तै लाग्ने छ।

प्यारो मान्छे, तिमी आजकल बेखबर हुन खोज्दै छौ, थाहा छैन बाटो फेर्दैछौ कि मन बद्लिँदै छौ। तिमीसँगका ती अनगिन्ती यादहरुले मलाई हरबखत तिम्रैबारे सोच्न बाध्य बनाउँछ। तिमीसँगै हिँडेको त्रिशुलीको किनारदेखि लगेर कीर्तिपुरको सर्भे, हेटौंडाको सिमेन्ट फ्याक्ट्री,सर्लाहीको भरत तालको यात्रा अनि नगरकोटको त्यो १० दिने सर्भे क्याम्प हुँदै पोखराको फेवा ताल अनि लेक्साइडका ती गल्लीहरू सँगै नाइट क्लबमा रमाएको त्यो पल झल्झल्ती याद आइरहन्छ। लाग्छ, यी यादहरुलाई उडाएर अघि जाउँ। तर, अफसोच, प्रकृतिमा चल्ने यो बतास निर्दोष यो मनमा चल्न मान्दैन।

कुनै मोडमा साथी छुटे। कुनै मोडमा आफन्त छुटे। नछुटोस् भनेर अंगालोमा बाधेर राखेका आफन्तहरु पनि छुटे। यतिसम्म त ठिकै थियो तर आज आफूले मन मुटुबाटै माया गरेको मान्छे पनि छुटिँदै छ म मा के बितिरहेको होला ? त्यसको कल्पना म बाहेक अरु कसैले गर्न सक्दैन। आजसम्म जतन गरेर आफैंलाई जोगाएको थिएँ, थाहा छैन खाेई उनी सँग अब भेट न हुने कुराले म आफैंसँग कहाँ छुटे–छुटे।

म कसरी प्रमाणित गरौं कि म तिमीलाई कति चाहन्छु। मनको कुरा तिमी बुझ्दैनौ। बताउन मलाई आउँदैन। म माेबाइलको स्क्रिनमा तिम्रो नाम देख्दा मात्र पनि मुस्कुराउछु, कहिलेकाहीँ एस्तो लाग्छ, म किन छु ? तिमी छौ र त म छु। प्रिय मान्छे, म क्षितिज बनेर तिम्रो प्रतीक्षा गर्ने छु, तिमी हरेक साँझ घाम बनि मतिर ढल्किदैँ आउनु है, अनि हामी हाम्रो संसार बनाउँला, हामी हामीमै रमाउँला, हामी हाम्रो प्रेमको डुवान लगाउँदै, अनन्त कालसम्म म तिम्रो अंगालोमा रही रहुँला।

अन्ततः थाहा छ, चितामा जलाएको मान्छे फर्केर आउँदैन तर प्रेम गर्ने मान्छेको पर्खाइ सास रहुन्जेल हुन्छ। हो, म मेरो सास रहुञ्जेल तिम्रै बाटो हेरेर पर्खि बस्नेछु, प्यारो मान्छे। म अन्तिम पलसम्म तिम्रै पर्खाइमा हुनेछु। तिमी मेरै भई आउने छौ भन्ने विश्वासको साथ तिम्रो प्रतीक्षा गरिरहनेछु।

प्रकाशित मिति: : 2022-07-30 20:10:00

प्रतिकृया दिनुहोस्