महावीर पुनकाे आविष्कार केन्द्रलाई अमेरिकामा हवाई जहाज उपहार, छिट्टै नेपालमा ल्याइने

तस्बिर साैजन्य– महावीर पुन

नेपालस्थित महावीर पुन नेतृत्वकाे राष्ट्रिय आविष्कार केन्द्रलाई अमेरिकामा हवाई जहाज दान गरिएकाे छ।

स-सानो हवाई जहाजहरु मनोरञ्जनको लागि पर्यटकहरु उडाउन र पाइलट ट्रेनिङ्गमा प्रयोग गर्न सकिने केन्द्रका अध्यक्ष पुनले जानकारी दिए।

१० वटा बक्सहरुमा रहेको सामानहरु नेपालमा लगेर जोडजाड गरेर सानोमा २ जना र ठुलोमा ८ जनासम्म मान्छेहरु उडाउन सकिने उनले बताएका छन्। यस्ता खालका सानाे–सानो हवाई जहाजहरु नेपालमा पनि बनाएर उडाउन सकिने उनकाे भनाइ छ।

उक्त पार्ट्सहरु नेपाल पुगेपछि जोड्नलाई ईन्जिनियर र उडान सिकाउन पाइलटहरु अमेरिकाबाट नि:शुल्क रुपमा सहयोग गर्न आउने समेत उनले बताए।

एक दिनअगाडि लस एन्जेलस नजिकैको एउटा नगरपालिकाको एअरपोर्टमा अध्ययन भ्रमण गरेको उनले सामाजिक सञ्चालमा भिडियोसहित सार्वजनिक गरेका थिए। जुन एअरपोर्टमा नेपाली मुलका अनिश प्रधानको एयरक्राफ्ट वर्क कम्पनी सञ्चालनमा छ।

नेपालको प्रयोगविहीन र थन्किएर रहेको कुनै एउटा एअरपोर्ट नेपाल सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएमा एयरक्राफ्ट ईन्जिनियरिङ र पाईलट ट्रेनिङ सम्बन्धी सेन्टर सञ्चालन गर्न सकिने ठूलो सम्भावना रहेको पुनले औल्याएका छन्।

नेपालमा धेरै साना एयरपोर्टहरु प्रयोगविहीन छन्। त्यस्तै कुनै एउटा नेपालका एअरपोर्टमा उडान र उपयोग गर्ने अनुमति प्रदान गर्न समेत उनले सरकारलाई आग्रह गरेका छन्।

अमेरिकामा दान गरिएका जहाजको समान नेपालमा ल्याउने प्रक्रियामा सहयोग र सहजिकरण गर्न नेपाल सरकारलाई पुनले अनुरोध गरे।

प्रकाशित मिति: : 2022-07-29 11:16:00

प्रतिकृया दिनुहोस्