थाइल्यान्डका ४४ वर्षीय सेकसित चिम्पाली पर्यटकीय सहर पटायामा सुँगुरको मासु बेच्छन्। उनको घुमन्ते ‘हङकङ क्रिस्पी पोर्क सेन्टर’ पटायाको सवाङ बोरिबुन विट्टाया स्कूल अगाडिको बाङ्लामुङ छेउमा छ।
चिम्पालीलाई ग्राहकहरू खूब रूचाउँछन्। किनकि उनी पनि सुँगुरजस्तै स्वरूपमा भेटिन्छन्। सुँगुरको मीठो मासु बेच्ने चिम्पाली आफूपनि सुँगुरभन्दा ठान्दैनन्। रमाउँदै–रमाउँदै सुँगुरको मासु बेचिरहेका हुन्छन्।
व्यापारीको कलात्मक नयाँ स्वरूप देखेर स्कूले नानी–बाबु मजाले हाँस्छन्। रमाउँछन्। अनि सुँगुरकाे मासु किनेर खान्छन्। चिम्पालीको मुस्कानमा मोहित हुन्छन्।
प्रायः विदेशी युवा–युवतीहरू पनि उनीसँगै रमाउँछन्।
सुँगुरको पोशाक लगाएर सुँगुरको मासु बेच्ने उनी थाई सामाजिक सञ्जालमा भाइरल छन्। आफूले बनाएको मासु मीठो भएको दाबी गर्छन्, चिम्पाली। उनी भन्छन्, ‘यदि मासु मीठो भएन भने मलाई लात मार्न सक्नुहुनेछ।’
उनी सोमबारदेखि शुक्रबारसम्म दिउँसो जम्मा दुई घण्टा मात्रै सुँगुर बेच्छन्। पटाया सहरमा चिम्पालीको बेग्लै पहिचान बनेको छ। कतिपयले उनलाई ‘सुँगुर मान्छे’ पनि भन्छन्। खासरी स्कूले केटाकेटी।
उनी कहिलेकाहीँ दुई घण्टाभित्र १० किलो सुँगुर पनि बेच्छन्। नानी–बाबु र पर्यटकहरू उनीसित फोटो खिच्न मन पराउँछन्। रमाइलो सुँगुरको पोशाकसँग सेल्फी लिन्छन्।
चिम्पाली मायालु, दयालु र लगनशील छन्। उनी यसअघि पटायामै सैलुन चलाउथे। राम्रो चलेन। कोरोना र बन्दाबन्दीबाट प्रभावित भएपछि उनले नयाँ पेशा रोजे।
आफ्नो आयमा कमी आएपछि सुँगुरको मासु बेच्ने काममा लागेको बताउँछन्, उनी।
‘लकडाउन भएपछि कपाल काट्न सकिनँ। तत्काल अर्को काम पनि भेटिएन। त्योबेला अवसरको खोजीमा भौतारिरहेको थिएँ। पटायाको उत्कृष्ट शेफबाट राम्रो क्रिस्पी पोर्क कसरी पकाउने भनेर सिकेँ। राम्रो आम्दानी भइरहेको छ,’ उनले भने।
चिम्पाली छोराछोरी र श्रीमतीसँगै बस्छन्। स्वभावमा रमाइलो छन्। उनी ग्राहकलाई भगवान् र सुँगुरलाई आफ्नो नयाँ परिचय ठान्छन्।