तालिबान विरोधी नीतिमा फेसबुक प्रतिबद्ध, तालिबान नियन्त्रित सञ्चारमाध्यमका पृष्ठ निलम्बनमा

सामाजिक सञ्जाल फेसबुक तालिबानविरोधी नीतिमा दृढ देखिएको छ।

फेसबुकले अफगानिस्तानका तालिबान नियन्त्रित राष्ट्रिय टेलिभिजन र बख्तर न्यूज एजेन्सीका पृष्ठहरू निलम्बन गरी तालिबानविरोधी आफ्नो नीतिलाई पुष्टि गरेको हो। 

'अफगानिस्तान नेशनल टेलिभिजन र बख्तर न्यूज एजेन्सीका पृष्ठहरूले अब फेसबुकमा पहुँच पाउने छैनन्,' अफगानी खामा प्रेसले आफ्नो समाचारमा लेखेको छ। 

'तालिबानले सत्तारोहणसँगै अफगानिस्तान राष्ट्रिय टेलिभिजनको सञ्चार केन्द्रको नियन्त्रण जफत गरेदेखि उनीहरूले यसको प्रयोग गरी आफ्नो पक्षमा व्यापक गतिविधिहरू सञ्चालन गरेका थिए। तथापि, यस केन्द्र र बख्तर समाचार एजेन्सीका पृष्ठहरू हाल पहुँच योग्य छैनन्,' समाचारमा लेखिएको छ.

अफगानिस्तान नेशनल टेलिभिजनका प्रमुख अहमदुल्ला वासिकका अनुसार फेसबुकले यी सञ्चारमाध्यमले चलाएका पश्तो र दरी पेजमा प्रतिबन्ध लगाएको छ। 

'फेसबुक विश्वभर सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जाल ‘साइट’हरूमध्ये एक हो। यो २०२१ को मध्यमा तालिबानलाई आतंकवादी संगठनको रूपमा नामाकरण गर्ने पहिलो संस्था थियो, अफगानी समाचार संस्था खामा प्रेसले बताएको छ। 

फेसबुकको प्लेटफर्मले तालिबानलाई ‘आतंकवादी संगठन’को रूपमा मान्यता दिन्छ र आफ्नो प्लेटफर्ममा यस संगठनद्वारा सिर्जना गरिएको वा समर्थन गर्ने कुनै पनि सामग्रीको प्रकाशनमा प्रतिबन्ध लगाएको छ,' विशेष स्रोतलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ।

खासगरी सामाजिक सञ्जाल स्थलमा युद्धग्रस्त अफगानिस्तानका तालिबान नियन्त्रित सरकारी निकायका पानाहरू यसअघि पनि फेसबुकले बन्द गरेको थियो।  

फेसबुकका एक प्रवक्ताका अनुसार फेसबुकले आफ्नो सबै प्लेटफर्ममा तालिबान विरोधी नीति लागू गरेको छ। यसका साथै फेसबुक आफैं, इन्स्टाग्राम र ह्वाट्सएपले पनि यो नीति लागू गरेको छ। 

तालिबानका अधिकारी तथा प्रवक्ताहरू ट्वीटरमा पनि सक्रिय छन्। अफगानिस्तानमा तालिबान समूह सत्तामा आएपछि विशेष गरी महिला, किशोरकिशोरीसहित हजारौं पत्रकार तथा सञ्चारकर्मीहरू रोजगारीबाट बञ्चित भएका छन्। 

आईएफजे–सहयोगी अफगानिस्तान राष्ट्रिय पत्रकार संघ (एन्जु) ले ३३ वटा प्रान्तमा गरेको सर्वेक्षणले १५ अगस्ट २०२१ देखि ३१८ वटा सञ्चार माध्यम बन्द भएको देखाएको छ। यस सङ्कटले अखबारहरूलाई सबैभन्दा गाह्रो असर पारेको छ र ११४ मध्ये २० जना मात्र प्रकाशित भएका छन्। आइएफजेका लागि संकलित प्रतिवेदन अनुसार अफगानिस्तानमा तालिवान सत्तामा आएपछि ५१ टिभी स्टेशन, १३२ वटा रेडियो स्टेशन र ४९ वटा अनलाइन पत्रिकाले सञ्चालन बन्द गरेका छन्। 

रोजगारी गुमाएकामध्ये ७२ प्रतिशत महिला रहेको आईएफजेले विज्ञप्तिमा उल्लेख गरेको छ। 

अफगानिस्तानस्थित संयुक्त राष्ट्र संघीय सहायता मिशन (यूनामा) ले जारी गरेको प्रतिवेदनअनुसार मानवअधिकार उल्लङ्घनका कारण १७३ पत्रकार तथा सञ्चारकर्मी प्रभावित भएका छन्। तीमध्ये १६३ जना अधिकारकर्मी भएका कारण नै पीडित भएका थिए।

प्रकाशित मिति: : 2022-07-22 05:15:00

प्रतिकृया दिनुहोस्