शिक्षा राज्यको अभिन्न अंग हो। शिक्षाको मुख्य काम देशका नागरिकहरुलाई प्रशिक्षण गर्नु वा शिक्षित बनाउनु हो। अशिक्षित मानिसको जीवन अन्धकारमय हुने भएकोले मानव जीवनमा शिक्षाको अतुलनीय महत्व रहेको हुन्छ।
शिक्षा विनाको जीवन अपुरो, अधुरो, अप्ठ्यारो हुन्छ। त्यसैले हामीले कस्तो खाले शिक्षा आर्जन गरिरहेका छौं, लिइरहेका छौँ, शिक्षा क्षेत्रमा भएका समस्या र संकटबारे हामीले थाहा पाउनु पर्दछ। यसबाट मुक्ति पाउनको लागि शिक्षा क्षेत्रमा भएको विभेदीकरण, विद्यार्थी राजनीतिको महत्त्व र वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि हामीले चर्चा गर्नैपर्छ।
शिक्षा क्षेत्रमा भएको विभेदीकरण :
कुनै पनि राष्ट्रको नागरिक भएर जन्मेपछि अहिलेको युग र अवस्थामा खान पाउनु, लगाउन पाउनु, बस्न पाउनु, शिक्षा आर्जन गर्न पाउनुलगायत विषय उसको नैसर्गिक अधिकार हाे। नागरिक जन्मनुपर्छ राष्ट्रको लागि, केही गर्नुपर्छ राष्ट्रको लागि, मर्नुपर्छ राष्ट्रको लागि।
यसै प्रसंगमा एउटा धार्मिक तथा अध्यात्मिक कथा महाभारतमा गौरव र पाण्डपका गुरु द्रोर्णाचार्यले कर्णलाई ज्ञान सिकाउन राजी भएनन्, किन ? किनभने त्यसको एउटै कारण थियो कर्ण कुनै घोषित राजकुमार थिएनन् उनी कुन्तीले अवैध रुपमा जन्माएका छोरा थिए। राज खानदानभित्रका राजकुमार थिएनन्। जसकारण कर्णले द्रोणाचार्यको मुर्ति अगाडि राखेर ज्ञान हासिल गर्नुपर्यो। गुरु द्रोणाचार्यका सबैभन्दा उत्कृष्ट ज्ञानी मानिने शिष्य अर्जुन र कर्णको ज्ञान शक्ति बराबर भएकै कारण आफ्नो शिष्य अर्जुनभन्दा कमजोर बनाउनको लागि गुरुदानको संयन्त्रदारी जालको गुलियो संज्ञा दिएर द्रोणाचार्यले कर्णको बुढीओैला काटेर आफ्नो पक्षको विभेदकारी ज्ञानलाई बलियो बनाएको पाइन्छ।
त्यस्तैगरी जंगबहादुरले बेलायतबाट ल्याएको ज्ञान दरबारिया राजा रजौटाका छोराछोरीहरुमा दरबारभित्र सिमित राखियो। किनभने जनताका छोराछोरीलाई शिक्षा दियो भने दरबारियाका छोराछोरीभन्दा बढी टाठो-बाठो र जान्ने हुन्छन् भनेर दरबारमा कुण्ठित गरेर राखेको शिक्षा प्रणालीलाई जनतासँग प्रत्यक्ष जोड्न ठुला आन्दोलन, क्रान्ति राजनीति परिवर्तनबाट मात्र प्राप्त गर्न सकिएको हो र कयौं विद्यार्थी सहिदले रातो रगत बगाएर कयौंले फासीको सजाय पाएर मात्र देशका विकट कुना काप्चाका गाउँ बस्तीमा विद्यालय खोलेर पढ्न पाइएको अवस्था इतिहासबाट झल्किन्छ।
अहिले सिंहदरबारको अधिकार गाउँ घरमा भन्ने अपव्याख्या गरिरहेका छन्। शासकहरुले शैक्षिक सत्र सुरु भएको १० हप्ता पुग्दा पनि सरकारी, सामुदायिक विद्यालयमा जनक शिक्षा सामाग्री केन्द्रले रुस र युक्रेनको युद्धको बाहानामा पाठ्यपुस्तक नछापेको नपुगाएको घटना हाम्रो आँखाअगाडि छर्लङ्ग नै देखिन्छ। यो माफियाको निजी र सामुदायिक विद्यालयको ठुलो विभेद हो यो हुने खाने र हुँदा खाने वर्ग बिचको खाडल झन् फराकिलो बनाउनु हो।
अर्को नयाँ पुस्ताको काँधमा आएको कुरा शिक्षा क्षेत्रमा भएको विभेदीकरणका विरुद्धमा निरन्तर संघर्ष र आन्दोलन अगाडि बढाउनुपर्ने देखिन्छ। जहाँ हुने खानेहरुले प्राप्त गर्ने शिक्षा र हुँदा खानेहरुले प्राप्त गर्ने शिक्षा वर्तमान दलाल पुँजीवादी राज्य व्यवस्थाले बनाइदिएको खाडललाई हाम्रो पुस्ताका युवा विद्यार्थीले पुर्न सक्नुपर्छ। दुई खालको शिक्षा प्राणालीलाई परिवर्तन गरेर एउटै समान खाले शिक्षा प्राणी बनाउनको लागि अब आउने संकट र चुनौतीलाई युवा विद्यार्थीले जताततै भएको विभेदीकरणका विरुद्धमा पनि डटेर संघर्ष गर्नुपर्ने देखिन्छ। त्यो आन्दोलन र संघर्षको नेतृत्व अखिल (क्रान्तिकारी )ले गर्छ।
जसको उदाहरण जनक शिक्षा सामाग्री केन्द्रका प्रमुख अनिलकुमार झा'को कारबाहीलगायत देशैभरिका शैक्षिक माफिया, भ्रष्टाचारी, कमिसनखोरीको जनकारबाहीले तहल्का मच्चाइरहेको छ। यो ९० लाख विद्यार्थी र ३ करोड जनताको पक्षमा देखिन्छ।
हाम्रो संगठन र पार्टीभित्रका नेता कार्यकर्ताले चरम संघर्ष गर्नुपर्छ। हाम्रो सकारात्मक संघर्ष र आन्दोलनको पक्षमा सबैको संयुक्त संघर्षको रुप दिएर जहाँ दलाल पुँजीवादको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षा हाम्रै पुस्ताका पालामा संचालन गर्न सबै तयार हुनुपर्छ।
'भविष्य उनीहरुको लागि हो, जसले आज त्यसको लागि तयारी गर्छन्।' त्यसैले हामी मार्क्सवादीहरुले आजको लागि मात्र नभएर भोलिको लागि, पछि आउने पुस्ताको लागि संघर्ष गर्नुपर्छ। वैज्ञानिक समाजवाद र विश्व साम्यवादको यात्राको लागि तयार गर्नुपर्छ।
विद्यार्थी राजनीतिको महत्त्व :
अर्को प्रसंग हाम्रो पुस्ताका युवा विद्यार्थीले होस् वा भोग्दै आएका व्यक्तित्वका बिचमा दलाल पुँजीवादी र पुँजीपतिहरुले शिक्षा र राजनीतिका बिचमा अन्तरविरोध सिर्जना गरेर शैक्षिक आन्दोलनलाई खुइल्याउने र संगठनलाई कमजोर पार्ने हिसाबले भ्रमित तर्क संवद आवाज बाहिर फिजाउन्छन्। त्यो हो, विद्यार्थीले राजनीति गर्नु हुँदैन शासकहरुले यो चाहन्छन् कि जनताको छोराछोरीले राजनीति गरेपछि आफ्ना काला कर्तुर र लुटको स्वर्ग ध्वस्त पार्नको लागि खडा हुन्छन् भनेर। यस्ता किसिमका कुतर्क गर्छन्। त्यो सत्य हाेइन सत्य यो हो कि हामीले दलाल पुँजीवादका विरुद्धमा लड्नको लागि, सुनौलो र सुन्दर संसार रचना गर्नको लागि वैज्ञानिक समाजवादी समाज हुँदै साम्यवादी समाजमा प्रवेश गर्नको लागि, औपचारिक रुपमा होस् अथवा अनौपचारिक रुपमा शिक्षा मानवीय जीवनमा अनिवार्य बनाएकोमा दुई मत छैन।
विद्यमान शोषणप्रधान समाजमा भएको अन्याय, अत्याचार, समान्ति पुँजीवादी कुरीति तथा कुसंस्कारका विरुद्धको संघर्षलाई सचेत ढंगले अगाडि बढाउन, सामन्ती तथा पुँजीवादी शोषणलाई अन्त्य गर्न मानवीय जीवनमा शिक्षाको महत्व जति छ, त्यति नै विद्यार्थी राजनीतिको महत्त्व छ। जीवनलाई सरल, सुखी, उपयोगी बनाउन शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ। त्यसैले शिक्षा र राजनीति अलग-अलग हुन सक्दैन। सत्य यो हो कि, शिक्षा र राजनीतिको सम्बन्ध नङ् र मासुको जस्तै हुन्छ। शिक्षित र व्यवहारिक व्यक्तिले नै राजनीति गर्ने हो। त्यो शक्ति भनेको युवा विद्यार्थी र देशका विद्यवान् व्यक्ति नै हुन। हाम्रो समाज वर्ग विभाजित समाज हो। यहाँ दलाल पुँजीपति वर्ग र सर्वहारा श्रमजी वर्ग बिचको संघर्ष नै मुख्य संघर्ष हो। निश्चित रुपमा शिक्षा पनि हाम्रो समाजको बिचमा शिक्षा प्राप्त गर्ने सवालमा दलाल पुँजीपती वर्ग र सर्वहारा श्रमजीवी वर्ग बिचमा गहिरो खाडल रहेको छ। यसलाई विद्यार्थी राजनीतिले नै क्यास गर्न सक्नुपर्छ।
समाजलाई रुपान्तरण गर्न, सिंगो मानव जगतलाई मुक्ति गर्नको लागि र सबै प्रकारका अन्याय, अत्याचार, शोषण, दमन, कुसंस्कार तथा कुरीतिको अन्त्य गर्नको लागि आधारभूत रुपमा चाहिने भनेको शिक्षा नै हो। त्यसप्रकारको शोषणको अन्त्यको लागि शिक्षा राजनीतिसँग जोडिनु पर्दछ। हाम्रो समाज बुर्जुवा प्रकारको समाज हो। यो समाजमा विद्यार्थीहरुले राजनीति गर्नु हुँदैन भन्ने परम्परावादी सामन्तवादी, पुरातनवादी चिन्तन रहेको छ। तर, वास्तविकता यो हो कि राजनीति विद्याथीहरुले नै गर्नु पर्दछ। किनभने समाज रुपान्तरणका लागि वैकल्पिक शक्ति भनेका राजनीतिक चेतनामा पोख्त र विश्व र देशको परिस्थितिलाई सहजै बुझ्ने र बदल्ने भनेका युवा विद्यार्थीहरु नै हुन्। शिक्षामा समानता, स्वतन्त्रता, आधुनिकता तथा व्यवहारिक, प्राविधिक र वैज्ञानिककरण जस्ता कुरा केवल कागजमा मात्र सिमित छन्। शिक्षा हुने खानेहरुको मात्र पेवा बन्दै गइइरहेको छ। विद्यमान शिक्षा प्रणाली केवल बेरोजगार उत्पादन गर्ने क्षेत्रको रुपमा विकास भएको छ। दक्ष जनशक्तिको निर्माण गर्नुपर्ने शिक्षा क्षेत्र उत्पादन प्रणालीसँग असम्बन्धित रहेको छ। दलाल पुँजीवादको संरचनामा आधारित यो बुर्जुवा शिक्षाबाट युवाहरु विदेशिन बाध्य भएका छन्। शिक्षाले श्रमलाई सम्मान गर्न सिकाउनुको सट्टा घृणा गर्न उत्प्रेरित गरेको छ। यसलाई बदल्नको लागि विद्यार्थी राजनीतिबाट मात्रै तह लगाउन सकिन्छ। त्यसैले विद्यार्थी राजनीतिको जँहा र जहिले पनि अत्यन्तै महत्त्व छ।
१७/१८औं शताब्दीको कोरा काल्पनिक घटनाहरुको मिश्रित पाठ्क्रमलाई समावेश गरेर निर्माण गरिएको उत्पादन प्रणालीसँग पूर्णरुपमा असम्बन्धित वर्तमान शिक्षा प्राप्त गरेर प्रमाणपत्र पाउनुबाहेक अर्को उपलब्धी छैन। यसो हुनुको मुख्य कारण वर्तमान शिक्षा सामन्ती संरचनामा अडिएको छ र राजनीतिसँग पनि जोडिएको छैन। जबसम्म राष्ट्रका नागरिकहरु राजनीतिक चेतनाले प्रखर हुँदैनन् तबसम्म यसप्रकारका समस्याहरु रहिरहन्छन्। त्यसकारण विद्यार्थी जीवनलाई समाज रुपान्तरणको लागि प्रयोग गर्दै विद्यमान समान्ती दलाल संरचना भित्रको बुर्जुवा शिक्षालाई नष्ट गर्दै उत्पादन प्रणालीसँग जोडिएको, मानिसको दैनक जीवन पद्धतिसँग मेल खाने, समय र माटो सुहाउँदो वैज्ञानिक समाजवादी शिक्षा आजको अनिवार्य आवश्यकता हाे। यसका लागि विद्यार्थी राजनीतिको आवश्यकता र अनिवार्यता केही समय अगाडि अखिल (क्रान्तिकारी)ले गरेको मेडिकल माफियाको कारबाही र आन्दोलनले प्रष्ट पारेकाे छ।
सभ्य समाजको निर्माण गर्ने कार्य वास्तवमा युवा विद्यार्थीहरुले नै गर्नु पर्दछ। युवा विद्याथीहरुलाई राजनीतिबाट अलग गर्न खोज्ने बुर्जुवाहरुलाई प्रगतिशील क्रान्तिकारी राजनीतिले नै पराजित गर्न सकिन्छ। सामन्ती बुर्जुवा समाजमा युवा विद्यार्थीहरुले राजनीति गर्नु हुँदैन भन्ने सोच छ त्यो भ्रम मात्र हो। समाज परिवर्तन गर्ने तागत र क्षमता युवाहरुसँग भएकोले युवा विद्यार्थीहरुलाई राजनीतिक प्रशिक्षण तथा अध्ययन अनिवार्य हुन्छ।
हाम्रो जस्तो अर्ध औपनीवेशिक तथा अर्धसामन्ति समाजमा युवा विद्यार्थीहरुले राजनैतिक चेतनाले लैस भएर मिलिटेन्ट तथा अनुशाशित रुपमा राजनैतिक संघर्षमा भाग लिनु, प्रगतिशील आन्दोलनलाई उचाइमा पुर्याउनु, गलत चिजको भण्डाफोर गर्नु, मानवीय जीवनको सुनौले व्यवस्था साम्यवादी समाजको स्थापनाको लागि संघर्ष गर्नु, दलाल पुँजीवाद, उत्तर साम्राज्यवादी निगम पुँजीवादको शोषणको लुटको जालोलाई उखेलेर फाल्नु हामी युवा विद्यार्थीहरुको अनिवार्य कार्यभार हो। विद्यार्थी जीवनमा औपचारिक रुपमा विद्यालयहरुमा गएर सिक्नु मात्र प्रयाप्त छैन। मानिसले सबैभन्दा बढी ज्ञान जीवन व्यवहार र जगतबाट, अनुभवबाट सिकेको हुन्छ। जुनसुकै शिक्षा आर्जन गरे पनि विद्यार्थी जीवनमा राजनीतिक संघर्षमा भाग लिन सकिएन भने त्यो जीवन अधुरो, अपुरो रहनेमा दुई मत छैन। यसरी राजनीति र शिक्षा एक अर्कासँग जोडिएका सवालहरु हुन्। औपचारिक शिक्षाको आफ्नै ठाउँमा महत्व हुन्छ तर पाठ्क्रम र विद्यालयको चौंघेरोलाई मात्र हामीले शिक्षा प्राप्तिको स्रोत मान्यौं भने हामीले असल शिक्षा प्राप्त गर्न सक्दैनौँ। त्यसकारण हामीले औपचारिक शिक्षा संगसगै अनौपचारिक शिक्षाको अध्यन अनिवार्य गर्नु पर्दछ। समाजमा घट्ने घटनाहरु कसरी कसरी घट्दछन् ? समाज रुपान्तरणको बाटो के हो ? वर्तमान दलाल पुँजीवादी समान्ती समाजको अन्त्य के कसरी हुन्छ ? मानव समाजको सबैभन्दा उत्तम शासन व्यवस्था साम्यवादी समाजमा पुग्नको लागि हामी युवा विद्यार्थीहरुले के गर्नु पर्दछ ? समाजमा हुने अन्याय अत्याचार, शोषण दमनलाई अन्त्य गर्नको लागि हाम्रो भूमिका के हुन्छ ? त्यस प्रकारको ज्ञानको लागि हामीले अनिवार्य रुपमा प्रगतिशील साहित्य तथा विचारको अध्यन गर्न अनिवार्य छ।
समाज रुपान्तरणको बाधक भनेको विद्यमान दलाल पुँजीवादी छाडा अध्यात्मिक संरचनामा आधारित बुर्जुवा शिक्षा नै हो। बुर्जुवा शिक्षाले देशको विकास निर्माण पनि गर्न सक्दैन। यो शिक्षाले हुने खानेको पक्षपोषण मात्र गर्दछ। तसर्थ, समाजको अग्रगामी रुपान्तरणको लागि बुर्जुवा शिक्षाको अनिवार्य नष्ट गरिनु पर्दछ र वैज्ञानिक समाजवादी शिक्षा (जुन जीवन र जगतमा व्यवहारीक हुन्छ) को स्थपना गरिनु पर्दछ। जनमुखी शिक्षा विना मानवीय जीवन सरल, सुखी र उपयोगी हुन सक्दैन। जनवादी शिक्षा जनतामुखी, उत्पादनमुखी हुन्छ। वर्तमान शिक्षा प्रणालीको अन्त्यको लागि उच्च प्रकारको लामो क्रान्तिकारी विद्यार्थी आन्दोलन र संघर्षको आवश्यकता छ। अहिले देशमा नाफाखोर निजी शिक्षण संस्थाहरुलाई सरकारले प्रोत्साहन गरेको छ। शिक्षामा निजिकरण र व्यापारीकरणले गर्दा शिक्षा किनबेचको वस्तुमा रुपान्तरण भएको छ। शिक्षा सबैको अधिकार हो भन्ने मूल्य र मान्यताका विरुद्ध शिक्षा पैसा कमाउने साधनको रुपमा मुठ्ठीभर शैक्षिक माफियाको पुँजी संकलन गर्ने केन्द्रको रुपमा विकास भएको छ। देशमा खोलिएका निजी शिक्षण संस्थाले चर्को शुल्कसहित शिक्षाको टेण्डर आव्हान गरेर शिक्षामा गहिरो प्रकारको वर्ग विभाजनको रेखा कोरिरहेको छ। सरकारी विद्यालय, क्याम्पस तथा विश्वविद्यालयमा सरकारको प्रयाप्त मात्रमा ध्यान गएको छैन। पछिल्लो चरणमा शैक्षिक माफियाहरुले अंग्रेजी शिक्षाको नाममा सरकारी विद्यालयभित्र पनि पुँजी उत्पादन गर्ने कारखाना बनाएका छन्। सर्वहारा श्रमजीवी वर्ग अहिले निराशावादी, अव्यवहारिक तथा चेतना शुन्यजस्तै छ। आज शिक्षा क्षेत्रमा जुन प्रकारका समस्याहरु देखिएका छन ती समस्याहरुको समाधान समयमा नै गरिएन भने भावी पुस्ताको भविष्य पनि अन्धाकारमा नै रोमलिने देखिन्छ।
अहिलेको सचेत युवा विद्यार्थीहरु विद्यमान समस्याहरुप्रति आँखा चिम्लनु कदापी पनि सही हुने छैन। सामन्ती संरचनामा अडिएको वर्तमान बुर्जुवा शिक्षा प्रणालीको अन्त्य गर्न सक्यौ भने नेपाल र नेपालीको भविष्य पनि उज्यालो हुने छ। त्यसकारण यी सबै प्रकारको समस्याहरुको समाधानको लागि सबैभन्दा पहिला युवा विद्यार्थीहरु नै राजनीतिक चेतनाले प्रखर हुनु पर्दछ। बुर्जुवा शिक्षा व्यक्तिवादी हुने भएकोले यो शिक्षाले मानिसलाई देश र समाजप्रति जिम्मेवार बनाउनभन्दा पनि व्यक्तिगत स्वार्थतिर नै आकर्षण गर्दछ। त्यो दलाल पुँजीवादी व्यवस्थाको विशेषता नै हो। समाजमा देखिने विभिन्न प्रकारका व्यक्तिगत स्वार्थहरुलाई सामाजिक स्वार्थमा रुपान्तरण गर्नु पनि युवा विद्यार्थीहरुको ऐतिहासिक कार्यभार हो। विद्यालय तथा क्याम्पसहरुमा अध्यन गर्ने विद्यार्थीहरु राजनीतिक रुपमा सचेत नभएकोले नै उनीहरु समाज र राष्ट्रभन्दा पनि व्यक्तिगत स्वार्थतिर नै केन्द्रित हुन्छन्। अबको विद्यार्थी राजनीतिक आन्दोलनले स्पष्ट पारेर अगाडि लैजानुपर्छ।
त्यसप्रकारको शुन्य चेतनालाई अन्त्य गर्न राजनीतिक शिक्षाको महत्व हुन्छ। सम्पूर्ण विद्यार्थीहरुलाई समाज रुपान्तरणमा आर्कषण गरेर वा राजनीतिक चेतनाले पोख्त गराउदै संगठित गरेर नै हामीले विद्यमान दलाल पुँजीवादी संसदीय संरचानामा अडिएको बुर्जुवा शिक्षाको अन्त्य गर्न सक्नेछौं। हाम्रो क्रियाकलाप तथा योजनाहरु पुँजीवादी बुर्जुवा शिक्षाको अन्त्यमा नै केन्द्रित गर्नु पर्दछ। राजनीतिबाट भाग्न खोज्ने, राजनीतिलाई घृणा गर्ने चलन पनि विद्यार्थीहरुमा रहेको छ। विद्यार्थीहरुसँग राजनीतिक चेतनाको अभाव भएकोले नै उनीहरुले त्यसप्रकारको विचारहरु प्रकट गर्ने गर्दछन्। तर, वास्तवमा राजनीति नै सबै खाले समस्याको समाधानको एक मात्र विकल्प हो र राजनैतिक समस्याको समाधान विना अरु कुनै पनि समस्याको समाधान हुन सक्दैन।
वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि वैज्ञानिक समाजवादी व्यवस्था मात्र किन ?
हाम्रो मुख्य दुश्मन भनेको दलाल पुँजीवाद हो। वर्तमान नेपालको समय सन्दर्भमा दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु हो। देशलाई कंगाल र विदेशीसँग कचौरो थाप्ने बनाउने मुख्य कारक तत्व नै दलाल पुँजीवादी संसदीय व्यवस्था हो। यस्तो खाले असफल फोहोरी व्यवस्थालाई बदल्नको लागि नौजवान युवा विद्यार्थीहरु एकीकृत जनक्रान्तिको यात्रामा संगठित हुनुपर्छ। क्रान्तिको जहाजलाई सही ठाउँमा अवतरण गर्नसक्ने ल्याकत युवा विद्यार्थीबाहेक अरुले सक्दैनन्। देशको काँचुल्ली फर्ने दायित्व भनेको त्यो देशको राज्य व्यवस्थामा निर्भर हुन्छ। पार्टी सही वा गलत भन्ने कुराको निधो कार्यदिशाले गर्छ भने जस्तै राष्ट्रलाई सफल वा असफल बनाउने भन्ने कुरा त्यो राष्ट्रको राज्य व्यवस्था कस्तो खालको छ त्यसले निधो गर्छ। जनताको जनजीविकाको सवालमा होस् या राष्ट्रियताको सवालमा होस् वा सबै पक्षबाट संसदीय व्यवस्था चरम संकटमा गुर्जिरहेको छ। यसलाई क्रान्तिको रापबाट खरानी बनाउनको लागि युवा विद्यार्थी तयार हुनुपर्छ।
वर्तमान असफल दलाल पुँजीवादी संसदीय व्यवस्थाबाट संचालित सरकारले अमेरिकी परियोजना आईएसी, एमसीसी र एसपीपी सम्झौतामा घुमाएर आफ्नो संलग्नता देखाएर देशलाई श्रीलंका, युक्रेन बनाउँदै छन्। राष्ट्रिय स्वाधीनताको लागि वैदेशिक हस्तक्षेपको विरुद्धमा अब संघर्षबाट तह लगाउनु युवा विद्यार्थीले सबैलाई सचेत बनाउनु राष्ट्र र राष्ट्रियताको पक्षमा संघर्ष गर्नु अनिवार्य हो। त्यसको लागि वैकल्पिक शक्ति तयार गर्नुपर्छ। वैज्ञानिक समाजवादी व्यवस्थाको मोडेल अब हामीले अगाडि बढाउनुपर्छ। दलाल व्यवस्थाका हरेक शक्तिको विरुद्धमा कम्युनिस्ट र क्रान्तिकारीहरुको शक्ति गुणात्मक तवरबाट मजबुत हुनुपर्छ। यहाँ हामीले संसदीय व्यवस्थालाई मात्र नभएर विश्वमा हावी भएको उतर साम्राज्यवादलाई जित्नु पर्नेछ। किनकी वैज्ञानिक समाजवाद हुँदै विश्वमा वैज्ञानिक साम्यवादको यात्राको अनवरत तेर्साएर अगाडि बढ्नु छ। आहा ! कति सुन्दर र सफा होला त्यो वैज्ञानिकनै वैज्ञानिकहरुको समाज। जहाँ जातिविहीन, धर्मविहीन, राष्ट्रविहिन सबै खाले निजी सम्पतिविहीन मानव समाजको उच्चतम विकसित र वैज्ञानिक समाज। जहाँ मानव र मानवका बिच कुनै पनि प्रकारका शोषण, दमन, उत्पीडित र विभेद नभएको समाजका लागि हामी कम्युनिस्ट विद्यार्थीले अहिलेनै संघर्ष र आन्दोलन गर्नु परेको हाे। भोलि त्यो समाजका लागि पनि हिजो आदिम साम्यवादी युगबाट मानव समाजले संघर्ष गर्दै आएको छ। जसरी अहिले हामीले पुँजीवादी युगका विरुद्धमा वैज्ञानिक समाजवादी समाज निर्माण गर्नको लागि संघर्ष र आन्दोलन गर्नु परेको छ। गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार लगायत सूचना संचार सुरक्षाको ग्यारेन्टी गर्ने खाले राज्य व्यवस्थानै अब आउने वैज्ञानिक समाजवादी व्यवस्था हो। जहाँ आधारभूत आवश्यकताहरु सर्वसुलभ र नि:शुल्क हुन्छ।
(लेखक नेत्रविक्रम चन्द 'विप्लव' निकट नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज हुन्।)