मलेसियास्थित ‘लंकावी’ टापुको समुन्द्री किनारमा एउटा ‘ईगल’ (चिल) पखेटा फिजाएर उडिँरहेको छ। ऊ भाग्दैन। कराउँदैन। आवाज निकाल्दै। तर, कुआ क्षेत्रमा एकछत्र साम्राज्य जमाइरहेको छ।
उकालो पहाड, चारैतिर हरियो जंगल। अघिपट्टी विशाल समुन्द्र। छेउतिर तारा आकारको एउटा भू–भाग। अनि तारामाथि उड्न खोजिरहेको त्यो चिल। लंकावीमा पर्यटकको बाक्लो घुँइचो हुन्छ।
सूर्य, समुन्द्र, बालुवा र चिलसँग रमाउन आइपुग्छन्, हजारौँ मानिस। उनीहरू कलात्मक पोखरीछेउमा बाँचिरहेका छन्। घुमन्तेहरूका लागि संगमस्थल मानिन्छ– लंकावी।
आगन्तुकलाई स्वागत गर्न आतुर छन्, रैनाथे। ईगल स्क्वायर ऐतिहासिक र सुन्दर कथनले भरिपूर्ण छ।
समुन्द्रले तीन तिरबाट घेरिएको छ। पर्यटकहरू चिल हेर्दै रमाउँछन्। समुन्द्री किनारमा उडिँरहेको मुर्तीसँग आफ्नो तस्बिर कैद गर्छन्। युवा–युवतीहरू चिल हेरेरै समय बिताउँछन्।
मलाय प्रायद्वीपको रमणीय समुन्द्री किनारमा भेटिन्छन्, हजारौँ विदेशी। हिँड्छन्, डुल्छन्, रमाउँछन्, थाक्छन्। अनि थचक्क बस्छन्।
एउटा चराको मुर्तीसँग रमाउन थरिथरि देशका कैयौं मानिसहरू मलेसिया आइपुग्छन्।
लंकावीका स्थानीयहरू ‘ईगल–टावर’लाई नयाँ ल्यान्डमार्कका रूपमा चिन्छन्। उडिँरहेको चिललाई लंकावीको प्रतीक मान्छन्।
सन् १९९६ मा ‘ईगल–टावर’को निर्माण गरिएको थियो। टावर झण्डै १४ मिटर अग्लो छ। मलेसिया सरकारले करोडौं खर्चेर सुन्दर पर्यटकीयक्षेत्र थपेको छ। पर्यटकहरूले मलेसियाको अर्थव्यवस्थामा थप आर्थिक सहयाेग गरिरहेकाे स्थानीय बताउँछन्।
ईगल स्क्वायरको बेग्लै किंवदन्ती छ। टापुमाथिको आकाशमा एउटा बनावटी चिलले शासन जमाएको छ।
कोरोना महामारीबाट छुटकारा पाएपछि कैयौं मानिसहरू लंकावी आइरहेका छन्।
समुन्द्री खुराकको लागि जताततै धाउँछन्। नयाँ–नयाँ योजना बनाउँछन्। समुन्द्रको आकाशमाथि उडिँरहेका चराहरू चिल हेरेर रमाउँछन्। चराहरू पनि दंग पर्छन्। त्यो चिल पखेटा फिजाएर अब–तब उड्छ झैँ लाग्छ।
चर्चित चिलको मूर्ति कुआ जेट्टीमा रहेको छ। कतिपय पर्यटकहरू पिकनिकको आनन्द लिइरहेका हुन्छन्।
रात छिपिँदै जाँदा ईगललाई चम्किलो बत्तीहरूले उज्यालो छर्छन्।
सूर्योदय वा सूर्यास्तको समयमा सबैभन्दा धेरै पर्यटकहरूको घुँइचो लाग्ने गरेको एक स्थानीय युवकले बताएका छन्।
होटल तथा रिसोर्टमा कैयौं पर्यटकहरू धमाधम बुकिङ गरिरहेको अधिकारीहरू बताउँछन्। कोरोनाविरूद्धको खोप लगाएका पर्यटकले मात्रै पूरै लंकावी भ्रमणको अनुमति पाउँछन्।