जुम्लास्थित चन्दननाथ-भैरवनाथ गुठी व्यवस्थापन समितिले बनाएकाे विवाह मण्डवलाई लिएर सामाजिक संजालमा चर्काे आलोचना भइरहेकाे छ। चन्दननाथ भैरवनाथ मन्दिरकै आकारमा बनाइएकाे कंक्रिट संरचनाले पुरातात्त्विक मन्दिरको महत्त्वलाई कमजोर बनाउने विषयमा टिप्पणी भइरहेको छ।
जुम्लामा विवाह गर्दा मण्डपमा भन्दा पनि घरकाे गाेठमा जग्गे बनाई गर्ने चलन व्याप्त छ। त्याे पनि देउताका धामी वा बाहुनले दिएकाे समयमा। त्यस्ताे समय खासगरी रातिको हुने गरेकाे बुढापाकाहरुकाे मत छ।
पछिल्लो समय कतै-कतै दिउँसाे बारीमा पनि विवाह गर्ने चलन बढेकाे छ भने चन्दननाथ-भैरवनाथ मन्दिरमा पुगि विवाह गर्ने चलन बढ्दाे छ। मन्दिरमा विवाह गर्नेकाे संख्या बढ्दै जाँदा गुठी व्यवस्थापन समितिले छुट्टै संरचनाकाे जरुरी ठाने पनि बनाउन जरुरी नरहेको पर्यटन अध्येता सराेज शाहीकाे तर्क छ।
'पुरातात्त्विक महत्त्व बाेकेकाे संरचना अगाडि पछाडि यस्ता खाले संरचना निर्माण गर्नुलाई हाम्राे भाषामा एस्थेतिक पाेलुसन भनिन्छ,' उनले भने, 'कर्णालीकाे धराेहरकाे रुपमा स्थापित चन्दननाथ भैरवनाथ मन्दिरै जस्ताे विवाह मण्डप जरुरी छैन। बिहे गर्नेले चन्दननाथ मन्दिमा घुमेरै गर्दा अझ यसकाे सांस्कृतिक पहिचान झल्किन्थ्याे हाेला।'
विवाह महिला र पुरुषकाे सम्बन्धलाई वैधानिकता दिने माध्यम हाे। सम्बन्धकाे वैधानिकिकरणका साक्षिहरु गाउँले, भद्र भलाद्मीका साथै देउताका थान वा भगवान्का मन्दिर पनि हुन। सम्बन्धलाई वैधानिकता दिने माध्यम विवाह मण्डप हुने इतिहास कर्णालीमा नहुँदा यसकाे चर्काे आलोचना भइरहेको छ।
कर्णालीकाे विषयमा अध्ययन र लेखनमा सक्रिय अध्येता माधव चाैलागाईंले सामाजिक संजालमा टिप्पणी गरेका छन्। 'पहिचान नठम्याउने, पुरातत्विक साँस्कृतिक सम्पदाको महत्व नबुझ्ने र संरक्षण चेतना नहुने स्वाँठहरुको हालिमुहाली भएपछि बचेखुचेका सम्पदा स्थलहरु यसरी कुरुप बन्छन् र मासिंदै जान्छन्। सुधार्न नसके पनि बेढंगी हर्कत नगरे हुने नि,' उनले भनेका छन्।
उक्त टिप्पणीमा राय राख्ने धेरैले विवाह मण्डल निर्माणकाे विराेध गरेका छन्। त्यहीँ कृष्ण शाहीले लेखेका छन्,'मलाई अचम्म लागेको कुरा के भने नि, चन्दननाथ गुठीको सम्पत्ती सदुपयोग गरिएकै छैन। नत्र नेपालका धनी गुठीहरुमध्ये एक हो। मन्दिरको पुरातात्विक पुनःनिर्माण गरेर आकर्षक बनाउने, टहराहरुको व्यवस्थापन गर्ने, जग्गाको समुचित उपयोग गर्ने, मन्दिर आसपास अग्ला भौतिक संरचनाहरु बनाउन रोक लगाउने, मन्दिर परिसर वरिपरि स्टोन सोइलिङ गरी सवारी निषेध गर्ने आदि गरेको भए मन्दिरलाई एक महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा वकास गर्न सकिन्थ्यो। बेलैमा सम्बन्धित पक्षको ध्यान जाओस्।'
धेरै पहिला मन्दिरमा मार्बल बिछ्याउने कुरा आउँदा पुरात्वातिक विभाग र गुठिस्थानले ढुङ्गा नै राख्ने निणय गरेकाे स्थानीय गाेविन्द शाहीले बताए।
'मन्दिरको आम्दानीको लागि भनी टहरा निर्माण गर्न दिएकाेमा पिलर खडा भएका छन्। भाडामा लगाएकाे दिनदेखि नियमित भाडा नउठी गुठी समितिकाे टाउकाको दुखाइ सुरु भएकाे छ,' उनले भने, 'अहिले विवाह मण्डप निर्माकाे कुरा पनि यस्तै भएकाे छ। गुठी व्यवस्थापन समितिका संरक्षक सिडियाे साहेबले अबिलम्ब ध्यान दिन जरुरी छ। हाेइन भने याे बेथिकाे हिस्सेदार उहाँ पनि हुनुहुनेछ।'
कर्णालीमा आफ्नै खाले चालचलन छन्। त्यसै अनुरुप विवाहकाे चालचलन पनि आफ्नै खाले भएकाे हुँदा विवाहका लागि छुट्टै मण्डप वा मन्दिर हुन जरुरी नभएकाे गुठी व्यवस्थापन समितिका पूर्व सदस्य दया खत्रीले बताए।
'याे सरासर गलत छ। आफ्नै संस्कृति मास्ने काम हामीबाट भयाे भने पछिल्लो पुस्तालाई दिने चिज केही रहने छैन,' उनले भने, 'गुठीकाे समितिमा बस्ने वित्तकै जे मन लाग्याे त्यही गर्न पाइदैन। त्यसमाथि पुरातात्त्विक सम्पदाकाे आफ्नै खाले नीति नियम र कानुन छ। त्यसलाई पनि ख्याल राख्नुपर्छ।'
चन्दननाथ मन्दिरकाे इतिहास बाबा चन्ननाथले जुम्लामा मार्सी धानकाे विकास र विस्तार गरेसँगै सुरु भएकाे पाइन्छ। बलिराजा छिनासिम खलङगामा राज्य भिषेक हुँदाकाे समयमा कालीमार्सी धानको बीउ ल्याएर तातोपानी लाछु जिउलामा उमारी, फलाई बाबा चन्दनाथको हातबाट बलीराजाको राज्यभिषेक भएको कुरा अभिलेखिकरण भएकाे पाइन्छ।
यस हिसाबले मार्सी धानकाे बीउ पत्ता लगाइकाे मिति साके १६७३ आसपास हुन आउँछ। त्यसपछि बाबा चन्दननाथकाे महिमा सुरु भएकाे इतिहास भेटिन्छ। यति लामाे इतिहास भएकाे चन्दननाथ र त्यसयता बेलाबेला पुनर्निर्माण हुँदै आएकाे चन्नननाथ भैरवनाथकाे मन्दिर जस्तै नयाँ संरचना निर्माण गल भएकाे भनी टीका टिप्पणी भइरहेका छन्।
तर, गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह कठायत भने आलोचना गर्नेहरेकाे विरुद्धमा खराे रुपमा उत्रिएका छन्।
उनले आलोचना गर्नेलाई असिष्ट भाषामा सामाजिक संजालमा लेखेका छन्, 'जुम्लीकाे दिमाकमा गु भरिएकाे छ। त्यसैले अर्काकाे आलाेचना बाहेक अरु कुनै काम छैन। फेरि जुम्लाकाे माैलिकता भनेकाे के हाे ? जस्तापाता छाप्ने रकम झ्वाम पार्ने, दुनियाँका गिल्ला गर्ने।'
समयअनुसार सबैतिरका भाैतिक संरचनामा फेरबदल हुन सक्छ। तर, मन्दिर जस्ताे ठाउँमा नयाँ संरचना निर्माण गर्दा समितिले सबैकाे राय सल्लाह लिनुपर्ने संस्कृति सम्बन्धका जानकार रमानन्द आचार्यले बताए।
'जुम्लामा सडकाे विस्तार र विकाससँगै कंक्रिट संरचना भित्रिएका छन्। विवाह मण्डप बजाउँदा नि त्यही निर्माण शैली अपनाइयाे,' उनले भने, 'तर पुरातात्त्विक महत्त्व बाेकेका ठाउँमा बन्ने हरेक संरचनाकाे लागि कम्तिमा विज्ञकाे राय लिनसके राम्राे हुन्छ।'