गण्डकीको बजेट बहुमतले पारित

File photo
File photo

गण्डकी सरकारको बजेट पास भएको छ। बिहीबार बसेको संसद बैठकबाट बहुमतले बजेट पास भएको हो।

सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्व ९० करोड ९० लाखको बजेट पेस गरेको थियो। १ असारमा बजेट बक्तब्यपछि आन्तरिक कुरा नमिल्दा लामो समय सदन चल्न सकेन।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट अर्थमन्त्रीले आफूखुसी काटिदिएपछि सत्तारुढ दलकै कारण संसद् रोकिएको थियो। उक्त कार्यक्रम नाम फेरेर ल्याउन अर्थमन्त्री रामजी बराल राजी भएपछि २२ असारमा विनियोजन विधेयक पेस भएको थियो। ६ दिनको निरन्तर छलफलपछि बिहीबार बजेट पारित गरिएको हो।

यसअघि एमाले सांसद मायानाथ अधिकारीले खर्च कटौती प्रस्ताव पेस गरेका थिए। उनले सिमल तरुललगायत वैकल्पिक खेतीमा विनियोजन गरेको बजेटले कुनै आर्थिक विकास नहुने भन्दै खर्च कटौती गरी १ रुपैयाँ कायम गर्न भन्दै विनियोजन विधेयकमाथि खर्च कटौती प्रस्ताव दर्ता गरेका थिए।

सिमल तरुललगायत वैकल्पिक खेतीको सम्भाब्यता अध्ययनमा २० लाख विनियोजन गरिएको छ। त्यस क्रममा अधिकारीले यो बजेटमा एमालेको असहमति रहेको बताए। ‘२७ करोड बराबरको रकमको योजना कानुनसम्मत छैन। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेटको ग्यारेण्टी छैन,’ उनले भने, ‘करको दायरा नभई दर बढाएर जनताको ढाड सेक्ने काम गरेको छ। बजेटप्रति हाम्रो गम्भीर असहमति छ।’

प्रकाशित मिति: : 2022-07-14 16:19:00

प्रतिकृया दिनुहोस्