राष्ट्रपति देश छोडेर भागे, जनता झन् उग्र बने (हेर्नुहोस् तस्विर)

बिएल संवाददाता

काेलाेम्बाे, श्रीलंका
ANI News
Reuters/ AP/ APF

श्रीलंकाः हिंसाभित्र प्रेम बाँडिरहेकाे एउटा जाेडी


श्रीलंकामा अभूतपूर्व घटनाहरू भइरहेका छन्।

राष्ट्रपति देश छोडेर भागेपनि आन्दोलनकारी झन् उग्र बनेका छन्। विकसित घटनाक्रमले आजपनि अर्काे नाटकीय मोड लिएको छ। 

प्रधानमन्त्रीले बुधबार आपतकालीन अवस्थाको घोषणा गरेका छन्। तर प्रदर्शनकारीहरू प्रधानमन्त्री कार्यालयको गेटबाट बलपूर्वक भित्र छिरिरहेका छन्।

दक्षिण भारतछेउकाे एउटा सानो टापु देश हो– श्रीलंका। सन् १९८४ मा बेलायती शासनबाट स्वतन्त्र भएको श्रीलंकामा २.२ करोड मानिस बस्छन्।

खासगरी सिन्हला, तमिल र मुस्लिमहरूको बाहुल्य रहेको यो देशमा यी तीन समुदायको कम्तीमा ९९ प्रतिशत हिस्सा छ।

राष्ट्रपति गोटाबय राजपक्षे सेनाको विमानमा देश छोडेर भागेका छन्। उनी माल्दिभ्स हुँदै सिङ्गापुर पुगेका छन्।

प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्री भवनभित्र छिरेर झण्डा हल्लाइरहेका छन्। गीत गाइरहेका छन्। नारा लगाइरहेका छन्।

संकटकालको घोषणा भएपनि नागरिकले सडक छोडेका छैनन्। बरू उनीहरूले देश छोडेर भागेका राष्ट्रपतिलाई ल्याएर जेल हाल्नुपर्ने भनिरहेकाे बीबीसीले जनाएकाे छ। 

हजारौंको संख्यामा सडकमा निस्किएका प्रदर्शनकारीहरू संसद भवन र प्रधानमन्त्री कार्यालय घेर्न भनेर अघि बढिरहेका छन्। सडकमा सैनिक र प्रहरीहरू बाक्लिएका छन्।

प्रधानमन्त्री रनिल विक्रमसिङ्घ देशको कार्यवाहक राष्ट्रपति नियुक्त भएको संसद्का सभामुखले बताएका छन्।

प्रदर्शनकारीहरू बलपूर्वक प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेका छन्। तर प्रधानमन्त्री त्यहाँ छैनन्।

विक्रमसिङ्घले श्रीलंकामा सङ्कटकाल घोषणा गर्दै सेनालाई शान्ति सुव्यवस्था बहाल गर्न आवश्यक काम गर्न निर्देशन दिएका छन्।

राष्ट्रपतिले बुधबार पदत्याग गर्ने बताएको भएपनि अहिलेसम्म उनले औपचारिक रूपमा राजीनामा दिइसकेका छैनन्। सभामुखका अनुसार वाचानुरूप राजपक्षले आजै राजीनामा दिनेछन्।

प्रकाशित मिति: : 2022-07-14 21:43:00

प्रतिकृया दिनुहोस्