एकै दिन २०० बढीमा काेराेना संक्रमण पुष्टि

पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ। आज एकै दिन २०० बढी सङ्क्रमित फेला परेका छन्।

स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज तीन हजार बढी नमूना परीक्षण गर्दा २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ।

गत २४ घन्टामा दुई हजार ८२ नमूनाको पिसिआर विधिबाट परीक्षण गर्दा १७७ र एक हजार ९३ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २९ गरी कुल २०६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५ पुगेको छ।

आज उपत्यकामा १२५ जनामा सङ्क्रमण पुष्टि भएको छ। काठमाडौँमा १००, ललितपुरमा १८ र भक्तपुरमा ७ सङ्क्रमित भेटिएका छन्। काठमाडौँ उपत्यकामा मात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या ६९४ छ।

होम आइसोलेनमा ९८४ र संस्थागत आइसोलेनमा २१ छन्। सोमध्ये १२ जना आइसियू र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

बुधबार ५४ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। हालसम्म ११ लाख २१ हजार ५०७ सङ्क्रमण पुष्टि भइसकेको छ। पछिल्लो २४ घन्टामा ६३ हजार ३७८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

अहिले विश्वभर कोरोना भाइरसको ‘बिए–५’ भेरियन्ट फैलिएको जनाउँदै उहाँले सङ्क्रमणबाट बच्न जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरे। 

प्रकाशित मिति: : 2022-07-13 17:43:00

प्रतिकृया दिनुहोस्