मेरिल्याण्डमा चुनाव भैरहेको छ: थाहै छैन यहाँका अगुवा नेपालीलाई

बिएल संवाददाता

बाल्टिमोर, अमेरिका

मेरिल्याण्डमा एक सयभन्दा बढी नेपाली संघ–संस्था छन्। साधारण सदस्यको त कुरै छोडौँ, औसतमा ११ जना मात्रै कार्यसमितिका पदाधिकारी र सदस्य हुँदा पनि यो संख्या ११०० को हाराहारीमा पुग्छ।

यी नेपाली संस्थाहरू जिल्ला, जात, धर्म, क्षेत्र, खेलकुद, साहित्य, कला अनेक आयाममा फैलिएका छन्। प्रायश: संस्थामा चुनावको बेला रडाको नै मच्चिन्छ। कुनै कार्यक्रम हुँदा अध्यक्षहरूको नाम लिएर र उनीहरूलाई खादामाला गरेर पनि सकिँदैन।

तर, जब अमेरिकाको मूलधारमा नेपालीलाई देखिने र सुनिने अभियानमा सहभागिताको प्रश्न आउँछ, अपवाद बाहेक कसैको पनि सहभागिता हुँदैन। आखिर किन यस्तो हुन्छ त ?, यस प्रश्नको सपाट उत्तर भेटिँदैन।

अहिले मेरिल्याण्ड राज्यमा प्राइमरी चुनावको अर्ली भोटिङ चलिरहेको छ। जुलाई ७ देखि सुरू भएको यो चुनावी चरण जुलाई १४ सम्म जारी रहने छ। जुलाई १९ मा प्राइमरी चुनाव छ। यो चुनावको डेमोक्रेटिक मतपत्रमा चारजना नेपाली ह्यारी (एच.बी.) भण्डारी, अर्जुन हमाल, इन्द्र थापाक्षेत्री र सतीश चापागाईंको नाम छ। भण्डारी डिस्ट्रिक्ट ८ बाट दोस्रो कार्यकालका लागि मेरिल्याण्ड हाउस अफ एसेम्बेलीको डेमोक्रेटिक उम्मेद्वारको लागि चुनावी प्रतिस्पर्धामा छन् भने हमाल र थापाक्षेत्री डिस्ट्रिक्ट ८ र चापागाईं डिस्ट्रिक्ट ७ बाट डेमोक्रेटिक पार्टीको केन्द्रीय सदस्य उम्मेद्वार छन्।

डेलिगेट भण्डारी र केन्द्रीय सदस्य उम्मेद्वार चापागाईं अनअपोज्ड रहेका छन्। उनीहरूको विपक्षमा डेमोक्रेटिक उम्मेद्वार छैनन्। उनीहरूका लागि कति मत ल्याउने भन्ने मात्र हो जति मत ल्याए पनि उनीहरू विजयी हुन्छन्। डा. भण्डारी विजयी भएर नोभेम्बर ८ मा हुने जनरल इलेक्सनका लागि डेमोक्रेटिक उम्मेद्वार हुन्छन्। चापागाईं भने डेमोक्रेटिक पार्टीको केन्द्रीय सदस्य हुन्छन्।

तर, हमाल र थापाक्षेत्री भने प्रतिस्पर्धामा छन्। उनीहरूले डेमोक्रेटिक पार्टीको केन्द्रीय सदस्य हुन चुनाव जित्नैपर्छ। हमाल अहिले पनि केन्द्रीय सदस्य छने भने थापाक्षेत्री पहिलोपटक चुनावी प्रतिस्पर्धामा छन्। अहिले केन्द्रीय सदस्य समेत रहेका डेलिगेट भण्डारी पुन: केन्द्रीय सदस्यमा उम्मेद्वार नभएपछि थापाक्षेत्री भण्डारीको स्थान नेपालीको पक्षमा सुरक्षित गर्न निर्वाचनमा छन्।

पहिला पहिला बर्मा गए कर्मसँग, नेपाल गए कपालसँग भन्ने चलन थियो तर त्यसमा अहिले थप्नुपर्ने भएको छ, अमेरिका आए आचरणसँगै। मेरिल्याण्डमा जारी चुनावमा यहाँका अगुवाहरूको ताल देख्दा यसो भन्न कुनै आइतबार पर्खनु पर्दैन।  

डिस्ट्रिक्ट ८ बाट तीन महिला र तीन पुरूष गरी ६ जना केन्द्रीय सदस्य हुनेमा महिलामा तीनजनाको मात्र उम्मेद्वारी परेकाले उनीहरू अनअपोज्ड छन्। तर, पुरूषको तीन स्थानमा भने ५ उम्मेद्वार छन्।

डेलिगेट डा. भण्डारी दुई नेपाली उम्मेद्वारलाई जिताउन लागिपरेका छन् भने डिस्ट्रिक्ट ८ कै डेमोक्रेटिक सिनेटर क्याथी क्लाउजमायर र एक डेमोक्रेट डेलिगेट कार्ल ज्याक्सनले भने नेपालीमूलका दुई उम्मेद्वारलाई आफ्नो टिममा पारेका छैनन् ।  उनीहरूले एसियाली मूलका दुई नेपाली उम्मेद्वारलाई बाहिर पारेर टिम बनाएका छन्। सिनेटर क्याथी श्वेत मूलकी हुन् भने डेलिगेट ज्याक्सन अश्वेत मूलका हुन् ।

यसरी क्याथी र कार्लले हमाल र थापाक्षेत्रीलाई बाहिर पारे पनि उनीहरू भने क्याथी र कार्ललाई जिताउन दिलोज्यानले लागिपरेका छन् । 

यसरी नेपाली उम्मेद्वार बाहिर पारिएकोमा यहाँको नेपाली समुदायलाई कुनै अत्तोपत्तो नै छैन । ज्यादै थोरैले चाल पाए पनि यसलाई बाहिर ल्याइएको छैन। कतिपय सामाजिक संघसंस्थाका पदाधिकारी त उनीहरू हारे हुन्थ्यो भनेर धुपवात्ती नै गरिरहेका छन् । उनीहरुको चिन्ता सार्वजनिक कार्यक्रम हुँदा उनीहरूले जिते भने आफ्नो सिट गुम्छ वा नाम पछि आउँछ भन्ने हो ।

नेपाली डायस्पोराका अगुवाहरूको यो दरित्र मानसिकता देखेर पढेलेखेका र दोस्रो पुस्ताका नेपालीहरू भने निराश देखिएका छन् । उनीहरू प्रश्न गरिरहेका छन्, हरेक मूलका मानिस आफ्नो मूलका उम्मेद्वारलाई जिताउन लागेका छन् तर हाम्रा मूलका चाँहि किन चुपचाप छन् ?

प्रकाशित मिति: : 2022-07-13 02:40:00

प्रतिकृया दिनुहोस्