दश वर्षे माओवादी जनयुद्धको औचित्य पुष्टि भएको नभएको राजनीतिक बहस चलिरहेको बेला नेपालका सिनेमा घरहरूमा शुक्रबारदेखि अनुप बरालद्वारा निर्देशित चलचित्र ‘दोख’ प्रदर्शनमा आएको छ।चलचित्रले तत्कालीन समयको युद्ध मनोविज्ञान, मनोदशा र प्रभावलाई दृश्यमा उतारेको छ। सिनेमामा दुई वटा गाउँहरूले भोगचलन गर्दै आएको सामुदायिक वनमा विवाद भए पछि वन कसको हुने भन्ने विषयमा माओवादी कमान्डर सङ्गीतको प्रवेश हुन्छ।
राज्य समर्थित र माओवादी पीडितहरूले सेना गुहार्छन् अनि गाउँ युद्ध भूमिमा परिणत हुन्छ।यसैको सेरोफेरोमा कथा घुमिरहन्छ।माओवादी द्वन्द्वकालमा गरिने कारबाही, सामाजिक विद्रोह, बदलाको भाव र युद्धको बीभत्सता सिनेमाले प्रकाश पार्न खोजेका विषयवस्तुहरू हुन।
सिनेमा सामान्य सामाजिक द्वन्द्वबाट सुरु हुन्छ तर बिस्तारै पात्रको मनोविज्ञानमा छिरेर जटिल व्यक्तिगत र सामाजिक संयोजन र सम्बन्धको पाटो उजागर गर्छ। दोखले केही गम्भीर र बौद्धिक बहसको माग गरेको छ।
के युद्धमा नैतिकता हुन्छ? युद्ध एक मात्र समाज परिवर्तनको साधन हो? युद्धले सबै प्रकारका शोषण र विभेदको अन्त्य गर्छ? युद्धमा मारिने निर्दोषहरूको क्षतिपूर्ति राज्य पक्ष वा विद्रोहीहरुले दिन सक्छन्?