राष्ट्रपति निवासमा करोडौं रुपैयाँ भेटियाे, तास खेल्दै प्रदर्शनकारी

बिएल संवाददाता

कोलम्बो, श्रीलंका
[Eranga Jayawardena/AP]

राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले राष्ट्रपति निवासबाट करौडौँ रूपैयाँ नगद बरामद गरेको बताइएका छन्।

श्रीलंकाली प्रदर्शनकारीले राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटिएको दाबी गरेका हुन्।

सामाजिक सञ्जालमा केही भिडियो सार्वजनिक भएका छन्, जसमा प्रदर्शनकारीले नोट गनिरहेको देख्न सकिन्छ। ठूलो संख्यामा प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

एउटा भिडियोमा केही प्रदर्शनकारी नोट गन्दै गरेको देखिएका छन्। श्रीलङ्काका संचारमाध्यमका अनुसार राष्ट्रपति भवनबाट बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गरिएको छ।

प्रदर्शनकारीहरू राष्ट्रपति भवनको कुना–कुनासम्म पुगेका छन्। लगभग सबै कोठभित्र प्रवेश गरेका तस्विर बाहिरिएका छन्। बाहिरकाे स्विमिङ पुलमा रमाइरहेका छन्। कतिपय जिम–हलमा कसरत गरिरहेका देखिन्छन्। उनीहरू प्रधानमन्त्री निवास छिरेर तास खेलिरहेका छन्।

आर्थिक मन्दीको सामना गरिरहेको श्रीलङ्काको अवस्था झन दयनीय बन्दै गइरहेका समय राष्ट्रपतिको राजीनामा माग्दै राष्ट्रपति कार्यालय प्रवेश गरेका प्रदर्शनकारीले सबै कक्षलाई आफ्नो कब्जामा लिएको घोषणा गरेका छन्।

राष्ट्रपति भवन प्रदर्शनकारीको कब्जामा पुगेपछि राष्ट्रपति गोताबाया राजपाक्ष राष्ट्रपति भवन छोडेर भागेका छन्।

प्रदर्शनकारीको आक्रोशित भीड त्यसपछि प्रधानमन्त्री रनिल विक्रमासिंघेको सरकारी निवासमा समेत पुगी आगजनी गरेका छन्।
आर्थिक संकट झन् गहिरिन थालेपछि देशभरबाट नागरिक राजधानी कोलम्बोमा भेला भएका छन्। 

यसैबीच, राष्ट्रपति राजपाक्षले यही जुलाई १३ मा राजीनामा दिने जानकारी यहाँको संसदका सभामुखलाई दिएको स्थानीय संचार माध्यमले जनाएका छन्।

कडा सुरक्षा घेरा तोड्दै राष्ट्रपति कार्यालयमा प्रदर्शनकारी प्रवेश गरेपछि प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले शनिबार नै सर्वदलीय बैठक आयोजना गरी उचित विकल्प आए आफूले राजीनामा दिन सहमत भएको घोषणा गरेका थिए।

प्रकाशित मिति: : 2022-07-11 07:25:00

प्रतिकृया दिनुहोस्