बुढीगंगा निर्वाचन अपडेट : ६ वडाको मत गणना सकिदा कांग्रेसले खाता खोल्यो

बाजुराको बुढीगंगा नगरपालिकामा जारी मत गणना अन्तरगत ६ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। ६ वडाको मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले खाता खालेको छ।

नेपाली कांग्रेसले बुढीगंगा नगरपालिका–८ का वडा अध्यक्ष पद जीतेको हो। वडा नम्बर–८ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश बहादुर रावल विजयी भएका हुन्। नेकपा एमालेका उम्मेदवार बिराज रावललाई पराजित गर्दै रमेश रावल वडा अध्यक्षमा विजयी भएका हुन्। मतगणना सम्पन्न भएका अन्य ५ वडामा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। 

वडानम्बर १ मा एमाले रणबहादुर थापा, वडा नम्बर–२ मा नेकपा एमालेका पदम बहादुर भण्डारी, वडा नम्बर–३ मा नेकपा एमालेका खडबहादुर अधिकारी,  वडा नम्बर–९ मा मीनबहादुर सिंह र वडा नम्बर–१० मा एमालेकै दलबहादुर साउद डेभिड विजयी भएका हुन्। अहले वडा नम्बर–४ र ७ को मतगणना भइरहेको छ।

बुढीगंगामा हाल सम्म ५ हजार ५ सय मत गणना भइसक्दा मेयर उम मेयरमा एमालेका उम्मेदवार फराकिलो मत अन्तरले अगाडी रहेका छन्। जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार बुढीगंगाको मेयरमा एमालेका उम्मेदवार राम बहादुर बानियाँ ३ हजार ३५१ मत सहित अग्र स्थानमा रहँदा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका रंगबहादुर खातीले १ हजार ७८९ मत ल्याएका छन्। 

उप मेयरमा पनि एमालेकी माया कुमारी खड्का (कुँवर) ३ हजार २५८ मत सहित लिड गरिरहेकी छन् भने कांग्रेसकी उम्मेदवार रिता शाही (शाह)ले १ हजार ८६२ मत ल्याएकिछन्। बुढीगंगामा ९ हजार १२८ मते खसेको थियो।

प्रकाशित मिति: : 2022-07-09 19:21:00

प्रतिकृया दिनुहोस्